हिजोआज नेपाली राजनीतिमा ‘खोक्रो राष्ट्रवाद’, ‘महेन्द्रीय राष्ट्रवाद’, ‘मौसमी राष्ट्रवाद’ जस्ता निन्दाजन्य संज्ञाका स्वर बहसको रुपमा भन्दा पनि पर गएर दायित्वबिहिन कोलाहलको शैलीमा घन्किएको सुनिन्छ ।
संघात्मक राज्य पुनःसंरचनाका सन्दर्भमा यस्ता स्वर बढी उठ्ने गरेका छन् । संघात्मक व्यवस्था अपनाएका सबैजसो मुलुकले राज्यहरूलाई जोडेर राष्ट्र बनाए, तर नेपालले सिंगो राष्ट्रलाई बहुराज्यमा विभाजित गर्ने पक्रियामा यस्ता विचार आएको देखिन्छ । यसै मेसोमा पृथ्वीनारायण शाहले गरेको नेपाल राज्यको निर्माणलाई पनि आफ्नै रेडिमेड फर्मूलाको कसीबाट अथ्र्याउने प्रयास नभएको होइन ।
के राष्ट्रवाद खोक्रो वा भरिलो वा कुनै व्यक्तिविशेषको ब्राण्ड र ट्याग लागेको हुन्छ र ? ‘नयाँ नेपाल’ बनाउनु भनेको ‘पुरानो नेपाल’ लाई सत्तोसराप गर्नैपर्ने पनि होइन होला । यस आलेखमा स्वतन्त्र रुपले विषयवस्तुको समीक्षा गरिन्छ ।
संसारभरि नै आमरुपमा देखिने प्रवृत्ति के हो भने राज्यहरूलाई आफ्नो अस्तित्व रक्षाको चुनौतीका बेला ‘डरको मनोविज्ञान’ ले पनि हिँडाएको हुन्छ । जस्तो कि सन् १९६७ मा दक्षिणपूर्वी एशियाली देशहरूको संगठन (आसियान) को स्थापना हुँदा स्थापनाको खास कारण ‘साम्यवादको साझा डर’ नै थियो । त्यसैले ती राज्यहरूमा ‘साझा हैरानीको मनोविज्ञान’ ले एउटा संगठन सिर्जना भयो । नेपालमा चीनको उपस्थितिको सम्भावनालाई भारतले जहिले पनि सतर्कताको रुपमा लिनेगरेको यथार्थ पनि यही मनस्थितिको द्योतक हो ।
भारतको वेलायती औपनिवेशिक शासनकालमा नेपाललगायत, भूटान, सिक्किम, कश्मिर आदि हिमालयको काखका मुलुकहरूलाई ‘हिमालयन फ्रन्टियर्स् पोलिसी’ अन्तर्गत ‘बफर राज्य’ को हैसियतमा राखिएको थियो, बिकट भूगोल, अविकसित समाज, अशिक्षित रैती र शोषण तथा गरीबीमाथिको शासन अन्धकार युगको विशेषता थियो । नेपालमा बेलायती औपनिवेशिक शासनको आज्ञाकारी राणा शासन १०४ वर्षसम्म चल्दा बेलायतीहरूले आफ्ना आज्ञाकारी शासकहरूलाई एकपटक पनि भनेनन् कि जनतालाई उन्नती र विकासको बाटो नदिनेलाई शासन गर्ने हक हुँदैन, कम से कम बेलायतले त्यस्तो शासनलाई समर्थन र संरक्षण गर्दैन । २÷२ वटा विश्वयुद्धमा ब्रिटिश साम्राज्यको सुरक्षाका लागि ४ लाख नेपालीले रगत–पसिना बगाए, ६० हजार नेपालीले प्राणको आहुती दिए, तर आफ्नो मातृभूमी र उनीहरूले के पाए ? न्यायको खोजीमा चलिरहेको यो मुद्दा आज पनि ज्युँका त्युँ छ । नेपालले विगतमा बफर राज्य हुनुको औपनिवेशिक शासकीय शैली र लोक मनोविज्ञान आजसम्म विविध रुपमा भोगिरहेको छ ।
औपनिवेशिक शासनबाट मुक्त हुने विश्वब्यापी स्वतन्त्रताको लहर चलेपछि त्यसको हावा नेपालमा ल्याउने काम २००७ सालको जनक्रान्तिले ग¥यो । त्यस क्रान्तिले राष्ट्रियता र लोकतन्त्र जन्माएको थियो । राणाशासनको अन्तिम प्रधानमन्त्री मोहन शम्शेरले क्रान्तिलाई हेर्दै आफ्ना पिता चन्द्र शम्शेरको मर्ने बेलाको उक्ति उद्धृत गर्दै भनेछन्, “मेरा पूर्वजले भेडाबाख्रामाथि शासन गरे, मैले साँडेहरूमाथि शासन गर्नुप¥यो, अब मेरा भाई–छोराहरूले सिंहमाथि शासन गर्नुपर्ने छ ।”
पुरानो नेपालको राष्ट्रवाद र देशभक्तिलाई सुगौलीको सन्धीले दबाएपछि २००७ सालमा पलाएको देशभक्तिको नयाँ संस्करणलाई औपनिवेशी शासनको स्कूलिङ्मा हुर्केको भारतीय सत्ताले पचाउन नसकेको कुरा बीपी कोइरालाले ‘आत्मबृत्तान्त’ मा आफू प्रधानमन्त्री भएको बेला भारतको भ्रमणमा गएको र लालकिलामा भएको नागरिक अभिनन्दनमा प्रत्युत्तर भाषणमा आफूले भन्नै परेको कुरा उल्लेख गर्नुभएको छ, “देशभक्त नेपालीमा र देशभक्त भारतीयमा कहीँ फाटो छैन । कहीँ पनि द्वन्द्व छैन । तर तपाईँहरूमध्ये कति हुनुहुन्छ देशभक्त, तपाईँ आफ्नो हृदयमा हात राखेर भन्नुस् ।……तपाईहरुमध्ये देशभक्ति नभएका मानिसहरू नै मेरा समस्या हुन्…..” (आत्मबृत्तान्त, पृ. २४१) ।
कुनै पनि स्वाधीन र स्वाभिमानी मुलुक ‘संरक्षित’ होइन ‘सुरक्षित’ भएर बाँच्न चाहन्छ, र सुरक्षाका लागि राष्ट्रवादी हुन्छ । स्तम्भकार चन्द्रकिशोरले एकदमै मनासिब लेख्नुभएको छ, ‘ठूला राष्ट्रका साना छिमेकीहरू स्वभावतः राष्ट्रवादी हुन्छन्’ (‘साधारण जनताले फैलाएको आयाम’ कान्तिपुर) । कमजोर हुँदैमा पराश्रित हुने होइन पराश्रित भएपछि कमजोर हुन्छन् । प्राचीन नेपालका शासकहरूले आफ्नो युगअनुकूल राज्यको सुरक्षा गर्ने रणनीति अपनाए ।
यसै सोचौँ, पृथ्वीनारायण शाहले नेपाल निर्माणमा अगुवाइ गर्दा यो देशमा कतिजना एम.ए. वा भूगोलविद् थिए ? साक्षर नै कति थिए ? त्यो रणनीति लागु गर्दा गुलाबजल छर्केर हुँदैनथ्यो, मान्छेकै रगत–पसिना चाहिन्थ्यो । त्यसो हुँदा उनीहरू शासनमा कठोर पनि भएकै हुन् । जस्तै, भीमसेन थापा । पञ्जाब केशरी रणजीत सिँहले भनेका थिए, “एउटा भीमसेन नहुँदो हो त नेपाल उहिल्यै उडिसक्थ्यो ।”
दुई विशाल छिमेकी, जसले विश्वकै पहिलो र दोस्रो विशाल जनसंख्या बोकेका छन् र विश्वका महान सभ्यताले प्रतिष्ठित छन्, का बीच अवस्थित नेपालले आफ्ना छिमेकीप्रति गर्वबोध गर्न पाउनुपर्ने हो । साथै सार्वकालिक चुनौती नै कतैतिर अडेस नलागी कसरी सिधा बस्ने भन्ने हो ।
त्यसका लागि प्रत्येक नेपालीलाई विवेकपूर्ण राष्ट्रप्रेमको आवश्यकता पर्ने हो । राजतन्त्रकालमा नेपाली काँग्रेस आफ्ना आधारभूत सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादकै कारण अतिरिक्त चेपुवामा परेको पनि थियो ।
कसरी भने राष्ट्रियताको कुरा गर्दा भारतबाट टाढा गएको र ‘दरबार’सँग हिमचिम बढाउन थालेको अर्थ लाग्ने, प्रजातन्त्रको कुरा गर्दा राष्ट्रियताबाट टाढा, भारतको नजिक पुगेको ठान्ने अन्धराष्ट्रियताले काँग्रेसलाई दुश्मन देखेको थियो । समाजवाद भनेपछि देशभरिका सामन्त र जमिन्दारले काँग्रेसलाई दुश्मन देख्ने नै भए । त्यो जमानामा यही देशभित्र मध्यमार्गी राजनीतिक बाटो अभिशाप भएकै हो ।
अन्धराष्ट्रियता, नक्कली राष्ट्रवाद (स्युडो नेशनलीज्म्) र प्राविधिक राष्ट्रियता सच्चा राष्ट्रवादका निष्ठाजन्य शब्दावली होइनन्, राष्ट्रमा मौलाएका हानीकारक संज्ञा हुन् ।
गणतन्त्र आएको लगत्तै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा भाषणमा भनेका थिए, “राजाको वरिपरि यो देशलाई अत्यन्तै माया गर्ने सच्चा राष्ट्रवादीहरूको ठूलो जमात छ । राष्ट्रिय पहिचानको अभियानमा हामी त्यस्ता राष्ट्रवादीलाई पनि आपूmमा समटेर लैजान्छौँ ।” यो भाषण सुनेर केके न पाउँला भनेर केही राजतन्त्रवादीहरू आफ्नो राष्ट्रवाद भँजाउनकै लागि अवतार फेरेर माओवादीको आँगनमा पुगे । तीमध्ये धेरैलाई राजदरबारले सडकबाट उठाएर ‘ठूलो मान्छे’ बनाइदिएको थियो । तर माओवादीभित्रै, ‘युद्धबाट आएका’ र ‘युद्धपछि आएका’ भन्ने भेदको हानथाप चलिरहेको अवस्थामा राजावादीबाट माओवादीमा हामफाल्नेलाई ‘कौन पुछे खेसरीका दाल’ ! आखिर उनीहरू आज निरासा र पश्चातापका साथ जिल्लिरहेको देखिन्छ । आजकाल उनी राजाहरू राष्ट्रवादी थिएनन् भन्ने फत्तुर लगाउँदैछन् ।
राष्ट्रको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमसत्ताको मूल्यमा आफ्नो कुत्सित स्वार्थ सिद्ध गर्न खोज्ने नेताको पतन हामीले एशियाकै कतिपय मुलुकमा देखेका छौँ । लेण्डुप दोर्जेका दुस्साहसिक किस्सा पढेका छौँ । सिक्किम बिलयपछिको एउटा सत्य घटना यस प्रसंगमा सान्दर्भिक होला ।
बिलयपछि नयाँदिल्लीमा भेटघाटका लागि गएका लेण्डुप दोर्जे लगायतका तत्कालीन सिक्किमे हर्ताकर्ताहरू त्यतिबेला तीनछक्क परे जब दिल्लीका शासकहरूले उनीहरूलाई भेट्न तीनदिन पर्खाइदिए । बल्लबल्ल भेट हुँदा चिसो स्वागत पाए ।
‘सिक्किमका भिआईपीहरू भेटघाटका लागि आएका’ भन्दै सहयोगीले जानकारी गराएर भेटघाटको समय तय गर्न सोध्दा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले चोरऔँला आफ्ना ओठमा ठड्याएर चूप लाग्ने सांकेतिक आदेश दिँदै भनिछन्, ‘आफ्नो मातृभूमीको देशद्रोही सिङ्गो हिन्दुस्थानको देशभक्त हुनसक्दैन, जसको जुन प्रयोजनमा उपयोग भएको थियो, त्यो उपयोगिता अब सकियो, छोडदेउ….।”
सिक्किम विलयपछि आफ्नो बदनामीले र लाजले गर्दा लेन्डुप दोर्जे सिक्किम छोडेर कालिम्पोङ्मा बस्नथालेका थिए । त्यहीँ उनको हृदयाघातबाट सन् २००७ को जुलाई ३० मा निधन भयो ।
राष्ट्रवाद वा देशभक्तिको मूल्यमा संदीग्ध तरिकाले उरालिनेहरूले सिक्किम बिलयपछि त्यसका हर्ताकर्ताहरूको गुमनाम र बदनाम छविलाई हेक्का राखुन् । आज तराईमा उक्साइएका कथित ‘मधेश आन्दोलन’ को नियती र परिणति यहाँ पुनरावृत्त नहोस् ।
‘मधेशी मोर्चा’ को ३ पटकको आन्दोलन बिखण्डनकारी नियतलाई हौस्याउन मात्र काम लाग्यो, मधेश बनाउन काम लागेन ।
सच्चा देशभक्त वा राष्ट्रवादीले आफ्ना सारा कमजोरी र नालायकीको दोष छिमेकीमाथि लगाउँँदैन । सच्चा देशभक्तिको प्रमाणपत्र कतैबाट लिनु जरुरी पनि हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया