सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाडौं । प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावलि २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाम्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएको थियो ।

लगत्तै उनले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दे निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिए ।

उपसभामुख तुम्बाहाम्फेले पहिलो बैठकमा राजीनामा दिने संकेत गर्दे सो बैठकपछि राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गरेका हुन् । यस अघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आईतबार अपरान्ह ३ बजे का लागि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?