‘हामी उनीहरुलाई आफ्नो गोपनियता सुम्पिन्छौं र उनीहरु त्यसैको फाइदा उठाउँछन्,’ एडवार्ड आर्मस्ट्रङ, बेलायतका एक कपीराइटर भन्छन् ।
उनले गुगल र फेसबुक प्रयोग गर्न छाडेका छन् । बरु त्यसको सट्टा अन्य साना तर, गोपनियता कायम गर्ने किसिमका सर्च इन्जिन र सामाजिक सञ्जालको प्रयोग गर्छन् ।
‘गुगल, फेसबुकजस्ता सर्वव्यापी सेवा प्रवाहीसँग मलाई डर लाग्छ,’ उनी भन्छन्, ‘हामीलाई सबैथोक सजिलो, निःशुल्कजस्तो भ्रममा पारेर हाम्रै तथ्याङ्क र गोपनियताको दुरुपयोग भइरहेको हुन्छ ।’
तपाईले अहिलेसम्म खोजेको हरेक कुराको विवरण गुगलसँग हुनु भनेको तपाईको रुचि, कमजोरी, शक्ति लगायत तपाईका नितान्त व्यक्तिगत कुरा उसलाई थाहा हुनु हो । त्यस्तै, फेसबुकलाई पनि तपाईका साथीभाइ, तपाईलाई मनपर्ने, मन नपर्ने वस्तु लगायत तपाईले अनलाइनमार्फत् बोलेका कुराहरु समेत थाहा हुन्छ ।
वेलावेला चर्चामा आइरहने ‘अनलाइन डाटा स्क्यान्डल’ले पनि सूचनाको कति शक्ति हुन्छ भन्ने कुरा पुष्टि गर्दै आएको छ ।
फेसबुकले प्रयोगकर्ताहरुको सूचना दुरुपयोग गरेकै कारण ५ बिलियन डलर्स जरिवाना तिर्नु परेको छ । उपभोक्ताको गोपनियता उल्लङ्घन गरेको आरोपमा लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो यो ।
अमेरिकामा अघिल्लो वर्ष गरिएको एक अनुसन्धान अनुसार हरेक ५ उत्तरदातामध्ये ३ जनाले सामाजिक सञ्जालले आफ्नो गोपनियतालाई सुरक्षित नराखेको प्रतिक्रिया दिएका थिए ।
यही अविश्वसनियतालाई कसैले भने अवसरका रुपमा लिइरहेका छन् ।
के यस्तो ‘सर्च इन्जिन’को माग भइरहेको छ जसले तथ्याङ्क भण्डारन नगरोस् ?
प्रभावकारी नतिजा र कम स्प्याम अर्थात् थोरै ‘विद्युतीय फोहोर’ को उद्देश्यले गेब्रियल वेइनवर्गले सन् २००८ मा ‘डकडक गो’ स्थापना गरे ।
‘डकडक गो’ पनि गुगलजस्तै एक सर्च इन्जिन हो जहाँ प्रयोगकर्ताले दैनिक ५० मिलियन भन्दा बढी खोजीहरु गर्छन् । तर, यसको गोपनियता सम्बन्धि नीति उपभोक्तामुखी छ र, यसले गुगलजस्तो प्रयोगकर्ताको व्यक्तिगत विवरण भण्डारन गर्ने वा अरुसँग बाँड्ने गर्दैन ।
‘हामीले इन्टरनेटमा अत्यन्तै व्यक्तिगत कुराहरु हेरेका हुन्छौं, खोजेका हुन्छौं जस्तै आर्थिक पक्षसँग, स्वास्थ्यसँग, आफ्ना रुचिसँग सम्बन्धित कुराहरु र यस्ता जानकारीहरु व्यक्तिगत नै रहनुपर्छ, अरु उद्देश्यले प्रयोग गरिनु हुन्न,’ कम्पनीका सञ्चार व्यवस्थापक डेनियल डेभिस भन्छन् । उनी अगाडि थप्छन्, ‘त्यसैले डकडक गो ले प्रयोगकर्ताले जान्न चाहेको विषयसँग सम्बन्धित नतिजा विभिन्न स्रोतबाट भेला पारिदिन्छ तर, त्यसको हिस्ट्री र प्रयोगकर्ताको प्रोफाइलको बारेमा कुनै जानकारी पनि स्टोर गर्दैन ।’
प्रयोगकर्ताहरुको गोपनियतालाई मध्यनजर गर्दै डकडक गोले ‘थर्ड पार्टी ट्र्याकिङ’लाई पनि निष्क्रिय बनाइदिन्छ । अर्थात्, प्रयोगकर्ताले खोलेको कुनै साइट वा उसले हेरेका सामाग्री, खोजेका नतिजा आदिका बारेमा कुनै ‘तेस्रो’ ईकाइले जान्न वा हस्तक्षेप गर्न पाउँदैन ।
डकडक गो निःशुल्क प्रयोग गर्न सकिन्छ । यसले विज्ञापन मार्फत् कमाउँछ । तर, यहाँ दिइने विज्ञापन प्रयोगकर्ताले खोजेका विषयसँग वा उसको इन्टरनेट गतिविधिलाई मध्यनजर गर्दै दिइएको हुँदैन ।
‘यदि तपाईले गाडीको बारेमा खोजिरहनु भएको छ भने स्क्रिनमा गाडीको विज्ञापन देखाउनसक्छ तर, त्यो विज्ञापन तपाईले अगाडि खोजेका वा खोजिरहनुभएका कुरासँग सम्बन्धित हुँदैन ।’
‘इन्टरनेट प्रयोग गर्न कोही पनि डराउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ डेभिस भन्छन्, ‘हामीले नयाँ प्रयोग थालेका छौं अरुले पनि यही बाटो पछ्याउन् भन्ने आशा छ ।’
त्यस्तै, सुरक्षित मेल आदनप्रदानका लागि प्रोटोनमेल विश्वकै सर्वाधिक प्रयोगकर्ता भएको सेवा प्रवाही बनेको छ । अहिले विश्वभरिका २० मिलियन व्यक्तिले यसको प्रयोग गरिरहेका छन् ।
प्रोटोनमेलका अकाउन्ट स्वतः ‘इन्क्रिप्ट’ हुन्छ अर्थात् त्यस अकाउन्टबाट पठाइएको मेल पठाउने र पाउने व्यक्तिबाहेक अरुले हेर्न मिल्दैन ।
‘हाम्रो सर्भरसम्म पुग्नुभन्दा अगाडि नै मेल ‘इन्क्रिप्ट’ भइसकेको हुन्छ त्यसैले हामीले पनि उक्त मेल पढ्न पाउँदैनौं,’ कम्पनीका संस्थापक एण्डी येन भन्छन् ।
‘सर्भर नै ह्याक भयो भने पनि ह्याकरले कुनै सूचना पाउन सक्दैन किनकी सर्भरमा कुनै सूचना नै स्टोर हुँदैन ।’
प्रोटोनमेल पनि प्रयोगकर्ताका लागि निःशुल्क छ । तर, सेवा अपग्रेड गर्न वा भण्डारन क्षमता थप्नका निमित्त भने शुल्क लाग्छ । कम्पनीको कमाइ यसैबाट हुन्छ ।
‘केही वर्ष यता हाम्रो विश्वसनीयता बढेको छ विशेषतः आफ्ना गोप्य सूचना तथा जानकारीहरुको चुहावट बाट दिक्क भएका जनता वा ससाना कम्पनीहरुले हाम्रो सुविधालार्ई मनपराइ दिनुभएको छ,’ येन खुसी हुँदै सुनाउँछन् ।
यस्तै सुरक्षित ब्राउजिङ सेवाका लागि ‘ब्रेभ’ नामक ब्राउजर पनि निकै लोकप्रिय बन्दै गएको छ आजभोलि । ब्रेभले ‘ट्र्याकिङ’ र ‘प्रोफाइलिङ’ दुवैलाई निषेध गरेको छ । यसको अर्थ प्रयोगकर्ताको गतिविधि ‘तेस्रो’ व्यक्ति वा ईकाइले थाहा पाउन सक्दैन ।
ब्रेभका अनुसार उसका मासिक प्रयोगकर्ताको सङ्ख्या ८.७ मिलियन रहेको छ । कम्पनीका प्रमुख उत्पादन अधिकारी डेभिड टेम्किन भन्छन्, ‘इन्टरनेट सेवा प्रदायक कम्पनीले निगरानी गरेरै अर्बौं कमाइरहेको थाहा पाएपछि प्रयोगकर्ताले आफै ब्रेभजस्ता सुरक्षित ब्राउजर प्रयोग गर्न थाल्ने छन् ।’
एकातिर सूचना तथा जानकारीहरु चुहाएको आरोपमा वेलावेला विवादमा मुछिइरहने फेसबुकका प्रयोगकर्ताहरु दिनानुदिन बढिरहेका छन् । समाजमा छाप पारिसकेका सामाजिक सञ्जाल तथा सर्च इन्जिनहरुको प्रयोगमा एक्कासी गिरावट आउन मुस्किल नै छ ।
आफ्नै साथीहरु पनि तिनै सर्च इन्जिन, ब्राउजर र सामाजिक सञ्जाल चलाउनमै खुसी भएको गुनासो पोख्छन् आर्मस्ट्रङ ।
भन्छन्, ‘तर, म जिमेल को सट्टा प्रोटोन मेल चलाउँछु, गुगलको सट्टा डकडक गो, क्रोमको सट्टा फायर फक्स र वाट्स एपको सट्टा सिग्नल प्रयोग गर्छु ।’
‘साथीहरु यस्तो कुराको वास्तै गर्दैनन् उनीहरुलाई फेसबुक, वाट्स एप नै ठिक लाग्छ तर, हुँदाहुँदा मेरी प्रेमिकासमेत मसँग कुरा गर्न सुरक्षित माध्यम प्रयोग गरेपनि आफ्ना साथीसँग वाट्स एपमै च्याट गर्छिन्,’ आर्मस्ट्रङ थप्छन् ।
उनका अनुसार यस विषयमा मान्छेको विचारधारा परिवर्तन हुन केही समय लाग्छ । तर, ढिलोचाँडो परिवर्तन हुने कुरामा उनी आशावादी छन् ।
(एजेन्सीको सहयोगमा)
लोकपथमा यसअघि प्रकाशित समाचार पढ्नुभएको थियो ?
आर्यघाटमा शव जलाउने ‘घाटे बाजे’ को कथा – आखिर भोलि म पनि यसरी नै जल्नु छ
भक्तपुरकी महिला सिडिओ जसका लागि ससुराबुबाको त्यो वाक्य ‘टर्निङ प्वाइन्ट’ बन्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया