काठमाडौं । सानोमा हजुरबाले सुस्ताउँदै भन्ने गर्नुहुन्थ्यो, “आगोले खाएको वन र ढुङ्गामाटाले खाएको ज्यान सधैँ कमजोर हुन्छ”। त्यसको अर्थ जतिबेलासम्म उहाँले भन्नुुहुन्थ्यो त्यतिबेला मैले मेसो पाएको थिइन । अहिले बल्ल त्यसको केही मेसो पाउँदैछु । र अर्काे भनाइ आफैँले थपेको पनि छु, आगोले खाएको वन, ढुङ्गामाटाले खाएको ज्यान र भष्ट्राचारले गलाएको मुलुक सधैँ कमजोर हुने गर्दछ ।
कुनै पनि काम गर्दा त्यसमा राखिएको दृश्य वा अदृश्य खराब आचरणलाई हामी भष्ट्राचार भनि परिभाषित गर्छौ । कानुन तथा नैतिकतालाई मिचेर लाभ लिने वा दिने कार्य नै भष्ट्राचार हो । तथा खराब आचरण राखेर कुनैपनि काममा आर्थिक लाभ लिने वा नैतिकता विपरीत कामहरु गर्नु नै भ्रष्ट्राचारको एक नमुना हो । नेपालको कानूनले भष्ट्राचारको नमुनालाई विभिन्न आधारमा छुट्याएको छ । आर्थिक, नैतिक, सामाजिक, नीतिगत, राजनीतिक तथा पहिचान नगरिएको यावत नमुनाहरु प्रस्तुत गर्न सकिन्छ ।
भनिन्छ, भष्ट्राचारीको कुनै जात, धर्म, पेशा, लिंग, दल तथा पहिचान मिश्रित हुँदैन । जहाँ र जस्तो ठाँउमा पनि त्यसको उदय हुन सक्छ । हामी देख्दै आएका छाँै । राजनीतिक नेता देखी, कुनै अड्डाका पियन सम्म यसको नमुना बन्ने गरेका छन् । भने शिक्षक देखि कर्मचारी र स्वयम भष्ट्राचार निवारण गर्ने ठुला संस्थामा आवद्ध व्यक्तिहरुनै भष्ट्राचारको बिल्ला भिरेर कानूनी कठघरामा उभिएका उदाहरण प्रशस्त मात्रामा रहेका छन् । तर हामीमा भने आर्थिक पाटोसँग जोडिएमा मात्र भष्ट्राचार भनिने गरिनाले भष्ट्राचारको परिभाषा साँघुरो हुँदै गएको छ ।
के एउटा कर्मचारीले आफ्नो कार्यालय समयमा काम छल्नु भष्ट्राचार होइन ? के एउटा व्यक्तिले अर्काे व्यक्तिको विना कारण व्यक्तित्वमा पारेको असर तथा बौद्धिक सम्पतीमा गरिएको चोरी भष्ट्राचारको नमुना होइन ? त्यसैले हरेक क्षेत्र तथा काममा नैतिक आचरण गलत बनाएको अवस्थालाई भष्ट्राचारको रुपमा हेरिनुपर्दछ ।
नेपालमा भष्ट्राचारको इतिहास लामो छ । तलदेखी माथिसम्म र माथिदेखी तलसम्मको तहगत भष्ट्राचारबाट नेपालको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचारमा शून्य सहनशिलता लागू गर्छु त भनेका छन् । तर त्यसको कार्यान्वयनको पाटो फितलो बन्दा यसले उचित व्यवस्थापन तिर लागू गर्न सकिरहेको छैन ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल एक भ्रष्ट्राचार निवारण सम्बन्धी एक गैरसरकारी तथा गैरनाफामूलक संस्था हो । यसले नेपाल लगायतका विश्वका १८० भन्दा मुलुकमा भ्रष्ट्राचार विरुद्ध लढने गर्दछ । हरेक वर्ष भ्रष्ट्राचारको आंकडा निकाली भ्रष्ट्राचारबाट हुने फौजदारी कामहरुबाट बचावट गर्ने काम गर्दछ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गत बिहीवार सार्वजनिक गरेको करप्सन प्रसेप्सन इन्डेक्स सीपीआई २०१९ को सर्वेक्षण रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार गर्ने देशहरुमा १ सय ८० देशमध्ये १ सय १३ औँ स्थानमा रहेको छ ।
भने सन् २०१८ मा नेपाल ३१ अंकसहित १ सय २४ औँ स्थानमा रहेको थियो । भने २०१९ मा २०१८ मा भन्दा ३ अंक बढि प्राप्त गरि ३४ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीले विश्वका विभिन्न १ सय ८० मुलुकको भ्रष्ट्राचारको सर्वेक्षण गरेको थियो । जसमध्ये नेपाल सबैभन्दा धेरै भष्ट्राचार हुने मुलुकको सूचीमा २० औँ स्थानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा केही सुधार देखिएपनि व्याप्त रहेको मुलुकबाट भने उक्लिन सकेको छैन । भष्ट्राचार नियन्त्रण साथै सुशासनको लागि राज्यको मूख्य अंगको रुपमा रहेको अख्तियार दुरुपयोग आयोग आफैँ त्यस्ता व्यक्तिहरुलाई वरीपरि राखेर काम गरिरहेको छ ।
यो लेखकको मनोवाद होईन । इतिहासलाई हेर्ने हो भने अख्तियारको आयुक्त जस्तो पदमा बसेका व्यक्तिहरुनै भष्ट्राचारको योजनाकारका रुपमा मुद्धा झेलिरहेका छन् भने उनीहरुले कस्तो किसिमको अभियान चलाउन सक्लान् ? त्यसरी रक्षक नै भक्षक भैदिएको कारण कर्मचारी तन्त्रमा नै प्रश्न चिन्ह खडा गरेको छ । जसको कारण हरेक सरकारी कर्मचारी आफूले गल्ति नगरेपनि भ्रष्ट्राचारीको बिल्ला भिर्न बाध्य छन् ।
नेपाली राजनीतिक इतिहासमा नै पहिलो पटक झण्डै दुइतिहाइको सरकार निर्माण भएको छ । राजनीतिक स्थिरतासहित बहुमत पाएको सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली रहेको छ । भने योजना भष्ट्राचारमा शून्य सहनशिलता । बहुमत प्राप्त सरकार निर्माण भएको पनि २ वर्ष पुगिसकेको छ । तर नेपालीको सुखीपन र समृद्धिको मार्ग कताबाट प्रशस्त गरियो त ? भ्रष्ट्राचारको शून्य सहनशिलता कता छ त ? हरेक नेपालीहरुको प्रश्न र धारेहात सरकारतिर तेर्सिरहेको छ ।
नेपालमा निजामति सेवालाई व्यवसायको रुपमा हेर्नेहरुका लागि भष्ट्राचार प्रतिष्पर्धा जस्तै बनेको छ । यसरी दिनहुँ भ्रष्ट्राचारका समाचार तथा सूचनाले स्वच्छ छवि भएका कर्मचारीहरुको मनोवलमा गिरावट समेत आइरहेको छ । विकास निर्माणका योजनादेखि सरकारी कार्यालयसम्म छ भ्रष्ट्राचार। सामान्य बजारदेखी ठूला व्यापारीक सञ्जालसम्म भ्रष्ट्राचारले दुगन्र्धित बनाउँदै लगेको छ । चारैतिर भ्रष्ट्राचारको बर्काे ओढेर के सरकारले समृद्धिको गन्तव्यसम्म पुग्न सक्ला ?
भ्रष्ट्राचार दिनरात मौलाउनुको कारण मानिसहरुको आ आफ्नै तर्क वितर्कहरु छन् । कतिपयले भने यसको मूख्य कारणका रुपमा संघियतालाई हेर्न थालेका छन् । मानिसमा भ्रष्ट्राचारी सोच ल्याउने आधारहरु नै भ्रष्ट्राचारको मुख्य कारण हो । मुख्य भ्रष्ट्राचारलाई आन्तरिक र बाह्य कारणले प्रोत्साहन गरिरहेको छ । मानिसहरुमा नैतिक आचरणको कमि तथा महत्वकांक्षी जीवनशैलीलाइ महत्व दिनाको कारणबाट नै भ्रष्ट्राचारको जन्म भएको हुन्छ । भने भ्रष्ट्राचारलाई स्वयम समाजले नै प्रशय दिइरहेको छ । समाजले कुनैपनि मानिसको सम्पतीको स्रोत भन्दा स्वरुपलाई महत्व दिने गरेका कारण पनि भ्रष्ट्राचार मौलाइरहेको छ । ऐन नियमहरु नभएका होइनन् तर त्यसको कार्यान्वयनको पाटो फितलो हुुनु, राजनीति नेतृत्व नै भ्रष्ट्राचारमा लुप्त मानिसहरुलाई बचाउन लाग्नुले पनि संस्थागत रुपमा नै यो जडकिएर रहेको पाइन्छ ।
विश्व परिवेशलाई हेर्ने हो भने भ्रष्ट्राचारबाट बाहेक हुन कुनै पनि देश सकेको छैन् । भ्रष्ट्राचारको श्रृङ्खला अत्याधिक रहेको देशहरुको आर्थिक अवस्था नाजुक तथा दयानिय रहेका छन् । भने भ्रष्ट्राचारलाई राज्यको नियन्त्रणमा पार्न सकेका राष्ट्रहरुले भने आर्थिक प्रगतिको मार्ग पहिल्याउन सकेका छन् ।
अर्थतन्त्रलाई कुनैपनि राष्ट्रलाई विकसित बनाउने मुख्य आधारको रुपमा हेर्ने गरिन्छ । तर नेपालमा व्याप्त रहेको भ्रष्ट्राचारका कारण राष्ट्रिय अर्थतन्त्रलाई पछाडी धकेलिरहेको छ । कुनैपनि देश समृद्ध बन्नका लागि राष्ट्र तथा राजनीति सक्षम हुनुपर्दछ । विश्वका आर्थिक रुपले कम विकसित मूलुकहरु देशमा भएका भ्रष्ट्राचारको कारण राष्ट्रिय राजनीतिले समेत निवारण गर्न सकिरहेको छैन । नेपालको वर्तमान अवस्था पनि त्यस्तै किसिमको रहेको छ ।
जसका कारण राज्य भन्दा व्यक्तिको विकास मात्र हुने देखिन्छ । जसको ज्वलन्त उदाहरणको रुपमा अफ्रिकाको एक महिलालाई लिन सकिन्छ । एसाबेल डोस सान्तोस भ्रष्ट्राचार गरेरै धनि बनेको समाचार सञ्चार माध्ययममा आइरहेको छ । उनलाई उनका पिता राष्ट्रपति भएको बखतमा राष्ट्रिइ कारोबारमा सामेल गराइएको थियो । जसको कारण उनले राज्यको सम्पती आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । हो यसरी उच्च राजनीतिक ओहदाका व्यक्तिहरुमा परिवारबाद हावी हुने कारणबाट पनि भ्रष्ट्राचार मौलाइरहेको छ । नेता तथा उच्च ओहदाका व्यक्तिहरुले यसरी आफ्नो मानिसहरुलाई छुटकारा दिएसँगै व्यक्तिले मात्र छुट्कारा पाउँदैन कि कानूनमा समेत लचिलो पन आउँदछ ।
हो, नेपाललाई पनि त्यहि राजनीतिले भ्रष्ट्रचारको छत्रछायाले छपक्कै छोपेका कारण भ्रष्ट्राचार मौलाएको हो र जसका कारण देशको सरकारले लिएको समृद्धिको सपना सपनामा मात्र सिमित रहनुपर्ने भएको हो ।
के भ्रष्ट्राचार समाधान गर्नै नसक्ने समस्या हो त ? पक्कै होइन । त्यसका लागि सर्वप्रथम मानिस स्वविवेकी बन्नुपर्ने देखिन्छ । यदि मानिस स्वविवेकी बन्न सकेनन् भने जतिसुकै कडा कानून भए पनि व्यक्ति सकिएर जान्छ तर प्रवृति भने ज्यूँ का त्यूँ रहिरहन्छ । कर्मचारीलाई राज्यको गहनाको रुपमा हेर्ने गरिन्छ । तर नेपालमा आम मानिसहरु भने सरकारी कर्मचारी भन्ने वित्तीकै नाक खुम्च्याउने अवस्था सिर्जना भइसकेको छ । आम मानिसहरुले मात्र नभएर नेता तथा मन्त्रीहरुबाट नै कर्मचारी प्रति भ्रष्ट्राचारको व्यङ्ग्य बाण हान्ने गरेका छन् । के सबै कर्मचारी त्यस्ता छन त ? छैनन् । तर राम्रा र नराम्रालाई एकै ठाँउमा राखेर हेरिनुले समस्या समस्याको रुपमा मात्र रहेर समाधानको बाटोमा जान नसकेको हो ।
नेपाल लगायतका देशहरुमा भ्रष्ट्राचार नियन्त्रणको लागि अभियानहरु चलिरहेका छन् । साथै राज्यका तर्फबाट पनि प्रयासहरु भने नभएका होइनन् । भ्रष्ट्राचार घट्नुको साटो झन झन बढ्दै गइरहेको छ । हरेक क्षेत्रमा जिम्मेवार राज्य संयन्त्र तथा राजनीतिक दलहरु देखिन्छन् । राजनीतिक दल तथा राज्यको आफ्नोपन तथा पक्षपाती व्यवहारका कारण भ्रष्ट्राचारले गति पाएको देखिन्छ । तथा नेपालका न्याय तथा प्रशासन स्वतन्त्र तथा पारदर्शी बन्न तथा बनाइन नसक्नुमा राजनीतिक नेतृत्वको हात ठुलो रहेको छ । त्यसको उपज भ्रष्ट्राचार निर्मुल नहुनुले देखाउँछ ।
अन्त्यमा, गम्भिर प्रकृतिको सामाजिक तथा आर्थिक अपराध नै भ्रष्ट्राचार हो । यसले समाजलाई क्षयिकरणको मार्गमा लैजान उद्धत गराउँदछ । त्यसैले नेपाल मात्र नभएर विश्व समुदाय नै यसलाई निर्मुल पार्नका लागि लाग्नु पर्ने देखिन्छ । यसको मुख्य कानुनी प्रावधान भनेको शुन्य सहनशिलता नै हो । त्यतिमात्र नभएर त्यसको अन्त्यका लागि समाजमा भ्रष्ट्राचार बहिस्कार नीति अवलम्बन गर्ने, राज्यका स्थानिय देखि केन्द्रिय तहसम्म त्यसको निर्मुलीकरणको लागि कार्यक्रम तथा जनचेतना जगाउने, वित्तीय अनुशासनका कार्यक्रमका योजनाहरु ल्याउने आदी कामहरु गर्नाले समाजबाट भ्रष्ट्राचार केही हदसम्म निर्मूल हुन सक्नेछ । त्यस्तै भ्रष्ट्राचार नियन्त्रणका लागि नियामक निकायहरु वृृद्धि गर्ने तथा त्यसको नेतृत्व तहमा समेत असल र योग्य व्यक्ति खटाउने गर्नुपर्दछ । त्यसरी सरकारले राष्ट्र निर्माणका लागि लिएको उदेश्यलाई पूरा गर्नका लागि सर्वप्रथम भ्रष्ट्राचार निर्मुल बनाउने कार्यक्रमहरु ल्याउनु पर्दछ । जब सरकारले भ्रष्ट्राचार नियन्त्रण को अभियान चलाउन सक्दछ तबमात्र सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नाराले पुर्णता पाउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया