काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । पुलिसका तर्फबाट निर कुमार राई र सुमन लामाले समान एक एक गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे ।
खेलको ५ औं मिनेटमा निर कुमारले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काए । यससँगै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ए डिभिजन लिगमा १०० गोल पुरा गरे ।
सन्तोष ए डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बने ।
त्यसपछि खेलको ४० औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई हारबाट जोगाए । खेलमा सन्तोष म्यान अफ दि म्याच चुनिए ।
बराबरीसँगै पुलिसले ५ खेलमा ८ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । च्यासल ५ अंक जोड्दै लिगको नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया