दुई परिचित नेपाली यूवा सन्दिप र शरद : आफ्नै पाराले गर्दैछन् भ्रमण वर्षको विज्ञापन

काठमाडौं । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सरकारले शुरु गरेको नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ मा भव्य समारोहको साथ शुरु गरियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष अभियान सरकार र निजी क्षेत्रको मात्रै नभएर समग्र राष्ट्रकै अभियान हो भन्दै भ्रमण वर्ष २०२० लाई राष्ट्रिय अभियान बनाउन सबैलाई अपील पनि गरेका छन्। उनले भ्रमण वर्ष देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै यसका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताएका छन् । पर्यटनमन्त्री भट्टराईले गत मंगलबार अष्ट्रेलियामा एक कार्यक्रमको आयोजना गरी अष्ट्रलियाली नागरिकलाई नेपाल घुम्न आउने निम्तो समेत दिए ।

सरकारले मात्र नभई विभिन्न स्टार खेलाडि र सर्वसाधरणले सामाजिक सञ्जालमा भिजिट नेपालको फ्रेम प्रयोग गरी सकेसम्म बढीभन्दा बढी पर्यटक नेपाल भित्राउने अभियानलाई सफल बनाउन लागिपरेका छन् ।

केहि दिन अघि मात्र क्रिकेट स्टार सन्दीप लामिछानेले सिड्नीविरुद्धको खेलमा लगाएको जुत्तामा नेपालको भ्रमण वर्षको अभियानलाई समर्थनसहितको सन्देश लेखेका थिए । उनले जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेर खेल खेलेका थिए । सन्दीपले लगाएको एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको छ । यस्तै अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका थिए ।

त्यस्तै नेपालका २० वर्षे युवा यात्री शरद कोइराला जसले नेपालको ७७ वटै जिल्लामा पैतालाका डोब छाडेका छन् । उनले पनि व्यक्तिगत रुपमा भ्रमण वर्ष २०२० को प्रचार गरीरहेका छन् । नेपालको ७७ वटै जिल्ला पैदल यात्रा गरीसकेका शरद हाल साईकलमा विश्व घुम्ने लक्ष्य लिएर म्यानमारमा पुगेका छन् । उनले भ्रमण वर्ष २०२० को लोगो सहितको पम्प्लेट आफ्नो साईकलको अगाडि राखेर हिँडेका छन् ।

जे होस् सरकारले घोषणा गरेको यो अभियानमा यी दुई होनहार यूवाले आफ्नो स्वविवेक प्रयोग गरी सरकारको यो अभियानलाई सघाइरहेका छन् । उनीहरु दुवैको क्रेज र तिनका फ्यान फलोअरबाट हुने सेयरबाट पनि यो अभियानलाई निकै टेवा पुगेको कुरामा दुईमत छैन ।
के तपाई यो अभिायनलाई साथ दिँदै हुनुहुन्छ त ?

लोकपथले नेपालको ७७ वटै जिल्लामा पैतालाका डोब छाडेका शरद कोईरालासँग गरेका कुराकानी पढ्नु भएको थियो ?

७७ वटै जिल्लामा पैतालाका डोब छाडेका २० वर्षे यात्री शरद भन्छन्, ‘नालाको पानीले तिर्खा मेटाएँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?