झै-झगडामा उत्रने मनाङ र मछिन्द्रका ६ खेलाडीलाई प्रतिबन्ध !

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई प्रतिबन्ध गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको छ । गत मंगलबार लिगमा मनाङ र मछिन्द्र मैदान उत्रिएका थिए । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए । खेल लगत्तै दुवै टिमका खेलाडी विवादमा उत्रदै मैदानमा झगडा गरेका थिए ।

खेलाडी हातपातमा उत्रिएपछि प्रहरी लगाएर मैदान खाली गराउनु गरेको थियो । पछिल्लो समय अनुशासनको बिषयमा कडा निर्णय गर्दै आएको एन्फाले दुवै क्लबका ६ खेलाडी र एक अफिसियललाई लिग खेलमा प्रतिबन्ध सहित आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्ध सहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अशोक बराललाई ६ खेल सहित १० हजार जरिवाना गरिएको छ । उनले रातो कार्ड समेत खाएका थिए । सोही कारण उनले लिगका ६ खेल गुमाउनेछन् । मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ ।

यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ ।

एन्फाले दुवै क्लबलाई समान ५० हजार जरिवाना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?