दीपक मनाङे ६ हजार धरौटीमा रिहा, मिलनलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं – गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भएका छन् ।

उनी गत बिहीबार पक्राउ परेका थिए । पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङबाट आएका खेलाडीको व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पनि झापड हान्ने धम्की दिएका थिए। जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बिहीबार मनाङे पक्राउ परेका थिए ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले यस्तो हर्कत गरेका थिए ।

उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।”

एन्फा कास्कीले प्रतियोगिताको टाइसिट बनाउँदा एन्फा मनाङका अध्यक्षलाई वास्ता नगरेको ,मुख्यमन्त्री कप भनेर आयोजना गरेको फुटबल प्रतियोगिता मुख्यमन्त्रीलाई नै थाहा नभएको र फोन गर्दा समेत नउठाएको बताउँदै उनले प्रतियोगिता देखेर आफूलाई लाज लागेको बताएका थिए ।

मनाङे मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । उनी गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि बैंक ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई ७ दिन थुनामा राख्न अनुमति दिइएको छ । (फाईल फोटो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?