नेपाल एक स्वतन्त्र, सार्वभौम सम्पन्न सर्वप्राचीन राष्ट्र हो भन्ने कुरा धेरै पुरातात्विक साक्षहरू, ऐतिहासिक दस्तावेजहरू लगायत स्वदेशी तथा विदेशी साहित्विक श्रोेतहरूबाट प्रमाणित भइसकेको छ । सर्वप्राचीन राजवंश गोपालवंशबाट प्रारम्भ भएको शासनव्यवस्थामा महिशपाल वंश, किराँतवंश, लिच्छवी वंश, मल्लवंश हुँदै शाहवंशले यो राज्यमा राज्य गरे । समयको यो लामो कालखण्डमा धेरै उतारचढावको सामना गर्नुपरेतापनि कहिल्यै विदेशी आधिपत्यलाई स्वीकारिएको इतिहास यहाँ पाइँदैन । यसै परिप्रेक्ष्यमा यस राष्ट्रलाई स्वतन्त्रतापूर्वक सगौरव ‘नेपाल’ हाम्रो राष्ट्र भन्नलाई आफ्नो सम्पूर्ण जीवन नै नेपाल एकिकरणमा व्यतीत गर्ने एकताका प्रतीकका पृथ्वीनाराण शाहलाई एकता दिवसको पूर्व सँध्यामा हार्दिक नमन ।
नेपालको भूगोल हेर्दा , भारतका गुप्त सम्राट समुद्र गुप्तको प्रयाग अभिलेखमा आसाम र कुमाउबीचको भू–भागलाई ‘नेपाल’ भनिएको छ । यसै गरी ‘हिमवत्खण्ड’ मा नेपालको सिमाना देखाउँदा पूर्वमा कोसी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाइँकुण्डदेखि माथिल्लो हिमाल र दक्षिणमा चम्पारण क्षेत्रको बीच भू–भागलाई ‘नेपाल’ भनिएको छ । लिच्छवी कालमा पनि लगभग यही सीमारेखामा नेपाली चित्र कोरिएको छ । मानदेवको चाँगुनारायण अभिलेखमा पश्चिमको सामन्त राज्यमा गण्डकी पारीको मल्लपूरीको चर्चा आउँछ । विद्वानहरूले यसैलाई कर्णाली क्षेत्र मानेका छन् ।
नेपालको इतिहासमा लिच्छवीहरूको शासनपछि पूर्वपध्यकालीन समयमा मल्लपूरीमा ‘खस राज्यको’ विकास भयो । पछि यही राज्य टुक्रिएर कर्णाली प्रदेशमा बाइस र गण्डकी क्षेत्रमा चौबिस राज्य स्थापना भए । जो इतिहासमा ‘बाइसे’ र ‘चौबिसे’ राज्य भनी चिनिन्छन् । पूर्वका अन्य गोरखा र मुस्ताङ, विजयपुर चौदण्डी, उपत्यकाका तीन छुट्टाछुट्टै राज्य गरी एकीकरण अभियानताका ५४ भन्दा बढी सानासाना राज्यको अस्तित्व रहेको देखिन्छ ।
नेपालको इतिहासमा प्रारम्भदेखि नेपाल सम्वत शुरूवातको समय (वि.स.९३६) प्राचीनकाल, त्यसपछि उपत्यका विजयको समय वि.स. १८२५ को समयसम्म मध्यकाल र त्यसपछि हालसम्मको समयलाई आधुनिककाल भनेर चिनिन्छ । त्यसमा पनि ९३६ देखि जयस्थिति मल्लको समयलाई पूर्व मध्यकाल र त्यसपछिको समयलाई उत्तर मध्यकालको समय निर्धारण गरिएको छ । पूर्व मध्यकालको समयमा नेपालको शासनव्यवस्थामा ठूलो अस्थिरता आयो । द्वैध शासनको परिपाटी कायम भयो । त्यसैले पर्याप्त पुरातात्विक सामाग्री नपाइएकै कारणले यो युगलाई ‘अन्धकार युगको’ नाम दिइएको छ । तर उत्तर मध्यकालमा जयस्थिति मल्लको समयमा पुनः राजनैतिक स्थिरता आयो । उनले द्वैध शासनको अन्त्य पनि गरे । उनका नाती यक्ष मल्ल्को समयमा पनि नेपालको राज्यको विस्तारको उल्लेख पाइन्छ । जस अनुसार पूर्वमा बङ्गाल, पश्चिममा गोरखा–पाल्पा, उत्तरमा सात दिनको बाटो र दक्षिणमा गङ्गासम्मको सीमाको उल्लेख पाइन्छ । यो सीमारेखामा कतिपय विद्वानबीच विवाद देखिएतापनि तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दा अपत्यारिलो पनि छैन । तर पछि यक्ष मल्ल्का छोराहरूले नै नेपाल उपत्यका तीन टुक्रामा विभाजन गरे । पाल्पाली राजा मुकुन्द सेनले पनि पूर्वी पहाड तथा तराई क्षेत्रलाई समेत समेटेर टिष्टासम्मको राज्य कायम गरी ‘हिन्दूपति’ को उपाधिधारण गरेका थिए । तर उनकै जीवनकालमा उनका छोरा र भतिजाहरूले राज्यलाई बाँडेर विशाल राज्य दिगो हुन सकेन । पृथ्वीनारायण शाहले एकिकरण गर्नुपूवको नेपालको भूगोल मोटामोटी यही रूपमा थियो ।
यता नेपाल देशभित्र यस्तो परिस्थिति थियो भने भारतमा मुसलमानी साम्राज्यको पतनपश्चात् अङ्ग्रेजी साम्राज्यको जग बस्दै थियो । नेपाल उपत्यकामा इसाई पादरीहरू आइ बसिसकेका थिए । उपत्यकाका राजाहरू एक आपसमा मिल्दैनथिए । यसको प्रत्यक्ष लाभ विभिन्न प्रलोभन देखाइ ईसाइहरूले लिन्थे । पृथ्वीनारायण शाहले उपत्यका एकिकरणको दौरानमा कान्तिपुरमा आक्रमण गर्दा जयप्रकाश मल्लले सहयोगको लागि अङ्ग्रेजलाई गुहारेका थिए । मौकाको ताकमा बसेका अङ्ग्रेज र मुसलमान फौजलाई यदि पृथ्वीनाराण शाहले सिन्धुलीगढीमा नपछारेको भए नेपाल त्यसवेला नै अङ्ग्रेज उपनिवेश भइसक्ने थियो । जब पृथ्वीनारायण शाहले चौदण्डी राज्य जिते त्यहाँका राजा कर्णसेन भागेर विजयपुर पुगे । बुद्धिकर्ण राईले उनलाई विजयपुरको राजा घोषित गरे । यसबखत बुद्धिकर्ण राई र कर्णसेनले पनि अङ्ग्रेजलाई नै गुहार्न पुगे । तर दुरदर्शी पृथ्वीनारायण शाहले उनीहरूको यो योजना पनि सफल हुन दिएनन् । र एकपटक फेरि नेपाललाई उपनिवेश हुनबाट बचाए । बुद्धिकर्ण राई र सिक्किमे सेनाका मतियार राई लिम्बुहरू भने सिक्किमतिर लागे । तर पछि पृथ्वीनारायण शाहले उनीहरूलाई स्वदेशमै बोलाएर प्रयोग गरेको जमिनको भोग चलन गर्न पाउने हकअधिकार कायम गरिदिए । तर पनि विजित राज्यको आत्मसम्मानमा ठोस लगाउने कार्य उनले कहिल्यै गरेनन् ।
इतिहासमा कीर्तिपुरे जनताको सत्र धार्नी नाक काटे भनेर अनर्गल प्रचारबाजी गरेको देखिन्छ । अहिले पनि कतिपय व्यक्तिहरू यसै कुरालाई अगाडि सारेर उनको विरोध गरिरहेका छन् । वास्तवमा यो इसाई पादरी र अङ्ग्रेजी इतिहासकारहरूको आधारहीन अभिव्यक्ति मात्र हो । त्यत्रो सत्र धार्नी नाक पुग्नलाई त्यत्ति नै जनसंख्या हुन पनि आवश्यक छ । विद्वान जगमान गुरूङ्का अनुसार ‘कीर्तिपुर विजयपश्चात सुतिरहेका गोरखाली सेनालाई कीर्तिपुरका केही युवालाई मारिदिए । यसैले सजायस्वरूप पृथ्वीनारायण शाहले अब आफ्ना जनता भएकाले ज्यानको बदला ज्यान नलिइ केही उच्श्रृङ्खल युवाको नाकको टुप्पो काट्ने आदेश दिइएको मात्र हो । तर इतिहास बङ्ग्याएर सत्र धार्नी पु¥याइएको छ ।
अहिले देश संघीयतामा कसरत गर्दैछ । एक्काइसौँ शताब्दीमा लोकतन्त्रको अभ्यास गरिरहेका नेतृत्व वर्गको अदुरदर्शिता र पार्टी मोहका कारण विश्वमा गरिब राष्ट्रको पङ्क्तिमा नेपालको नाम आउँछ । तर पृथ्वीनारायण शाहको आर्थिक नीति हे¥यो भने कति वैज्ञानिक र व्यवहारपयोगी देखिन्छ । देशलाई आत्मनिर्भर बनाउन गरेका प्रयासहरू उनका दिव्योपदेशमा प्रशस्त भेटिरहन्छन् जो हरेक युगका लागि कोशेढुङ्गो सावित हुन्छन् । विदेशका व्यापारी यहाँ भित्रिए भने देशलाई कङ्गाल पार्छन् भन्ने कुरा उनले बुझेका थिए त्यसैले विदेशी सामानलाई मनाह गर्दै विदेशी व्यापारीहरुलाई गढ पर्सादेखि उँभो आउन दिएका थिएनन् । बरू देशका जडिबुटी विदेशमा लगेर बेचेर नगद बटुल्न सधंै प्रोत्साहन गर्थे । प्रजा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक सबै रूपले धनी भए भने देश आफै बलियो हुन्छ भन्ने कुरा उनले बुझेका थिए दिगो आर्थिक विकास र समृद्धिका लागि हरदम चिन्तित देखिन्थे । खानी भएका ठाउँमा गाउँ भए गाउँ अन्त सारेर भएपनि खानी चलाउनु, गरो भएका ठाउँमा घर भए घर अरू जग्गामा सारी कुलो चलाउनु, ‘बुढा मरै भाषा सरै’, ‘दुनयाँ जसदेषी राजी रहन्छन् उसैलाई काजाई दिनु’ ‘घुस दिने र घुस खाने दुवै देशका शत्रु हुन्’ युद्धमा मरेका जवानहरूको सन्तानलाई सरकारले सहयोग गर्नु’, ‘मुलुकमा अन्याय हुन नदिनु’ जस्ता सन्देशहरू उनका उपदेशमा छन् । उनको समयभरि कुनै विदेशीले चलखेल गर्ने आँट समेत गर्न सकेनन् । देश पूर्ण रूपमा आत्मनिर्भर थियो ।
इतिहास गहिरिएर अध्ययन गरेको खण्डमा भ्रष्टचारको डरआग्दो भुँवरीमा रूमल्लिइ रहेका देशको हालको अवस्था र हरेक कुरामा पार्टीगत निर्णय गरिने परिपाटीभन्दा उनका विचार बढी प्रजातान्त्रिक, व्यवहारिक र राष्ट्रिय हितमा देखिन्छन् । साँस्कृतिक एकतामा पनि उनले गरेको प्रयास ज्यादै सराहनीय छ । उपत्यका विजयपश्चात आफू सधैं आर्य संस्कृतिका अनुयायी तागाधारी ठकुरी भएतापनि उपत्यकाकी जीवित देवी कुमारीको गोडामा नै ढोगेर सम्मान प्रकट गरे । स्थानीय चाडपर्वमा आफँै सरिक भई प्रोत्साहन गरे तर बलजफती आफ्नो संस्कृति लाद्ने र स्थानीय संस्कृतिलाई आघात पु¥याउने कार्य उनले कहिल्यै गरेनन् ।
उनले तत्काल चलेका भाषालाई पनि उत्तिकै सम्मान गरेका थिए । मैथिली, नेवारी बाहेक तत्काल चलेका अन्य भाषा पनि त्यसवेला अस्तित्वमा थिए । उनको सेनामा खस, मगर, र गुरूङ्को संयोजन थियो । उनले चाहेको भए पुरै देशको नाम ‘गोर्खा’ रहन सक्थ्यो । तर उनले जनताको चाहनालाई मध्यनजर गर्दै ‘नेपाल’नामलाई नै निरन्तरता दिए । वास्तवमा यो उनको त्याग थियो र प्रजातन्त्रको उत्कृष्ट नमुना थियो । त्यसो त जुन चाहनाका अन्य उदहरणहरू इतिहासमा अन्यत्र पनि भेटिन्छन् । विराज वषेतीलाई काजी पद दिने उनको चाहना हुँदाहुँदै पनि जनताले कालु पाँडेलाई रूचाएको हुँदा उनैलाई ‘काजी’ पद दिएका थिए ।
वास्तवमा पृथ्वीनारायण शाह पूर्ण प्रजातान्त्रिक चरित्रका थिए । उनको यो विचारसँग प्रभावित भएर नै माहोत्से तुङ्ले चीनमा साँस्कृतिक क्रान्ति गरेको कुरा विद्वानहरू बताउँछन् । तर पनि इतिहासलाई माया गर्ने र वास्तविकताका पछि लाग्ने समुदाय अझै बाँचिरहेको अनुभव हुन थालेको छ । जसका कारण ढालिएका उनका शालिक अहिले उठ्दैछन् । उनका पदचिन्ह पहिल्याउँदै पैदल हिँडेका नेपाली सेनाको तस्वीरहरू सामाजिक सञ्जालमा देख्न पाइयो । सेनाको यो कार्यलाई सलाम छ ।
अनावश्यक विदेशी हस्तक्षेप बड्दै गएको आजको वास्तविकतामा देशलाई कमजोर पार्न जताततै भइरहेको खेलमा पृथ्वीनारायण शाहलाई विस्तारवादी र अन्य विभिन्न आरोप लगाउनेले उनको इतिहास खोतलेर हेर्नु जरूरी छ । उनका कुनै सन्तानले पछिल्ला युगमा गल्ती गरेको हुनसक्छ । तर व्यक्तिगत रिसिवीले एउटा नेपाल निर्मातालाई जथाभावी गालीगलौज गर्न खोज्नु नितान्त गलत हो । वास्तवमा राज्य एउटा भूमि हो भने जनताको भावनात्मक एकता राष्ट्र हो र त्यही राष्ट्रप्रतिको समर्पण र प्रतिवद्धता राष्ट्रियता हो । त्यसैले व्यक्तिगत स्वार्थ र पार्टीगत धरातलभन्दा माथि उठेर राष्ट्रको सुदृढिकरणमा एक हुनु जरूरी छ । किनकी राष्ट्र रहे मात्र हामी रहन्छौँ । राष्ट्रिय एकता दिवसको सबैलाई शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया