धनुषा । धनुषामा युवतीको हत्या गरेको अभियोगमा श्रीमान् सहित एकै परिवारका पक्राउ छन् ।
प्रहरी कार्यालय धनुषाले यही माघ १८ मा सामान्य विवादमा धनुषा ओरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा औरही २ कै श्रीमान् अनिलकुमार पासवान, सासू कमला पासवान, नन्द पुनिता पासवान र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ गरेको हो ।
चारै जनाले बुहारी चिन्तामणिको हत्या गरी फरार हुँदै आएका थिए। प्रहरीले खोजतलासका क्रममा कुमला र पुनितालाई जनकपुर उपमहानगर ४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो।
त्यस्तै राधाकृष्ण र अनिलकुमारलाई आज (सोमबार) बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। सबै चार जनाविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।
मोबाइललाई लिएर बुहारी चिन्तामणि र नन्द पुनिताबीच सामान्य विवाद हुँदा सोही विषयलाई लिएर श्रीमान, नन्द, सासू र ससुराले बुहारीको घाँटी थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । बुहारीको हत्यापछि उनीहरुले अपराध लुकाउन शव झुण्ड्याएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया