बग्दादस्थित अमेरिकी राजदूतावासमा तीनवटा रकेट प्रहार

काठमाडौं । इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा तीनवटा रकेट प्रहार भएको छ ।

एउटा रकेट खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको अन्तर्रास्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अर्को सञ्चारमाध्यमको स्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन् ।

दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ । कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन । तर अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो ।

६ दिन अघिमात्र बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको थियो । रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको भनिएको थियो । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो । रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो ।

इराकी प्रधानमन्त्रीले रकेट हमलाको निन्दा गरेका छन् । अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए ।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना कूटनीतिक सेवाको सुरक्षाको निम्ति इराकको सरकारलाई दायित्व पूरा गर्न आग्रह गरेको जनाएको छ ।बग्दादको सुरक्षित मानिने ग्रीन जोन वा अन्तर्राष्ट्रिय निकायहरू भएका क्षेत्रमा रकेट आक्रमण भइरहन्छ । लामो समययता पहिलो पटक रकेटको निसानामा अमेरिकी दूतावास परेको छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् : बग्दादको ग्रीन जोन क्षेत्रमा तीन रकेट प्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?