कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १३ पुग्यो, डब्ल्यूएचओद्वारा संकटकाल घोषणा

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ। हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो। त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ। बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन्।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?