इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहका मृत्युसम्बन्धी ५ रहस्य !

काठमाडौं । पुराणका अनुसार व्रह्माबाट अत्रि,अत्रिबाट चन्द्रमा र चन्द्रमाबाट बुध तथा बुधबाट इलानन्दन पुरुरवाको जन्म भएको थियो । पुरुरवाबाट आयु, आयुबाट नहुष र नहुषबाट ययातिको जन्म भएको थियो ।

त्यस्तै ययातिबाट पुरु,पुरुको वंशबाट भरत र भरतको कुलबाट राजा कुरु भएका थिए । जम्बुद्विपका महान सम्राट कुरुको वंशबाट प्रतिप राजा भएका थिए ।

उनका छोरा थिए शान्तनु । शान्तनु र गंगाबाट देवव्रत (भीष्म) को जन्म भएको थियो । भीष्मले व्रह्मचर्यको प्रतिज्ञा लिएका थिए । त्यसैले उनको वंश बिस्तार हुन सकेन । भीष्म अन्तिम कौरव थिए ।

भीष्म पितामहको मृत्युका ५ रहस्य

१. यसरी प्राप्त भएको थियो इच्छा मृत्युको वरदान

माता गंगा स्वर्ग गएपछि सन्तनुले माझीकी छोरी सत्यवतीसँग प्रेम विवाह गरेका थिए । सत्यवतीले आफूबाट जन्मेको छोरोले नै राजगद्दी पाओस् भन्ने शर्त सहित राजा सन्तनुसँग विवाह गरेकी थिइन् ।

भीष्मले पिताको खुसीका लागि त्यहि समयमा आजिवन व्रह्मचारी रहने र राजगद्दी सत्यवतीबाट जन्मेका सन्तानलाई नै दिने प्रतिज्ञा गरेका थिए ।

त्यसैबेला सत्यवतीले देवव्रतको प्रतिज्ञा प्रति नतमस्तक हुँदै इच्छा मृत्युको वरदान दिएकी थिइन् । ठूलो प्रतिज्ञा गरेकै कारण उनको नाम भीष्म रहन गएको थियो ।

२. पाण्डवलाई मृत्युको रहस्य बताएपछि भीष्मको मृत्यु

महाभारतको युद्धमा भीष्म पितामह कौरवको तर्फबाट युद्ध गरिरहेका थिए । उनी कुरुक्षेत्रमा कोरवको तर्फबाट प्रधानसेनापति भएर युद्ध लडेका थिए ।

उनले कुरक्षेत्रमा १० दिनसम्म घनघोर युद्ध गरेका थिए । युद्धको दशौँ दिन पाण्डवहरुको अनुनय-विनय पछि उनले पाण्डवहरुलाई आफ्नो इच्छा मृत्युको रहस्यका बारेमा बताएका थिए ।

युद्ध नीतिका अनुसार भीष्मका अगाडि शिखण्डीलाई पाण्डवहरुले युद्ध गर्न अगाडि सारेका थिए । तर प्रतिज्ञाका कारण भीष्म कोहि पनि स्त्री,वेश्या वा नपुंसक व्यक्तिका अगाडि शस्त्र उठाउँन नमिल्ने थियो । त्यसै कारणले उनलाई पाण्डवले हराउन सफल भएका थिए ।

३. शिखण्डीको सहायतामा अर्जुनको बाँण

भीष्मले शिखण्डी अगाडि देखेपछि शस्त्र फालिदिए । त्यहि बेला शिखण्डीको पछाडि बसेका अर्जुनले भीष्मलाई बाण हानेका थिए । त्यहि बेला उनी जमिनमा पछारिए ।

त्यसैबेला उनले अर्जुनसँग अर्जुन क्षत्रिय धर्मका विद्वान भएको भएर उपर्युक्त सिरानी मागेका थिए । त्यो बेला अर्जुनले आँखाभरि आँशु बनाएर ३ वटा बाँण सन्धान गरेका थिए ।

त्यो बाँण भीष्म पितामहको निदार छेडेर पृथ्वीमा गएर गाडिएका थिए, जसबाट भीष्म पितामहलाई सिरानी मिलेको थियो ।

४. युधिष्ठिरलाई यस्तो उपदेश

बाँणको शैय्या र बाँणकै सिरानीमा सुतेका पितामहले त्यो बेला प्राण त्यागेनन् । किनभने उनलाई सूर्य उत्तरायण भएपछि प्राण त्याग्दा आत्मालाई शान्ती मिल्ने ज्ञान थियो ।

त्यसैले उनले त्यहि शैय्यामा बसेर सूर्य उत्तराणको समय कुरेका थिए । भीष्मको त्यस्तो अवस्थापछि पनि कुरुक्षेत्रको युद्ध आठ दिन पछि सम्म भएको थियो ।

भीष्मले त्यो अवस्थामा पनि भगवान श्री कृष्णको आदेश पछि युधिष्ठिरलाई शोकलाई टाढा राख्नको लागि राजधर्म,मोक्षधम र आपद्धर्मआदि मूल्यवान उपदेश बिस्तारका साथ दिएका थिए ।

यो उपदेश सुनेर नै युधिष्ठिरले आफ्नो मनबाट ग्लानी र पश्चाताप हटाएका थिए । यो उपदेश आज पनि भीष्म नीतीका नामबाट प्रख्यात छ ।

५. माघ शुक्ल अष्टमीमा त्यागे प्राण

लगभग ५८ दिनसम्म मृत्यु शैय्यामा रहेका भीष्म पितामहले सूर्य उत्तरायण भएपछि माघ शुक्ल अष्टमीका दिन प्राण त्यागेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?