झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु-याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद दाहालले जानकारी दिनुभयो ।
कतिपय गर्भवती महिलामा चेतनाको कमी र आर्थिक अभाव हुँदा उहाँहरुले नियमित गर्भ जाँच नगराउने भएकाले नियमित गर्भ जाँच गराउन प्रोत्साहन दिँदै आर्थिक सहयोग गर्न लागिएको बताइएको छ ।
“प्रोत्साहन रकम लिने गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत दाहालले भन्नुभयो । आदिवासी समुदायको वाहुल्यता रहेको बाह्रदशी गाउँपालिकामा अझैं पनि चेतना अभावका कारण घरमै प्रसुति गराउने क्रम रहेको र त्यसलाई अन्त्य गर्दै स्वास्थ्य संस्था र अस्पतालमा मात्रै सुरक्षित रुपमा प्रसुति गराउन प्रोत्साहन दिने उद्देश्यले गाउँपालिकाले नयाँ योजना अघि सारेको दाहालको भनाइ छ ।
यहाँका गर्भवती महिलाले वडाको सिफारिसमा नजिकै रहेका स्वास्थ्य संस्थाबाट यो सेवा लिन सक्ने भएका छन् ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया