काठमाडौं । छिमेकी मुलुक चीनमा सुरु भएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७० पुगेको छ । निमोनियाको जस्तो लक्षण देखिने कोरोना भाइरसबाट चीनका सबै प्रान्तका बासिन्दा प्रभावित भएका छन् ।
चीनको वुहानबाट सुरु भएको यो भाइरस हाल १६ देशमा फैलिइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओले पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ । कोरोना भाइरसको फैलावट रोक्न मिलेर काम गर्न पनि डब्लुएचओले विश्व समुदायलाई समेत आह्वान गरेको छ ।
कोरोना भाइरसले विश्वव्यापी समस्या निम्त्याएपछि बिहीबार डब्लुएचओको आपतकालीन बैठक बस्दै छ । यो बैठकमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा छलफल हुने बीबीसीले जनाएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले कोरोना भाइरसबाट संक्रमितको संख्या चीन बाहिर थोरै भए पनि यो संख्या बढ्ने सम्भावना रहेको बताएका छन् ।
सन् २०१२ मा चीनमा फैलिएको सार्स भाइरसको संक्रमणका कारण ७७४ जनाको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया