माथियाज् मिकेलसन आफ्नो व्यवसायलाई मूर्तरुप दिन यति लागिपरेका थिए कि उनले यही सिलसिलामा ३ महिनासम्म एउटा दराजभित्र रात बिताए ।
नर्वेका नागरिक माथियाज् आफ्नो अनलाइन स्टार्ट अप स्थापना गर्ने जस अन्तर्गत ‘टाइमली’ नामक समय व्यवस्थापनको एप निर्माण गर्ने सपनालाई पछ्याउँदै सन् २०१३ मा नर्वेबाट क्यालिफोर्नियाको सिलिकन भ्याली आएका थिए । तर, दुर्भाग्यवश उनले त्यस ठाउँमा कसैलाई चिनेका थिएनन् ।
‘त्यसवेला प्रविधिसँग सम्बन्धित स्टार्ट अपहरुको लागि नर्वेमा खासै राम्रो वातावरण थिएन त्यसैले मलाई लाग्यो मैले मेरो सपना पूरा गर्न विश्वमै प्रविधिको चौतारीका रुपमा प्रख्यात सिलिकन भ्याली आउनैपर्छ,’ माथियाज् सुनाउँछन् ।
‘तर, मैले त्यहाँ कसैलाई चिनेको थिइन त्यसैले सबैभन्दा शुरुमा साथी बनाउनुपर्छ जस्तो लाग्यो,’ मिकेलसन अगाडि थप्छन्, ‘फेरि मान्छे चिन्नलाई कि कलेज पढ्नुप¥यो कि कुनै काम गर्नुप-यो तर, म त दुईटै गर्ने वाला थिइन ।’
एक्लै पर्छु भन्ने डरले सताउन थालेपछि मिकेलसनले एउटा रोचक जुक्ति निकाले । उनले २ वा सो भन्दा बढी व्यक्ति बस्ने कोठा भाडामा लिने र हरेक हप्ता कोठा फेर्दै हिँड्ने योजना बनाए । यसो गर्दा उनले धेरै भन्दा धेरै मान्छे चिन्ने भए र उनीहरुसँग सम्पर्क राखिरहँदा नयाँनयाँ साथी पनि बनाउन सक्ने भए । नभन्दै मिकेलसनको यो जुक्तिले काम ग-यो ।
एउटा समस्या टरेपछि अब उनको अगाडि अर्को चुनौती थियो, ‘ह्याकर हाउस’मा प्रवेश । ह्याकर हाउस एउटा यस्तो घर हो जहाँ मिकेलसनजस्तै प्रविधिसम्बन्धि स्टार्ट अपको सपना बोकेका युवाहरु बस्छन् । यस्तो घरमा बस्नुको मुख्य फाइदा के हुन्थ्यो भने उनीहरु एकअर्कासँग सल्लाहसुझाव लिँदै र मद्दत गर्दै आआफ्नो कामलाई अघि बढाउन सक्थे ।
सन् २०१४ मा मिकेलसनले एउटा ह्याकर हाउसमा प्रवेश त पाउने भए तर, घरमा जम्मा १५ जनाको लागि मात्रै सुत्ने ठाउँ थियो जुन पहिल्यै ओगटिइसकेको थियो । यदि त्यहाँ बस्ने हो भने मिकेलसनले चकटी ओछ्याएर दराजभित्र सुत्नुपर्ने भयो । उनले मौका छोडेनन् ।
हाल २९ वर्षीया मिकेलसन भन्छन्, ‘म ३ महिनासम्म सोही दराजमा सुतें तर, मलाई लाज, अप्ठ्यारो केही महसुस भएन ।’
‘ह्याकर हाउसमा मैले निकै उत्पादनशील समय बिताएँ । मलाई एउटा सफल व्यवसायी बनाउनमा ठूलो भूमिका छ ह्याकर हाउसको,’ मिकेलसन सफलताको श्रेय उक्त हाउस र त्यहाँ बिताएको समयलाई दिन्छन् ।
अहिले मिकेलसनले बनाएको टाइमली एप १ सय ६० देशका ५ हजार कम्पनीले प्रयोग गर्छन् । एपले विभिन्न संस्था तथा कार्यालयमा ‘टाइमसिट’ तयार गर्नुपर्ने झन्झटबाट छुट्कारा दिएको छ । यसले संस्था वा कार्यालयको समग्र सेड्युलको रेकर्ड राख्छ ।
नर्वेको उत्तर भागमा हुर्किएका मिकलेसनलाई सानोमा फुटबलर बन्ने खुब रहर थियो । उनी म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी बन्न चाहन्थे । तर, किशोरावस्थामा पुगुन्जेलसम्म उनको रहर फेरियो । उनले आफूलाई कम्प्युटर प्रोग्रामिङमा चासो भएको थाहा पाए ।
स्कुलमा छँदै उनी कम्पनीहरुको वेबसाइट डिजाइन गर्ने काम गर्थे ‘फ्रिलान्सर’ का रुपमा । तर, यसरी कुनै कम्पनीको कर्मचारीका रुपमा नभइ स्वतस्फूर्त काम गर्नु मिकेलसनका बाबुआमालाई खासै चित्त बुझेको चाहिँ थिएन । त्यसैले, १८ वर्षको उमेरमा स्कुल छोडेपछि मिकेलसनले नर्वेजियन एयरलाइन र यूनिसेफका लागि समेत काम गरे ।
यद्यपि, यस्तै सानातिना कामहरु मार्फत् मिकेलसन नयाँ कुरा सिकिरहेका थिए । आफूलाई आफ्नै कम्पनी खोल्नका लागि तयार गरिरहेका थिए ।
अरुकोमा काम गर्दागर्दै दिक्क भएर उनी ‘टाइमली’ नामक आफ्नै प्रोजेक्टमा काम गर्न थाले । सन् २०१३ मा उनले ‘टाइमली’ शुरु गरे । दुर्भाग्यवश, केही इष्टमित्रको ‘शुभकामना’ र फेसबुकमा केही लाइक बाहेक उनले केही हासिल गरेनन् । त्यसवेला उनी राजधानी ओस्लोमा बस्थे । त्यसपछिका हरेक प्रयास असफल भए । आफ्नो हारबाट हैरान भएका मिकेलसनसँग अब ‘अन्तिम’ अवसर मात्र बाँकी थियो किनकी उनले आफ्नो सबै बचत त्यही प्रोजेक्टमा खर्चिसकेका थिए । अन्तिम पटक प्रयास गर्ने उद्देश्यले भएको एउटा अपार्टमेन्ट बेचेर उनी सिलिकन भ्याली प्रवेश गरे ।
ह्याकर हाउसमा केही समय बिताएपछि र एकजना भारतीय साथीसँगै काम गरिसकेपछि उनले दोस्रो पटक ‘टाइमली एप’ शुरु गरे । व्यवसाय विस्तारै फस्टाउँदै गयो । नर्वेमा पनि प्रविधि सम्बन्धित स्टार्ट अपहरुले स्थान पाउँदै गएको देखेर उनले आफ्नो व्यवसाय ओस्लोमै सारे ।
अहिले उनको मेमोरी नामक कम्पनीमा ४५ जना कर्मचारीले काम पाएका छन् । अमेरिका, बेलायत, नर्वेका लगानीकर्ताले कम्पनीमाथि ६ मिलियन डलर्स लगानी गरेका छन् भने कम्पनीको वार्षिक बिक्रीदर २ मिलियन डलर्स छ ।
यो सफलताको रहस्य दृढता, निरन्तर मिहिनेत र हार नमान्ने प्रवृत्ति भएको बताउँछन् मिकेलसन । अहिले पनि जबजब उनी आफ्ना पुराना दिनहरु सम्झिन्छन् उनलाई बडो रमाइलो लाग्छ । भन्छन्, ‘मैले ह्याकर हाउसको दराजमा बिताएको ३ महिनाले मलाई धेरै कुरा सिकायो, त्यसवेला दिनको हर पल, हर मिनेट म काममै व्यस्त हुन्थें त्यसैले म कहाँ, कसरी बसेको छु भन्ने कुराले मलाई खासै समस्या भएन ।’
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया