विषाक्त खानेकुरामा रछ्याने राजनीति

 लोकपथ बजार ब्युरो
विषादी हालेको, म्याद घर्केको, सडेगलेको (अ)खाद्य वस्तु बजारमा बेच्न नदिने यो सरकारको प्रयास पनि हावा खायो । किसान र विचौलियाले तरकारीमा हालेको विष हिजोआजमात्र हालेकोजस्तो गरेर कसैलाई देखाउनु परेकोजस्तो गरी कहिलेकहीँ कारवाहीको ताउरमाउर हुनेगर्छ । यसअघि गरिएका बजार अनुगमनले प्रमाणसहितको प्रतिवेदन दिएर कारवाहीको लागि सिफारिश गरिएका दोषी ब्यापारीमाथि पनि कारवाही भएको देखिएन । काँक्रा, लौका, सिमी, बोडी, आलु, साग आदि सब्जीमा छर्किएको विषादिको मात्रा भरमार पाइन्छ । फलफुलमा केरा, अंगुर, भारतीय मेवा, स्याउ आदिमा अनेक विषादि र रसायन लगाएको पाइन्छ । परवर, केराउ आदि रङ्गाएर ताजाझैँ हरियो बनाइदिने, कालो–दाललाई कालो रङ्गद्वारा रङ्गाइदिने छाडा चरित्र भइरहेको छ । यो पनि ध्यानमा राखौँ, मिसावट र सडेको खानेकुरामा रस बिझिसकेका यहाँका जनतालाई खाँटी कुरा मन पर्दैन, जस्तो कि शुद्ध गाईको दूध खान दिने हो भने यस शहरका मानिसहरूलाई गन्हाउँछ, खानै सक्दैनन् ।

डिस्टीलरीका रक्सीहरूका नक्कली उत्पादन बजारमा छ्यास्छ्यास्ती बेचिन्छन् । यहाँ त बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूकै त्यही हालत छ । उपभोगको म्याद सकिएका अधिकांश उत्पादन नेपालमा पठाइन्छ । त्यस्ता उत्पादनमा ‘नेपालमा मात्र बेच्नको लागि’ भनेर लेख्नुको नियत ठीक देखिन्न । औषधि ब्यापारमा त्यही रोग छ । नक्कली औषधीहरूले बजारमा अतिक्रमण गरेका छन् । यस्ता औषधी उत्पादकहरूले बढीभन्दा बढी मुनाफा दिएर बिक्रेताहरूलाई आकर्षित गराइरहेका हुन्छन् । नेपाल म्याद गुज्रिएका औद्योगिक उत्पादन बेच्ने डम्पिङ् मार्केट भइरहेको छ ।

विषाक्त तरकारी वा फलपूmल खाइरहेका शहरी क्षेत्रका मानिसलाई हुने साझा बिमारी ग्यास्ट्रिक तथा पेटका रोग हुन् । आउँ, झाडा–पखाला, हैजा, टाइफाइड, जण्डिस, जुका, अम्लपित्त, वाकवाकी लाग्ने, खान अरूचि, खाना नपच्ने, पेट वा आन्द्रा फुल्ने, शरीर अत्यन्त तात्ने वा ज्वरांश हुने, आलस्य लाग्ने जस्ता धेरै समस्याहरू पानी तथा खाद्यपदार्थबाट उत्पन्न हुने बिमार हामीकहाँ ब्यापक रूपले भइरहन्छ । हरेक शनिबार बाग्मति नदी सरसफाई अभियान चलेको प्रसंगबारे यस्तो व्यंग्यात्मक प्रतिक्रिया सुनिन्छ, “बाग्मति धेरै सफा पनि हुनुहुँदैन । त्यहाँको पानी अलीअली सङ्लो देखिन थाल्नेबित्तिकै ट्याङ्करवालाहरूले त्यर्हीँको पानी भरेर घरघरमा लगी बेच्न बेर छैन । उता बाग्मतिमा भने पानी नै बग्न पाउने छैन ।”

दूधमा पानी मिसाउनु त अब दूधब्यापारीको मानवअधिकारजस्तै भइसक्यो । चामल वा आँटामा ससाना ढुङ्गा, दालमा खेसरी, कालो मरिचमा मेवाका दाना, महमा चिनीको चास्नी, खुर्सानीको धूलोमा इट्टाको धूलो मिसाइएको, बेसारमा पहेँलो रङ्ग, यहाँसम्म कि धनियाँको पाउडरमा घोडाको लिद समेत मिसाइएको सूचना पाइएको छ । जनावरको बोसो मिसाएको घिउ भनिने वस्तु बजारमा भरमार पाइन्छ ।

‘सरकारी दूध’मा पनि सिकायत छ । आज छ्यास्छ्यास्ती खुलेका ‘डेरी’हरूमध्ये अधिकांसले कास्टिक सोडा, बोसो आदि पदार्थको चिल्लो र स्टार्च मिसाउने गरेको जानकारी सर्वत्र फैलिएको छ । संस्थानकै दूध नुनिलो हुनथालेको छ । ‘मिनरल वाटर’ का नाममा बेचिने अधिकांश बोतलको पानी त्यति नै दूषित तथा असुरक्षित पाइएको छ । मिनरल वाटर भन्दैमा बोतलको पानी निष्फिक्री चलाउनु पेटसम्बन्धि अनेक समस्याको जोखिम बोक्नुमात्र हुन्छ ।

अधिकांश रेस्टुराँ वा मोमो पसलमा बेचिने मोमोमा कुखुराको छाला, आन्द्राभुँडी, कलेजो, फोक्सो, बिक्री नहुने मासु, पानीको चरम अभाव भएर नपखालिएको बन्दाकोभी, काउलीका डाँठ आदि हालिन्छन् । सबभन्दा बुढा, रोगी र अस्वस्थ खसी–बाख्रा सस्तो मोलमा सेकुवापसलमा पुग्दछन् । चर्को मसला, स्वाद बनाइदिने रसायन (अजिनोमोटो) र अस्वस्थकर तेलले त्यसलाई स्वादिलो बनाइदिएको भ्रम हुनसक्छ । मिठाईहरूलाई आकर्षक बनाउन अखाद्य र विषालुृ रङ्ग लगाइदिने, कुहिनथालेका बेसन वा मैदा आदिबाट अत्यन्त घटिया मसला, रङ्ग र चिल्लोपदार्थका साथ मिठाइ बनाएर बेच्ने, खाना बनाउने ठाउँ र भाँडाकुँडा अत्यन्त फोहोर हुनु सामान्य कुरा जस्तै भइसके ।

राजनीतिमा किरा परेपछि त्यसले सबै चिजमा किरा पार्छ । बजारको तरकारीमा भरमार विषादि वा खानेकुरा सडेको होइन, मुलुकको राजनीति, त्यो राजनीति हाँक्ने पार्टीहरू र पार्टीलाई हाँक्ने नेताहरू सडेका हुन् । सडेको राजनीति हुने देशका नेताले जनतालाई सडेको र विषाक्त खाना खान बाध्य बनाउँछन् । पोहोर, भारतबाट भित्र्याईएको केही ट्रक तरकारी र फलफूलमा भरमार विषादि हालेको फेला परेपछि सरकारले केही दिन रोकेको थियो, तर काठमाडौँस्थित भारतीय राजदूतले सरकारलाई लामो पत्र लेखेर ती खाद्य सामग्री बजारमा ल्याएर बिक्री गर्न दिनू भनी दबाब दिएपछि सरकारले ती ट्रक खुरुक्क छोडिदियो र आफ्ना (नागरिक) हरूलाई विषादि भरमार हालेका ती सामग्री खान विवश बनायो ।

अर्कातिर आफ्नो स्वास्थ्यमा यत्रो मार पर्दा पनि विरोधमा नउत्रने लाशजस्ता जनताको के कुरा गर्ने ! तरकारीका दलाल ब्यापारीहरू बजार अनुगमन गर्ने कार्यबारे भन्छन्, यो अलिक दिनको खेल हो । त्यसपछि छापा मार्ने यिनै कर्मचारी हामीसँग कमिशन माग्न आइपुग्छन् । झन् धेरै पैसा चाहिने त नेताहरू नै छन् । अहिलेको सरकारमा सबभन्दा ठूलो आहारा भएका नेताहरू छन् । बजार अनुगमन गर्न थालेपछि तत्कालीन आपूर्ति मन्त्री मात्रिका यादबले बिनाकारण अनुगमन नै रोकिदिएका थिए ।

वाणिज्य विभागको बजार अनुगमन समितिले एकपटकको बजार अनुगमनमा ओसिएको बिस्कुट फेला पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालाले कारवाहीको निम्ति काठमाडौँ जिल्ला प्रशासनलाई सिफारिस गरेछ । उसले कारवाही नै नगरी सिफारिश थन्क्याएछ । पछि बुझ्दा थाहा भयो, जिल्ला प्रशासनले नै ओसिएर कुहिन थालेको बिस्कुटको बारेमा यस्तो टिप्पणी लेखेर कारवाही स्थगित गरेछ, “बिस्कुट भनेकै चियामा चोपेर खाईने वस्तु हुनाले ओसिंँदैमा केही नबिग्रने देखिएकोले कारवाही गर्नु नपर्ने ।”

मिति नाघेका र नक्कली औषधी, ढलको जस्तो फोहोर पानी, सडेगलेका मिठाइ, किरा परेको पिठो, ढुङ्गा मिसाएको र विषादि हालेको चामल, कास्टिक सोडा मिसाएको दूध, विषादि हालेको तरकारी र फलफूल, घिउका नाममा जनावरको बोसो नेपालीले खानुपर्ने दिन अझै बाँकी छन् । बल्ल त अलिअलि थाहा हुँदैछ, हामी के खाइरहेका छौँ । यस्तो देशमा अनि मृत्युदण्ड हटाउनु उचित रहेछ त !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?