काठमाडौँ । रातो पासपोर्ट हत्याएर तस्करहरूले मुलुककै सम्बन्ध ध्वस्त बनाउनेसम्मका अवैध ब्यापारमा लगाएका घटनाहरू विगतमा बारम्बार आईरहे ।
रातो पासपोर्टमा नाम भीआईपीको हुन्छ । तर पक्राउ पर्छ लागु औषधको तस्कर ! कान्तिपुर र गोरखापत्रमा पासपोर्ट हराएको सूचना एउटै डिजाईनमा पाना भरिने गरी पनि छापिएको हुन्छ, पासपोर्ट भेटिएको देखिन्न ।
त्यस्ता विज्ञापनको शैली र हराउने दर हेर्नेले तुरुन्त आकलन गर्नसक्छ, पासपोर्ट हराएको बहानामा पासपोर्ट दुरुपयोगको दर कति उच्च रहेछ । पासपोर्ट दुरुपयोग गर्नु भनेको सरोकारवाला अर्को मुलुकको शासन व्यवस्थालाई दखल दिने वा आँच पु¥याउने अवस्था । हालसम्म पासपोर्ट लिने नेपालीको संख्या ८० लाखभन्दा बढी देखिन्छ ।
पासपोर्ट दुरुपयोग गर्दै विदेशमा विभिन्न आपत्तीजनक गतिविधिमा संलग्न भई त्यहाँका जेलहरूमा रहेका नेपालीको संख्या एघार हजारभन्दा माथि छ ।
नागरिकका लागि जारी गरिने पासपोर्टको रंग हरियो हुनाले युरोप अमेरिकातिर हरियो रंग इस्लाम धर्मको पवित्र रंग भएको कारणले पनि नेपाली पासपोर्ट छिटै शंकाको घेराभित्र पर्दछ । त्यसमाथि कमल नाम गरेकोलाई इस्लामी नाम झैँ ‘कमाल’ बुझेर तदनुरुप ब्यवहार गर्ने । त्यसैगरी ओलीलाई अली, रामलाई रमाल्लाह, हरिलाई हरिरिलगायत रिजाल, काजी, इन्दिरा (इन्दिबर) जस्ता अनेक नामहरू इस्लाम धर्मावलम्बीका नामसँग मिल्दोजुल्दो बुझिने कारणले नेपाली पासपोर्टको विश्वसनियता अत्यन्त कमजोर भएको देखिन्छ । विज्ञहरू सुझाब दिन्छन्, नागरिक राहदानीको रंग परिवर्तन गर्नुपर्छ ।
हेन्ले पासपोर्ट इन्डेक्स नामक हालैको एक अन्तर्राष्ट्रिय अध्ययनले विश्वका विभिन्न १०७ मुलुकका पासपोर्टको विश्वसनीयता, स्वीकार्यता, प्रभाव र शक्तिको सूचीमा नेपाली पासपोर्ट १०१ स्थानमा रहेको देखाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ र हेनले एन्ड पार्टनर्स् रिसर्च डिपार्टमेन्टको विभिन्न अध्ययन र सूचकांकका आधारमा तयार पारिएको तथ्याङ्कबाट हेनले पासपोर्ट इन्डेक्स् तयार गरिन्छ ।
विगतमा कुटनीतिक क्षेत्रमा कार्यरत र सरकारी कर्मचारीहरूले नेपाली पासपोर्टको चरम दुरुपयोग गरेको, सामान्य पासपोर्टधारी नागरिकहरूले एउटा प्रयोजनमा पाएको भिसा अर्कै प्रयोजनमा लगाएको, विदेशमा अवैध रुपमा लुकीछिपी बस्ने गरेको वा विदेश गएको नेपाली स्वदेश फर्किन चाहँदैन त्यतै लुकेर बस्ने दाऊ हेरिरहेको हुन्छ भन्ने प्रभाव, वैदेशिक रोजगारीका गतिविधि र प्रक्रियामा देखिएका आपराधिक तथा अनैतिक गतिविधि, नेपालीले पाउने सुविधामा भारतीयहरूको घुसपैठ तथा त्यस्तो घुसपैठलाई प्रश्रय दिने सरकारी कर्मचारी, १० वर्षे माओवादी हिंसात्मक स्थितिमा हजारौँ नेपालीले पाएको भिसाको आधारमा नेपाली पासपोर्ट तेस्र्याएर शरण माग्ने गरेको जस्ता गतिविधिले गर्दा नेपाली पासपोर्ट बदनाम पनि हुनपुग्यो ।
पहिलेपहिले नेपालीहरूलाई युरोप र एशियाका धेरै मुलुकमा आगमन भिसा मिल्नेगथ्र्यो । एयरपोर्टमै ३ महिनाको भिसा पाईन्थ्यो । अहिले पनि एशियाका भूटान, सिंगापुर, फिलिपिन्स्, अफ्रिकाका इजिप्ट, केन्या, रुवान्डा जस्ता मुलुकले अन एराईभल भिसा दिन्छन् । भारत जाँदा भिसा लाग्दैन । जर्मनीमा त नेपाली पासपोर्ट देखाएपछि भिसा नै चाहिँदैनथ्यो । यो सुविधा अहिले प्रायः खोसिएको छ । नेपालीलाई हाल विश्वका ३८ मुलुकमा अन एराईभल (आगमन) भिसा मिल्ने गरेको छ ।
मुलुक आर्थिक रुपमा गरिब भएपछि, आर्थिक कारोबारमा मन्दी आउनुको साथै यात्रा, ब्यापार, भिसाको म्याद सकिएपछि स्वदेश फर्किहाल्ने इमानदारी हुने हो भने पासपोर्टको विश्वसनीयता, साख र सशक्तीकरण बढेर आउँछ । सरकारले महँगो दाम कसेर लिई खुला रुपमा पासपोर्ट बेच्ने त गरेको छ, तर यसको विश्वसनीयता बढाउने र दुरुपयोग हुन नदिनेतिर कुनै प्रयास लगाएको छैन ।
पहिले काठमाडौँबाटै भिसा दिने गरेका कतिपय मुलुकले नेपाली राजधानीबाट त्यो सुविधा झिकेर नयाँदिल्ली पु¥याएका छन् । यो आफैँमा नेपालको महत्व घटाएको संकेत पनि हो । पासपोर्टलाई व्यक्तिले पाएको परिचयपत्र भन्नुभन्दा राष्ट्रको छवि संवाहकका रुपमा सरकारले जिम्मेवारी लिनुपर्ने हो ।
यसको विश्वसनीयता, साख र स्वीकार्यतालाई बचाएर राख्ने दायित्व सरकारकै हो । पासपोर्टको दुरुपयोग राष्ट्रकै छवि ध्वस्त पार्ने जघन्य भ्रष्टाचारको अर्थमा सरकारले आत्मसात गर्नु जरुरी देखिन्छ । यसका लागि सुधारको काम सरकारी पक्षबाटै प्रारम्भ गर्नुपर्ने अति जरुरी भईसकेको देखिन्छ ।तस्वीर : गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया