काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा सभामुख चयन भएका छन् । उनी निर्विरोध सभामुख चयन भएका हुन् । मंगलबार उमेदवारी मनोनयनमा अन्य दलका कसैले उमेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उनलाई निर्विरोध चयन गरेको घोषणा गरेको छ । उक्त घोषणा पश्चात उनले सभामुखको अध्यक्षता ग्रहण गरेका छन् ।
धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उमेदवार बनाएको थियो ।
रित्त रहेको सभामुखमा नेकपाले लामो प्रयासपछि सापकोटालाई उम्मेदवार बनाएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि सापकोटा निर्वाचित भएका हुन् ।
माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका नव निर्वाचित सभामुखमा सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् ।
माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई ‘अग्नि सर’का रुपमा चिन्छन् ।
विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गर्नुभएको छ । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् ।
नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा (माओवादी)ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन, उनी । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेको छन् ।
विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।
विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए ।
तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गर्नुभयो । सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् ।
धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उमेदवार बनाउने निर्णय गरेको छ । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटा चिनिन्छन् ।
जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ ।
राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् । पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा(माओवादी)को पार्टी प्रवक्ताको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।
नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् ।
यद्यपि, सापकोटाको नाम सार्वजनिक भएलगत्तै द्वन्द्वकालसँग जोडिएको एउटा हत्याकाण्डको मुद्दा बहसमा आएको छ । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटामाथि मुद्दा चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा सहमति भएपछि उनलाई सभामुख बनाइएको हो । नेकपाका पार्टी महासचिव विष्णुप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सचिवालयलमा सर्वसम्मतिले निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया