सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

गौशाला नगरपालिकाले आज आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।

मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई अब विकाससँग गाँसेर अभिभावकलाई पनि शिक्षित पार्दै विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्ने बताए । यस्ता सम्मेलन देशका ७५३ वटै पालिकामा गर्ने बताउँदै उनले सम्मेलनबाट आएका सुझावलाई मनन गरी त्यही अनुरुप शिक्षा प्रणालीको विकास गर्न सक्यौं भने मात्र मुलुक सुखी र समृद्ध हुने विश्वास व्यक्त गरे।

एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने तर्क गरे। जिल्ला शिक्षा तथा समन्वय इकाइ समितिका प्रमुख शत्रुध्नप्रसाद यादवले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्धि हासिल हुने बताए ।

प्रदेशसभा सदस्य भरतप्रसाद साहले विश्व डिजिटलको युगमा लम्ँिकदै आएकाले समयमा मधेशको शिक्षालाई पनि आधुनिक प्रविधिमैत्री बनाई अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?