पृथ्वी जयन्तीलाई बेवास्ता गरेर ‘गुलाम मनोवृत्ति’ प्रदर्शन

लोकपथ प्रतिनिधि
काठमाडौँ । विपक्षमा हुँदा रीस उठ्यो कि नेपाल बन्द गरिहाल्ने, सत्तामा गयो कि चाकरी पुर्याउन पनि सार्वजनिक विदा दिईहाल्ने चरित्रका ‘क्रान्तिकारी’, ‘प्रगतिशील’, ‘समाजवादी’, ‘राष्ट्रवादी’जस्ता अनेकौँ स्वघोषित विशेषण भिरेकाहरूले चलाएको सत्ताको पालामा यसपालीको २९८ औँ पृथ्वी जयन्तीलाई पनि सरकारले बेवास्ता गरेर कतै चाकरी पु¥याउने गुलाम मानसिकता देखायो । पृथ्वीनारायणकै भनाईलाई वर्तमान सत्ताबाट प्रमाणित हुने हर्कत गरिँदैछ, “…यो तिनसहर भन्याको चिस्व ढुंगो रहेछ. षेल षाल मात्रै ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि हुदैन. सुरो पनी हुदैन ।”

नेपालका राष्ट्रपति, भारतका राष्ट्रपति, प्रधानमन्त्री, चिनिया राष्ट्रपति भ्रमणमा आउँदा वा जाँदा दुवै दिन विदा दिने सरकारले पृथ्वीजयन्तीमा विदा दिनमा यसरी डरायो, जसरी एउटा दासलाई मालिकको डर लाग्नेगर्छ । राजनीतिक दलका नेताहरूले राष्ट्रनिर्मातालाई आ–आफ्ना सामाजिक सन्जालमा मात्र सम्झिएर निर्लज्ज कृतघ्नतामा पर्दा हाल्ने प्रयास गरे ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नेपालको अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न आह्वानका साथ ट्वीटरमा लेखे, “नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरूको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।”
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले श्रद्धारहित चिसो अभिव्यक्तिका ट्वीटरमा पृथ्वीनारायण शाहलाई धेरै ‘धूपवत्ति’ गरिरहनु नपर्ने उल्लेख गर्दै, एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको जिकिरका साथ यो पनि भनेका छन्, “१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल राज्य बन्न पुग्यो । राम्रै भयो ! त्यहि रूपमा उनलाई सम्झे पुग्छ । धेरै धूपबत्ति गरिरहनुपर्दैन !”
उनैका निकटतम सहकर्मी, समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले पृथ्वीनारायण शाहले फौजीबलमा गरेको राज्यबिस्तारलाई वर्तमानमा पहिचानसहितको संघीयताको माध्यामद्वारा देशको पुनःसरचना गर्दै नेपालको विकास गर्नुपर्ने बताएर आफ्नो ‘पहिचान’, पक्ष र भक्तिको परिचय दिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि ट्विटरमा लेखे, “पृथ्वीनारायण र हाम्रा पुर्खाले बडा दुःखले एकीकृत गरेको भूगोललाई अझ भावनात्मक संयोजन गर्दै अघि बढौं ।” कांग्रेस नेता रामशरण महतले पनि एकता दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले राष्ट्रको समुन्नति र सम्पूर्ण देशवासीको सुख, शान्ति र समृृद्धिको कामना गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ट्वीटमै, एकताबद्ध भएर स्वाभिमानको रक्षा गर्नुपर्ने उल्लेख गर्दै, “नेपालको स्वतन्त्रता, अखण्डता सार्वभौमिकता, एकता र स्वाभिमानको रक्षागर्दै सबल र सम्बृद्ध नेपाल निर्माण गर्न आजको दिनले प्रेरणा प्रदान गरोस् ।”

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना पुर्खाको गौरबगान गर्दै प्रकाशित वक्तब्यमा भनेका छन्, “जनमानसमा के छ र के भईरहेको छ सबैमा स्पष्टै छ । राष्ट्रनायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन । सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन ।”

वक्तब्यमा पूर्वराजाले यो पनि भनेका छन्, “हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको, हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अबिभाज्य र अखण्ड रहनु पर्दछ । देशका सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।”

राष्ट्रनिर्माणमा पृथ्वीनारायण
पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१) सानो र गरिब राज्य ‘गोरखा’का राजा, जसले आधुनिक नेपाल राज्यको सिर्जना गर्ने काम थाले । तर उनको निधन पछि ४० वर्षसम्म पनि राज्य विस्तारको क्रम चलिरह्यो, जो ९ बुँदे सुगौलीको सन्धी (२ डिसेम्बर १८१५, अनुमोदित ४ मार्च १८१६) हुँदासम्म जारी रह्यो ।

यो सन्धीमा नेपालको तर्फबाट राजगुरू गजराज मिश्र तथा चन्द्र शेखर उपाध्याय (शैलेन्द्रकुमार उपाध्यायका हजुरबा) र ब्रिटिश इस्ट इन्डिया कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्णेल पेरिस ब्राडशाले हस्ताक्षर गरेका थिए । अँग्रेजी जानेका चन्द्रशेखर अँग्रेजहरूसँग मिलेको कारणले नेपालले पूर्वमा मेची पारी टिस्टासम्म र पश्चिममा कुमाउँ–गडवालदेखि देहरादूनसम्म र दक्षिणमा पनि गरी आधाजसो भूभाग गुमाउनु पर्यो ।

पृथ्वीनारायणको लक्ष्य र सपना पहिलोपटक खण्डित भयो । नेपालका राजा गिर्वाण युद्ध बिक्रम शाहले यो सन्धी अनुमोदन गर्दैनन् भन्ने ब्रिटिशहरूको आशंकाले गर्दा ब्रिटिशको तर्फबाट १८१६ को मार्च ४ मा जनरल डेभिड अक्टरलोनीले दस्तखत गरेर नेपाल पक्षलाई बुझाएर यो सन्धी मान्न बाध्यात्मक स्थिति बनाएका थिए ।

निधन हुने वर्षको मंसिर शुरूमै उनी नुवाकोट गए । तर उनलाई बिसन्चो बढ्दैगयो । अब बाँचिदैन भन्ने मनमा आएपछि उनले राजकाजका लागि एउटा मार्गदर्शन पत्र दिने भए । उनकै इच्छा बमोजिम डाँडामा अवस्थित नुवाकोट दरबारबाट ३ किलोमिटर तल त्रिशुली र तादी नदीको दोभानमा अवस्थित देवीघाटमा ल्याइयो । त्यहीँ उनले ‘दिब्य उपदेश’ नामको मार्मिक ब्याख्यान दिएका थिए । त्यसलाई तत्कालीन ४ जना दरबारियाहरूले टिपे पनि कालान्तरमा ती हराए । हाल चल्तीको दिब्यउपदेश तत्कालीन अभिमानसिंह बस्न्यातले टिपेका र उनैका सन्तान बखतमानसिंह बस्न्यातको घरमा सुरक्षित रहेको एउटा मात्रै हो ।
दिब्य उपदेश दिनुका विभिन्न कारण देखिन्छन् भनी इतिहासकार प्रा.डा. राजेश गौतम लेख्छन् “बज्रनाथ पण्डित, मैजूरानी (ललितपुरका भूतपूर्व मन्त्री वीरनरसिंहकी छोरी र प्रतापसिंह शाहकी उपरानी) र स्वरुपसिंह मिली अगोर्खाली एउटा राजनैतिक गूट तयार हुनु ।…..पृथ्वीनारायण उक्त गूटदेखि सावधान थिए…..।”

गौतमका अनुसार पृथ्वीनारायणको आक्रमणबाट पराजीत भक्तपुरका राजा रणजीत मल्लका मठ्याहा छोरा अवधूत सिंह, मोरङ्गका राजा कर्णसेन आदि कतिपय राज्यका राजाहरू अँग्रेजको सहयोगमा आफ्नो गुमेको राज्य फिर्ता लिने दाउमा थिए । अवधूत सिंह त बनारसमा बिटिशहरूको आश्रयमा बसेका थिए । अँग्रेजी माल बेच्न उद्यत ब्यापारीहरूप्रति पनि उनी सावधान थिए ।

दिब्य उपदेशमा उनले मुलुकको स्थायित्व, सुरक्षा र समृद्धिका धेरै अनुभवजन्य विचार दिएका छन्, प्रत्येक नेपालीले दिब्य उपदेशको मूल पाठ पढ्नु वेश हुन्छ ।

भारतका हाइस्कूलदेखिकै पाठ्यपुस्तकहरूमा पृथ्वीनारायण र उनका सहकर्मीहरूलाई “गोरखाली अतिक्रमणकारी” भनिएको छ र त्यो एकीकरण अभियानलाई गम्भीर निन्दा गरिएको छ । नेपालका ‘क्रान्तिकारी र देशभक्त’ भनिएका कतिपयबाट पनि पृथ्वीनारायण शाहलाई त्यही आसयका निन्दा गरिनु र सरकारले पछिल्लो चरणमा १३ दिन विदा थप्दा पनि पुस २७ मा राष्ट्रिय एकता दिवसको विदा नदिनु बद्नियतपूर्ण रहस्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?