सहिद दिवसः शब्दमार्फत काँग्रेस नेता केसीले यसरी गरे सहिदहरुको सम्मान

काठमाडौँ । काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार परेको सहिद दिवसको अवसरमा फेसबुकमा लामो स्टाटस लेख्दै केसीले सहिद राष्ट्रिय संकल्प, प्रेरणा, चेतना र मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

तर सहिद सप्ताहको अन्तिम दिन बिहीबार राज्यले सहिद दिवस मनाउने जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको प्रति उनले असन्तुष्टि जनाएका छन् ।
उनले भनेका छन्, ‘ के सहिद एउटा महानगरपालिकाका मात्र हुन् ? काठमाडौँका मात्र हुन् ? सरकारले यस दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने प्रबन्ध गर्नुपर्छ । सहिदले जुन संकल्पका लागि स्वयंलाई बलिवेदीमा चढाएका थिए त्यसप्रति समग्र राष्ट्रले नै कृतज्ञताका साथ सहिद दिवसलाई प्रेरणा दिवसको रुपमा मनाउनु पर्छ ।’

सहिदले देखेको सपना र आजको राष्ट्रिय परिवेशमा हामी कहाँ कहाँ चुकेका छौं भन्नेबारे पनि गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् ।

सहिदप्रति भावपूर्ण श्रद्धासुमन

सहिद राष्ट्रको पहिचान, राष्ट्रिय स्वाभिमान, वीरता र पौरखको जिवन्त प्रतिक हो । सहिद निर्जिव शालिक होइन मात्र ,राष्ट्रको सार्थक सपना र साझा लक्ष हो । सहिद इतिहास मात्र होइन उनीहरूकै काखको वर्तमान पनि हो । बीपीले ‘द्विविधामा परे देशको एक मुठी माटो हातमा लिनु र सहिदलाई सम्झेर सोच्नु….’ नसोची भन्नुभएको होइन, सहिद राष्ट्रिय संकल्प, प्रेरणा, चेतना र मार्गदर्शन हो ।

दीर्घकालीन लोकतान्त्रिक आन्दोलनमा हजारौँ स्वाभिमानी नागरिकहरूबाट जीवन, रगत र सुखको बलिदान भयो र त्यही बलिदानबाट सयौँ महान सहिद जन्मिए ।

पं. शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द, गंगालाल देश र जनताको सर्वोत्तम हितको लक्षमा निस्वार्थ रुपमा आफ्नो जीवन आहुती दिएका महान सहिद हुन् । त्यसभन्दा अघि लखन थापा, मैनाबहादुर खत्री, खण्डमान सिंह, सुब्बा कृष्णलाल आदि सहिद भए ।

२००७ सालको जनक्रान्तिको पहिलो सहिद थीरबम मल्ल, भोगेन्द्रमान सिंह लगायत धेरै सहिद जन्मिए । पञ्चायतकालमा नेपाली काँग्रेसका नेताहरू योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोईराला, तेजबहादुर अमात्य सहिद हुनुभएको हो । हामी सबैको लामो समयको मागपछि सरकारले १९ फागुन २०७२ मा भीमनारायण श्रेष्ठ, क्या. यज्ञबहादुर थापा, दुर्गानन्द झा, शम्शेरबहादुर खत्री, ठगीनाथ दाहाल, राम उपाध्याय, लक्ष्मण उपाध्याय, हरि नेपाल, भीमदत्त पन्त, चन्द्रबहादुर पुरी, चन्द्र डाँगीसहितका २२ जनालाई शहिद घोषणाको स्वागतयोग्य काम ग¥यो । यसमा कम्युनिस्टको झापा आन्दोलनको विषयलाई लिएर राजनीतिक कारणमा मारिएका नेताहरूलाई पनि सहिद घोषणा गरियो ।

सहिद सप्ताह (१०–१६) को अन्तिम दिन भोलि माघ १६ गते, सहिद दिवस । तर देशले यो महान दिवस मनाउने जिम्मा काठमाडौँ महानगरपालिकालाई जिम्मा लगाएको छ । के शहिद एउटा महानगरपालिकाका मात्र हुन् ? काठमाडौँका मात्र हुन् ? सरकारले यस दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने प्रबन्ध गर्नुपर्छ । सहिदले जुन संकल्पका लागि स्वयंलाई बलिवेदीमा चढाएका थिए त्यसप्रति समग्र राष्ट्रले नै कृतज्ञताका साथ सहिद दिवसलाई प्रेरणा दिवसको रुपमा मनाउनु पर्छ ।
सहिद ले देखेको सपना र आज को राष्ट्रिय परिवेश मा हामी कहाँ कहाँ चुकेका छौं र किन ? यसको कारक पक्ष खोतल्नु र सुधार गर्नु नै वास्तव मा सहिद प्रति सच्चा श्रदधाञ्जलि हुनेछ।
राष्ट्रका महान सहिद जसप्रति हाम्रो गौरव र कृतज्ञता छ, र अन्य ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति म भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?