काठमाडौं । कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि मस्तिष्क-पक्षघात (सेरिबल पल्सी)बाट पीडित उनको छोराको मृत्यु भएको छ ।
पिता र भाईबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । चेङको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ ।
कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् । यान चेङबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भईरहेको छ ।
उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए ।
उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो । चिनियाँ अधिकारीहरूले पहिला ती किशोरको मृत्युबारे छानबिन हुने घोषणा गरेका थिए ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि चीनमा कम्तीमा ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ।
चीनबाहिर विभिन्न देशमा पनि सङ्क्रमित व्यक्तिहरू फेला परेका छन् ।
एजेन्सी
के हो कोरोना भाइरस ?
जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।
क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।
सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।
कहाँबाट, कसरी फैलियो महामारी ?
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।
‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।
कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यो पनि पढ्नुहोस् : चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु
चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया