काठमाडौँ । दाइजो प्रथालाई सामाजिक आडम्बरको रुपमा हेर्ने गरिन्छ । नेपालमा दाइजो लिने दिने प्रचलनलाई कानुनी रुपमा सजाय हुने स्पष्ट रुपमा व्यवस्था गरिएको छ । तर त्यति हुँदा हुँदैपनि दाइजो कै कारण महिलाहरु माथि हिंसाका घटना दिनानुदिन आइरहेका छन् ।
महिलालाई जिउँदै जलाउने, कुटपीट गर्ने, मानसिक यातना दिने, घरनिकाला गर्ने, आत्महत्या गर्न बाध्य बनाउने, परिवारबाट वेवास्ता गर्ने जस्ता घटनाहरु दिनप्रतिदिन सार्वजनिक भइरहेका छन् ।
दाइजोकै निहुँमा गरिएका त्यस्ता धेरै घटनाहरु छन् जसले हाम्रो आँङ नै सिरिङ्ग बनाउने गर्दछ । गत असोज महिनामा धनुषाकी प्रीति शाहलाई दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमान र ससुराले बारम्बार शारीरिक तथा मानसिक यातना दिएपछि सहन नसकी आत्महत्या गर्न बाध्य बनाइएको घटना होस् या ३ महिना अघि दाइजोको कारणले सासु र श्रीमानबाट मरणासन्न हुने गरी शारीरिक यातना खेप्न बाध्य बनाइएको वीरगञ्ज महानगरपालिकाकी रञ्जुदेवीको घटना किन नहोस् ।
यी र यस्ता घटनाहरु दाइजोको कारण महिला माथि भएका हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपालको सन्दर्भमा कुरा गर्दा तराई क्षेत्रमा यसको प्रभाव बढि देख्ने गरिन्छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनअनुसार पछिल्ला ६ महिनामा २९ जना महिलामाथि दाइजोको कारणले विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।
संकलन गरिएका जम्मा ७२४ वटा महिला हिंसाका घटनाहरु मध्ये २९ वटा दाइजोसम्बन्धी घटनामा १६ जना महिलामाथि दाइजोको कारण कुटपीट भएको, ५ जना महिलामाथि मानसिक हिंसा भएको र ४ जनालाई घरनिकाला गरिएको पाइएको छ । यस्तै २ जनाको हत्या, १ जनाको हत्या प्रयास र १ जना आत्महत्या गर्न बाध्य भएको पाइएको छ । पौष महिनामा मात्रै ११२ जना महिलामाथि हिंसा भएको पाइएको छ ।
यसरी संकलित घटनाहरुमध्ये सबैभन्दा धेरै ४९ प्रतिशत (५५ जना) महिलाहरुमाथि घरेलु हिंसा, १८ प्रतिशत (२० जना) यौन हिंसा, १० प्रतिशत (११ जना) सामाजिक हिंसा, सोही प्रतिशतमा ११ जना महिलाको हत्या, ८ प्रतिशत (९ जना) बेचविखन, २–२ प्रतिशत (३ जना र २ जना) आत्महत्या र हत्या प्रयास र १ प्रतिशत बेचविखनको प्रयासका घटनाहरु अभिलेखीकरण गरिएको संस्थाले जनाएको छ ।
दाइजो प्रथा समाजको एक नराम्रो प्रथाको नजिर नै बनेको छ । यसको निर्मुल पार्नका लागि विभिन्न सामाजिक संघ सस्थाहरुले बेला बेला अभियान चलाएको पाइन्छ । त्यतिमात्र नभएर सरकारले पनि त्यसलाइ रोकथाम गर्नका लागि बेला बेला अभियान चलाउने गरेको छ । त्यस्ता चेतनामुलक कार्यक्रमबाट केहि हदसम्म समस्याको हल भएपनि मानिस स्वयमको मानसिकता परिवर्तन हुनृपर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया