काठमाडौँ । शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो । शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ ।
नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ । शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ ।
उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो । कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ । त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया