प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।

चार शहीदको पूर्णकदको शालिक निर्माण

कामपाले चार शहीदको पूर्णकदको सालिक प्रतिस्थापन गरेको छ । राणा शासन विरुद्धमा लागेको भन्दै विसं १९९७ मा मृत्युदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक निर्माण गरिएको हो ।

गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । यस वर्ष तीन जना शहीदको शालिक प्रतिस्थापन गरिएको हो । सबै शहीदको शालिक महेश तुलाधरले निर्माण गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?