काठमाण्डौ । ताइवानकी राष्ट्रपति साइ इङ्ग–वेनले चीनले ताइवानमाथि आक्रमण गरे महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । बीबीसीलाई दिएको एउटा विशेष अन्तवार्तामा उनले चीनले ‘सत्यको सामना गर्नुपर्ने’ र ताइवानलाई ‘इज्जत’ दिनुपर्ने बताएकी छिन् ।
डेमोक्रेटिक प्रोगेसिभ पार्टीकी वेन गएको शनिबार भएको मतपरिणाममा भारी मतले जित्दै फेरि एक पटक ताइवानकी राष्ट्रपति बनेकी हुन् । उनले आफ्नो चुनावी अभियानमा चीनबाट हुन सक्ने खतराप्रति आममानिसको ध्यान खिँच्ने कोसिस गरेकी थिइन् ।
चीनको सत्ताधारी कम्युनिस्ट पार्टी ताइवानमा लामो समयदेखि आफ्नो अधिकार दाबी गर्दै आएको थियो । कम्युनिस्ट पार्टीले आवश्यक परेको खण्डमा ताइवानलाई बलपूर्वक लिनसक्ने हक आफूसँग रहेको सम्म भनेको थियो ।
तर साइ इङ्ग–वेनले ताइवानको सम्प्रभुतालाई कुनै पनि स्थितिसँग सम्झौता नगर्ने बताएकी छिन् ।
६३ वर्षीया वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हामीलाई आफै एक स्वतन्त्र देश घोषणा गर्नु पर्ने जरुरी छैन । हामी पहिलेदेखि नै एक स्वतन्त्र राष्ट्र हौँ र आफूलाई रिपब्लिक अफ् चाइना, ताइवान भन्छौँ ।’
साइ इङ्ग–वेन चीन र ताइवानबीचको वर्तमान स्थितिको समर्थन गर्छिन् र चीनसँग सुमधुर सम्बन्ध चाहन्छिन् । उनी हङकङका लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुको पक्षमा पनि उभिएकी छिन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया