काठमाडौं । भनिन्छ बालबालिका देशका कर्णधार हुन् । आजका कोपिला भोलिका फूल बन्ने तिनै बालबालिकाले के साँच्चै अधिकार पाइरहेका छन् त ? हाम्रा बालबालिका कत्तिको सुरक्षित छन् ? के हाम्रा बालबालिका आधारभूत हकअधिकारको पहुँचमा छन् ? यो प्रश्नको जवाफ हरेक अभिभावकसँग खोज्ने बेला आएको छ । नेपालमा बालबालिका हराउने क्रम डरलाग्दो छ ।
वर्षेनी २ हजारभन्दा बढी बालबालिका हराउँछन् । हराएका धेरै फेला नै पर्दैनन् । हराउनेमा बालक भन्दा बालिका धेरै छन् । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार आर्थिक वर्ष २०७५÷०७६ लाई हेर्ने हो भने ३ हजार ४ सय २२ बालबालिका बेपत्ता भएका छन् । जबकी २०७४÷०७५ मा २ हजार ३ सय ३० बालबालिका हराएका थिए । हराउने बालबालिकाको सङ्ख्यामा वर्षेनी वृद्धि हुँदै छ ।
वि. स. २०६३ सालदेखि हरेक वर्षको भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेका छौँ । तर उपलब्धि शून्य छ । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांक अनुसार देशभरबाट ०६३ देखि हालसम्म बालिकमात्रै १३ हजार ८०८ बेपत्ता छन् । तीमध्ये ६ हजार ५९२ बालिका फेला परेका छन्। आधाभन्दा बढी, सात हजार २१६ बालिका भेटिएका छैनन् । बाल दिवसको दिन बाल अधिकारको विषयमा चर्का चर्का भाषा गरीए पनि कयौँ बालबालिका आफ्नो हक अधिकारबाट बन्चित नै छन् ।
नेपालमा बालबालिकाको हक अधिकार सुनिश्चित गर्नकै लागि भनि २०२१ भदौ ४ गतेदेखि निरन्तर राष्ट्रिय बाल दिवस मनाउँदै आइराखेको छ । लोकतन्त्रको स्थापना पश्चात यसको पुरानो संरचनालाई केहि फेरबदल गरी बालदिवसको मितिलाई परिवर्तन गरियो । २०६३ पश्चात बाल दिवस प्रत्येक वर्षको भदौं २९ बाट मनाउन थलियो । इतिहासलाई हेर्ने हो भने २०७६ सम्म आइपुग्दा नेपालले ५५ वटा बालदिवस मनायो । तर हक अधिकारबाट बन्चित बालबालिकासम्म यो दिवस र दिवसका नाराहरु पुग्न सकेको छैन । राष्ट्रिय दिवसकै रुपमा मनाइने बालदिवस औपचारिकतामा मात्र सिमित छ भन्दा पनि फरक पर्दैन । कतिपय बालबालिकाहरु आधारभूत हक अधिकारबाटै बन्चित छन् । बालबालिकाहरु असुरक्षित नै छन् । यसले बालबालिका बेपत्ता हुने क्रमलाई कत्ति पनि रोक्न सकेको छैन ।
यस वर्ष पनि “बालबालिकाको कुरा सुनौं, बाल दुर्व्यवहार अन्त्य गरौं” भन्ने नारासहित मुलुकभर बाल दिवस मनाइयो । तर उपलब्धि शुन्य नै रह्यो ।
विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६र७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाउँछ । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।
हराउनेमा छोराभन्दा छोरी धेरै !
हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार २०७५ देखि २०७६ असोज महिनासम्मको १५ महिने अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।
हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक छोरा फेला परेका छन् भने १ हजार ६ जना बालिका छोरी फेला परेका छन् । हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रको चालू आर्थिक वर्ष २०७६/०७७ साउनदेखि मंसिरसम्मको आँकडा हेर्न हो भने देशभर ९ सय ७० बालिका हराएका छन् । तीमध्ये ४ सय ४९ बालिका फेला परेका छन् भने ५ सय २१ बालिका अहिले पनि ‘खोजतलास भइरहेको’ सूचीमा छन्।
गत आर्थिक वर्ष २०७५/७६ मा देशभरबाट दुई हजार ३ सय ७१ बालिका हराएका थिए। तीमध्ये एक हजार ७ सय १५ बालिका फेला परे। त्यसअघि २०७४/७५ मा एक हजार ४ सय ७ बालिका हराएकोमा ६ सय १० मात्र फेला परेका थिए। त्यसैगरी, २०७३/७४ मा एक हजार ७ सय २५ बालिका हराएका थिए, जसमध्ये ३ सय ६७ बालिका मात्र फेला परे।
बेपत्ता हुने बालिका १५ वर्षदेखि १८ वर्ष उमेर समूहका बढी रहेका छन् ।
कहाँ जान्छन् हराएका बालबालिका ?
बेपत्ता बालबालिका कहाँ जान्छन र के गर्छन् भन्नेबारे सम्बन्धित सरकारी र गैर सरकारी निकाय नै बेखबर छन् । हराउने बालबालिकाको अवस्थाबारे कसैलाई जानकारी नै छैन । अभिभावकहरुले बालबालिका हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गर्नाले पनि भेटिए नभेटिएकोबारे सम्बधित निकाय बेखबर रहन्छन् ।
किन वर्षेनी बढ्दैछ हराउने बालबालिकाको संख्या ?
कतिपय बालबालिका घरायसी र स्कुलमा हुने दुर्व्यवहार र हिंसाका कारण पनि घर छाड्ने गरेको पाइन्छ । त्यसैगरी अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुर्व्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षाका कारण प्रत्येक वर्ष बालबालिका हाराउने क्रम बढ्दो छ । अझ अहिलेको परिवेशमा त वैदेशिक रोजगार प्रमुख कारण बनेको छ । आफ्ना अभिभावक वैदेशिक रहँदा बालबालिकाहरु उचित हेरचाहबाट बन्चित हुन्छन् जसले गर्दा उनीहरु असुरक्षित भइरहेका छन् । त्यसैगरी सामाजिक संजालका दलदल र साथीभाईको लहैलहैमा घरै छाडेर हिड्ने प्रवृत्तिले गर्दा पनि पछिल्लो बालबालिकाहरु हराउने क्रम बढ्दै गैरहेको छ । अहिले उजुरी गर्नेको संख्या बढ्नाले पनि हराउने बालबालिकाको तथ्यांक वृद्दि भएको हुन सक्ने अनुमान भने हामी लगाउन सक्छौँ ।
कसरी कम गर्ने ?
सर्वप्रथम त बालबालिकाहरुलाई शिक्षित बनाउनुपर्छ । के राम्रो, के नराम्रो, के गर्न हुन्छ के गर्नु हुँदैन रु यो बारे आफ्ना बालबालिकालाई राम्रोसँग बुझाउनु पर्छ । सकभर आफ्नो बालबालिकालाई समय दिनुपर्छ । कुनै पनि बालबालिकालाई दुर्व्यवहार गर्नु हुँदैन । चाहे त्यो घर होस् या स्कुल या समाज बालबालिको मनोभावमा असर पर्ने खालको व्यवहार गर्नु हुँदैन । गरिवी र पछौटेपनमा परेका बालबालिकाहरुप्रती राज्य तथा सरोकारवाला निकायको ध्यान जान सके पनि यो संख्या घट्न सक्छ । सम्बन्धित निकायको ध्यान त्यतातिर जाने हो भने आजका कोपिलालाई भोलि फूलेको अवश्य देख्न सक्छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया