फेसबुकमा गर्दै नगर्नुहोस् यस्ता गल्ती, ९६.८ प्रतिशत अपराध फेसबुकबाटै हुन्छन्

काठमाडौं- टिकटक, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, इमो, युट्युब तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपालीहरुले पनि धेरै मात्रामा प्रयोग गर्ने एपहरु हुन् । एक ठाउँबाट अर्को ठाउँमा तत्कालै सूचना आदनप्रदान गर्नको लागि औधी सहज माध्यम हो, सामाजिक सञ्जाल । यहि सञ्जालका कारण सिंगो विश्व सानो गाउँमा परिणत भएको छ । त्यसैले कतिपयको त हराएका आफन्तहरुलाई सम्पर्कमा ल्याउने चौतारो बनेको छ, सामाजिक सञ्जाल । यिनै सामाजिक सञ्जालको सदुपयोगले हजारौँको घरमा आगो बल्नेदेखि घरजम जोडिएको, बेसहारालाई सहारा मिलेको, विज्ञापन लगायतका काममा सहजता थपेको छ ।

तर यीनै सञ्जालको उचित प्रयोगको ज्ञान नहुँदा कल्पनै गर्न नसकिने दर्दनाक घटना भएका छन् । यी सञ्जालको दुरुपयोगले लाखौँको घरबार बिग्रिनुका साथसाथै अपराधले सिमा नाघेको छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण पति पत्नीबीचको मधुर सम्बन्ध बिग्रिनु मात्रै होईन सम्बन्ध बिच्छेद तथा हत्यासम्मका घटनाहरु बढीरहेका छन् । परिवार टुक्रिएको छ । समाज एकांकी बन्दै गएको छ । मानिसहरुले आत्महत्या गर्नसम्म पनि यहिँ सञ्जालमा लाईभमा आउने कुचेष्टा गरेका उदाहरण पनि हाम्रा सामू छ ।

सामाजिक सञ्जाल अहिले एक हिसाबमा मनोरोग जस्तै बनेको छ । विहान उठ्ने बित्तिकै मानिसहरुले सामाजिक सञ्जाल खोल्न पाएनन् भने अनुहारको बनावट नै बिगार्छन् । एकैछिन ईन्टरनेट नहुँदा उनीहरुको टाउको दुखाई हुन्छ । अनुहार मलिन देखिन्छ । मन विचलित हुने गर्छ । उनीहरु स्थिर भइरहन सक्दैनन् ।

यसो किन हुन्छ ?

हामीले मनोविश्लेषक बासु आचार्यसँग सोध्यौँ ।

उनीहरुका अनुसार मानिसहरु ब्ढ्दो प्रविधीको प्रयोग सँगसँगै यसको दलदलमा फस्दै गएका छन् ।

पढेलेखेका, बुझेका, देश काल, परिस्थितीबारे बताउन सक्नेहरु पनि यसरी कुचक्रमा फस्नुभनेको मानसिक रोग नै हो ।

मन वेचैनी हुने, स्थित हुन नसक्ने, एकोरीने, तलतल लागेजस्तो हुने फेसबुक लगायतका सञ्जालको लतले बिगारेको मनोदशा नै हो ।
यस्ता घटनाहरु बढ्नुमा जनचेतनाको कमी प्रमुख कारण रहेको प्रहरी बताउँछ । “अहिले सामाजिक सञ्जालका धेरै घटनाहरु दर्ता भएका छन्, जानकारी नमिलेको कारण अपराधका घटना बढिरहेका छन्, सामाजिक सञ्जालको प्रयोग गर्नुपूर्व त्यहाँ केहि टर्मस् एण्ड कन्डिसन भनेर दिईएको हुन्छ तर हामीलाई त्यो पढ्ने जाँगर छैन । कम्तिमा आफूले प्रयोग गरेको कुराबारे त थाहा पाऔँ । साईबरसम्बन्धी अपराध हेरिरहेका प्रहरी अधिकारी भन्छन्, सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो सामाजिक सञ्जालको मोबाइल नम्बर र इमेल आईडी अपडेट नगर्दा पनि यस्तो समस्या आउने गर्छ ।

लामो समय यिनै विषयलाई नजिकबाट नियालेका उनले प्रयोगकर्ताको ज्ञान र चेतनामा प्रश्न गर्दै भने, ‘अहिले सामाजिक सञ्जालमा रिकभरको लागि मोबाइल र इमेल अपडेट गर्ने व्यवस्था पनि छ तर धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यो ज्ञान नै छैन” उनले भने । अपडेट नगरेको खण्डमा आफ्नो सामाजिक सञ्जाल अरु कसैले दुरुपयोग गरेर फसिने अवस्था रहेको पनि उनले बताए ।

दैनिक ९ देखि १० वटा उजुरी
केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो ९ देखि १० वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६.८ प्रतिशत बढी अपराध फेसबुकमा भएको देखिएको छ ।

स्थापना भएको ९ महिनामा ब्यूरोमा फेसबुकका धेरै घटनाहरु दर्ता भएका छन् । यो महिनामा मात्र सामाजिक सञ्जाल फेसबुकमा १ सय ७९ वटा घटना केन्द्रीय साइबर अपराध ब्यूरो नेपालमा दर्ता भएको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए । फेसबुकमा बाहेक अन्यमा भने त्यति धेरै घटना नभएको उनले बताए । उनले भने— “आर्थिक वर्ष ०७५/०७६ को साउन यता सामाजिक सञ्जालबाट ८ सय १८ वटा अपराधका घटना दर्ता भएका छन् । जसमा १८ वर्ष कम उमेर समूहका ३७/ १८ भन्दा माथिको उमेर समुहका ७ सय ८१ वटा घटनाहरु महाशाखामा दर्ता भएका छन् ।”

सामाजिक सञ्जाल मार्फत महाशाखामा दर्ता भएका अपराधमा महिलाहरुको संख्या धेरै रहेको छ । गत साउन महिना यता महाशाखामा पुरुषका ३ सय २८ वटा घटना दर्ता हुँदा महिलाका ४ सय ७३ वटा घटना दर्ता भएका छन् । त्यस्तै अन्यका १७ वटा अपराधका घटनाहरु महाशाखामा दर्ता भएका छन् ।

कति भए सामाजिक सञ्जालमार्फत अपराध ?

पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरी समक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।

आर्थिक वर्ष २०७२/ ७३ मा सामाजिक सञ्जाल फेसबूकमा भएको अपराध १७ वटा, २०७३/ ०७४ मा २२ वटा, २०७४ /०७५ मा ५० वटा र २०७५ /०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा अपराध अनुुसन्धान महाशाखामा दर्ता भएका छन् । आर्थिक वर्ष २०७२/ ७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३ /०७४ मा १ वटा, २०७४ /०७५ मा २ वटा र ०७५ /०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।

तस्वीरःगूगल

सामाजिक सञ्जालको अर्को विद्रुप पाटो पनि छ ।

सामाजिक सञ्जालबाट मानिसहरुले आफ्नो गोपनीयता भंग भएसँगै आत्महत्या गरिरहेका छन् । सामाजिक सञ्जालले समाजमा सिर्जना गरेको अर्को बिकराल पाटो हो यो । गत असारमा ओखलढुंगाकी १६वर्षे गोमा कार्कीले सामाजिक सञ्जाल फेसबुककै कारण आत्महत्या गरिन् । उनको फोटो राखेर युवराज कार्की नाम गरेका व्यक्तिले सबैकी बुढी म नामक फेसबुक आइडी खोलेका थिए । युवराजले एकपक्षिय माया गर्ने गरेको र गोमाले अस्विकार गरेपछि उनले उनको फोटो राखेर बद्नाम गर्ने मनशाय बनाएको अनुसन्धानबाट खुल्यो । तर त्यतिन्जेलसम्म गोमाले प्राण त्यागीसकेकी थिईन् ।

तस्वीरःगूगल

केहि समयम अगाडी मोबाईलमा लाईभ आएर आत्महत्या गरेका घटना तथा फेसबुकमा स्टाटर राखेर आत्महत्या गरेका घटना पनि बाहिरीएका थिए ।

कानूनमा के छ ?

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा सामाजिक सञ्जालको दुरुपयोग गरेको अवस्थामा १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने वा अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ ऐनमा उल्लेख गरिएको छ ।

कानून बनेको भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता त्यसबारे बेखबर छन् । अझै पीडितले पिडकलाई पाउने सजायबारे थाहा नपाएर पनि आत्महत्या गरिरहेका छन् । थाहा पाएकाहरुले पनि त्यसलाई पालना गरेको पाईँदैन । त्यसैले सामाजिक सञ्जालको राम्रो ज्ञानविनाको प्रयोग आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको छ । सामाजिक सञ्जालको माध्यमबाट कसैलाई पनि गालीगलौज गर्ने, फोटोलाई बिगारेर अनर्थ लाग्ने बनाउने, अपशब्द लेख्नेजस्ता क्रियाकलाप कानूनत बर्जित कुरा हो ।

कसरी अपनाउने सावधानी ?

-बेडसिनको तस्विर नखिच्ने, नराख्ने ।

-फोटोसप गरिएका तस्विर अपलोड नगर्ने

-आफ्नो सामाजिक सञ्जाल अरुको डिभाईसमा नखोल्ने

-साईबरमा फेसबुक खोल्दा लगआउट गर्न नबिर्सने ।

-ह्याक भएमा तत्काल प्रहरीलाई खबर गर्ने अर्को माध्यमबाट जानकारी गराउने ।

-चिठ्ठा परेको उपहार प्राप्त गरेको भन्दै आएका फोन म्यासेज फोटामा चासो नदिने बरु प्रहरीलाई खबर गरेर अनुसन्धानमा सघाउने ।

-मोबाईल बनाउन दिँदा आफ्नो ग्यालरी लक गर्ने । सामाजिक सञ्जालमा लग आउट गर्ने ।

-सकेसम्म फोन गर्नको अलावा अर्को व्यक्तिलाई आफ्नो डिभाईस प्रयोग गर्न नदिने ।

-सामाजिक सञ्जालबाट आफ्ना प्राईभेट कुराहरु सेयर नगर्ने ।

-बाहिर जाँदै गरेको कुरा फेसबुकमा जानकारी नदिने ।

-धेरै समय सामाजिक सञ्जालमा नबस्ने ।

-नचिनेको, प्रोफाईल नक्कली भएको, फेक आईडीबारे जानकार हुने ।

-अपरिचित मान्छेसँग सामाजिक सञ्जालबाट कुरा गर्ने नाता गाँस्ने नजिक हुने भेट्न जाने नगर्ने । यदि यसो गर्नैपरेमा अभिभावकलाई साथीलाई साथमा लिएर गर्ने ।

-सामाजिक सञ्जालमा खर्च गर्ने समय आर्ट, पेन्टिङ, समाजसेवा, सरसफाई, अध्ययन, घुमफिर, लाईब्रेरी जाने, खोजका किताब पढ्ने, पत्रपत्रिका पढ्ने, नियमित हेल्थ चेकअप, परिवारमा सरसहयोग, बालबालिका बृद्धबृद्धाको हेरचाह गर्ने ।

-तपाई यति वर्षमा मर्नुहुनेछ, तपाईको अनुहार १० वर्षमा यस्तो देखिनेछ जस्ता एपहरुमा आफ्नो सामाजिक सञ्जाललाई कनेक्ट नगर्नुहोस् ।

-कुनैपनि लिंक खोल्दा तपाईलाई सामाजिक सञ्जाल रिकनेक्ट गर्ने अप्सन आयोभने ब्याक भएर सोच्नुहोस् ।

-यो भिडियो तपाईको हो ? भन्दै आएका लिंक क्लिक गर्दा धेरैको फेसबुक ह्याक भएको छ । त्यसकारण त्यस्ता लिंक नखोल्नुहोस् ।

-सकारात्मक सोँच राख्ने ।

यो सोच्नुहोस् सिसाको महलमा बसेर बाहिर ढुंगा हान्नु भनेको आकाशतर्फ फर्केर थुक्ने जस्तै हो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारी सामाजिक सञ्जालबाट भएका यी दुर्घटनाका विषयलाई लिएर आफैँ अचम्मित भएका प्रशस्तै उदाहरण छन् ।

यो पनि 

गोपनीयता अरुलाई नसुम्पेको राम्रो : ‘टिकटक’ बाट हुनसक्छन् यस्ता नोक्सानी

काठमाडौं टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।
कतै घुम्न जादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।

नेपालमा टिकटकको ट्रेण्ड पहिला फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटक लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झन्डै १० करोड भन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।
टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टकले प्रमाणित गरिदिएको छ ।
टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथको जरुरी छैन् भन्ने टिकटकले पुष्टि गरेको छ ।

नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्राई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरु मात्र हुन् ।
त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।

कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।
युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ । टिकटकमा धेरै समयमा क्रियटिभिटी देखाउन सकिने र आफ्ना फ्यानहरुको वाह–वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।

नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, बर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर हुँदै गएको छ ।

कलाकारिताको मिनी थिएटर भएको छ ‘टिक–टक’ ।
टिकटक एउटा सोसल मिडिया एपिलकेशन हो जस्को माध्यमबाट छोटो छोटो भिडियो बनाएर शेयर गर्न सकिन्छ ।
‘बाइट डान्स’ नामक कुन देशको कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय ‘short videos for you ’ भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छः टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।
टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिकटकको रमाइलो तथ्य

– टिक टकबाट भिडियो बनाउँदा आफ्नो आवाजको प्रयोग गर्नु पर्दैन । केवल भिडियोमा आवाज अनुसार ओठ चलाए (लिपसिङ्क) गर्दा हुन्छ ।
-जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।
– जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकटकको केही फाइदा पनि छ । खासगरी गाउँ र स–साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ ।
कतिपय मानिस टिकटककोे माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच ।
यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

टिकटकले फलोअरको आधारमा पैसा दिने गरेको छ । त्यसको साथै टिकटकमा विभिन्न च्यालेन्ज पनि भइरहेका हुन्छन् । सबै भन्दा बढि भिउज र लाइक पाउनेहरु उक्त च्यालेन्जको विजेता हुन्छन् र उनीहरुले रकम पाउँछन् ।

टिकटकको आम्दानीको श्रोत के ?

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउने गरेका छन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर छन्, कमेडी गर्छन् अनि गाउने तथा नाच्ने कला पनि आओस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त गर्छन् ।

साथै संघर्षको शुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा समावेश गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको पनि राम्रो प्रचारप्रसार भइरहेको हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउदछ वा कुनै स्याम्पुको बोतल देखाउदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय गरिएको हुन्छ ।

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दै जान्छ ।

फाइदा मात्र होइन, बेफाइदा पनि छ 

भनिन्छ, सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ भने बच्चाहरुको नाममा पनि टिकटक अकाउण्ट भएको पाइन्छ ।
गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

– यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुमति लिनुपर्छ ।

-टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

– टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ ।

विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्याधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । तर पनि टिकटकमा अश्लील सामाग्री अपलोड गर्न भने रोकिएको छैन् ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिदैनौँ । केवल Accept तथा Allow  मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले के मा प्रयोग गरिरहेको छ ? त्यो विषयमा हामीलाई केही थाहा हुँदैन ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?