ह्यारीले दिए सार्वजनिक मन्तव्य : दु:ख व्यक्त गर्दै भने ‘अरू कुनै विकल्प नै थिएन’

काठमाडौं । राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दु:ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन् ।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र क्यानडामा आफ्नो समय बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

उनले भने, म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँ देखिको छलफल र वषौँ देखिको चुनौती पछि यो निर्णय गरिएको हो । उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए ।

थप बोल्दै उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए । दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका कुरा बीबीसीले जनाएको छ ।

एजेन्सी

यो पनिपढ्नुहोस् :

ह्यारी र मेगनको शाही उपाधि समाप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?