सुनसरी । प्रदेश-२ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात हात पारेको छ ।
सुनसरीको इनरुवामा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश-२ ले विजयी सुरुवात गरेको हो । इनरुवा रंगशालामा कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य प्रदेश-२ ले २२ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश-२ को जितमा हसिम अन्सारीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले । सुरज पटेल ३३ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रन बनाएको थियो । कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ४६ रन बनाए । यस्तै दिवन पुनले २३, प्रकाश जैसीले १५ तथा विपिन रावलले १० रन बनाए ।
प्रदेश-२ का महबुब आलमले ३ विकेट लिए । यस्तै हरि शंकर शाह र आदील अन्सारीले २-२ विकेट लिए । जितसँगै प्रदेश-२ ले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
लगातार दुई खेलमा हार व्यहोर्दै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया