क्षमताभन्दा बढी यात्रु नचढाउने यातायात व्यवसायीको प्रतिबद्धता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालय र यातायात व्यवसायीबीच क्षमताभन्दा बढी यात्रु नचढाउने सहमति भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बोलाएको भेलामा यातायात व्यवसायीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नचढाउने सहमति गरेका हुन् ।

व्यवसायीहरूले यातायात व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। महाशाखा प्रमुख भीम ढकाल आफैं सार्वजनिक यातायात चढेर अनुगमन गरेपछि यातायात व्यवसायीसँग छलफल गर्न भेला बोलाएका थिए।

महाशाखाले उपत्यकाको यातायातलाई व्यवस्थित गराउन १९ बुँदे प्रतिबद्धता गर्न लगाएको छ । उपत्यकामा यातायात सेवा दिने ३२ वटा कम्पनी, मजदुर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वसाधारणलाई सास्तीबिना सेवा दिने प्रतिबद्धता जनाएका हुन् ।

यातायात व्यवसायीको प्रतिबद्धता तोकिएको भाडादर मात्र लिने ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, सिट दुरुस्त राख्ने, गाडीको रंङरोगन गर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक सहचालकले राम्रो व्यवहार गर्ने, सवारी तीव्र गति तथा लापरबाहीका साथ नचलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, चालकले मोबाइल फोन प्रयोग नगर्ने, सवारीसाधनको नियमित सरसफाइ गर्ने, अरूलाई बाधा पुग्ने गरी ठूलो आवाजमा म्युजिक नबजाउने सवारीसाधनमा स्टिकर तथा झल्लर नलगाउने सवारीसाधनको अवस्था ठीक राखी चलाउने, चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने, तोकिएको स्थानमा मात्र यात्रु ओराल्ने तथा चढाउने प्रयोजन विपरीत सवारी प्रयोग नगर्ने यातायात व्यवसायीले प्रतिबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?