काठमाडौँ । राजधानीको गोंगबु र नयाँ बसपार्क क्षेत्रमा हुने गरेका गलत क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । ‘नयाँ बसपार्क– गोंगबु शुद्धीकरण’ अभियान नै चलाएको प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न व्यवसाय सञ्चालक तथा दलाललाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले मित्र नगरस्थित बबाली चोकमा रहेको देउराली खाजाघर संचालन गर्ने ‘क्याबिन किङ’को नामले चिनिने बाबुराम भन्ने जितेन्द्र प्रसाद कडेल, रिलेशन रेस्टुरेन्ट संचालन गर्ने प्रेम बहादुर अछामी ,मनोज खाजाघर संचालन गर्ने नबिन तामाङ पक्राउ परेको जानकारी दिए ।
यस्तै गोंगबुस्थित सृष्टि सुब्बा खाजा घर संचालन गर्ने धन बहादुर लिम्बु, दिपज्योतिस्थित बाग्लुङ कालिका खाजाघर संचालन गर्ने कुमारी थापालाई पनि नियन्त्रणमा लिइएको लम्सालले बताए । उनीहरुविरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएको छ ।
यसैगरी प्रहरीले होटल तथा गेस्टहाउसको ‘गाइड’को रुपमा परिचित सो क्षेत्रका दलालहरुलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेश सुनार, मिलन तामाङ, सुबास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान, सुरेश तामाङ रहेका छन् । उनीहरुविरुद्ध पनि सोहि बमोजिम मुद्दा दर्ता गरि कानुनी कारवाहि भैरहेको प्रहरीले जनाएको छ । यस्तै पक्राउ परेका गाइड आबद्ध होटल तथा गेष्ट हाउसका मालिकहरुलाई पनि कारवाहीको लागि खोजतलास भइरहेको छ ।
यसैबीच हाल यसक्षेत्र सुधारको लागि सामुदायिक सेवा केन्द्र गोंगबु, महानगरीय प्रहरी वृत्त महाराजगन्ज र स्थानीय तहबीचमा सहकार्य र समन्वय गरी प्रचार प्रसार, संयुक्त चेकजाँच लगायतका गतिविधिहरु संचालित गरिएको छ।
बिगत ४ महिनाको अवधिमा गंगबु तथा नयाँ बसपार्क क्षेत्रवाट मात्रै स्वीप अपरेशन तथा चेकजाँचको क्रममा ७२१ जनालाई नियन्त्रणमा लिइएको छ । जसमध्ये २०६ पुरुष, ३४ महिला २१ तेस्रो लिङ्गी गरी कुल २६१ जनालाई मुद्दा चलाइ कानुनी कारवाही गरिएको र अन्यलाई सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया