दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं । गोरखा, मकवानपुर, सुर्खेत, मोरङ र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका-१० छेपेटारमा रहेको गोरखकाली क्रसर उद्योग परिसरभित्र ग.१ ख ८०२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको शुक्रबार बिहान घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको बिषयलाई लिएर स्थानीयबासीले सोही स्थानमा २० वटा टिपर र ५ वटा जेसिबी तोडफोड गर्नुका साथै ठक्कर दिने टिपरमा आगजनी समेत गरेका थिए । आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित सडकमा ना.१ क ७००६ नम्बरको बसले ना.१ ह ६२९१ नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका अटोमा सवार सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने ३४ वर्षीय सागर पाख्रीनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा पनि लु.१ ख ७६७० नम्बरको ट्रक र भे.१ त ७५८९ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरका चालक सोही नगरपालिका-१२ बस्ने ३४ वर्षीय प्रेम कार्कीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बेलबारी नगरपालिका-५ कसेनीस्थित सडकमा को.२ प ६९२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मोरङ ग्रामथान गाउँपालिका-५ बस्ने २० वर्षीय राजकुमार सरदारको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कस्थित सडकमा स.१ च १००९ नम्बरको स्कार्पियो गाडी सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सप्तरी कन्चनरुप नगरपालिका-६ बस्ने ३३ वर्षीय सूर्यन्द्र नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडीका चालक सोही नगरपालिक बस्ने ३० वर्षीय महमद अफरोजलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?