पक्राउ १२२ चिनियाँ नागरिक चार वर्ष नेपाल आउन नपाउने

पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपालमा प्रवेश गर्न नपाउने गरी आज निष्कासन गरिएको छ । अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताले उनीहरुलाई आज साँझ ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको जानकारी दिए । एउटा विमानमा ४२ र अर्काेमा ८० जना राखेर विमान चीन उडेको छ ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले नेपाल बसेर चीनमा अवैध गतिविधि सञ्चालन गरेका थिए । पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रजिअ जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ ।

विभागका अर्का अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरुलाई चार वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी फिर्ता पठाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?