काठमाडौं । महामारीका रुपमा चीनमा फैलिएको घातक कोरोना भाइरसका कारण डराएर बेहुला बेहुली बिना नै सिंगापुरमा विवाह भएको छ ।
केही दिन अगाडि भएको सो विवाहमा बेहुला र बेहुली चीनबाट फर्किएका कारण उनीहरु बिना नै विवाह सम्पन्न भएको हो ।
उनीहरु चीनबाट आएको थाहा पाएपछि निम्तालुहरुले आउन नमान्दा बेहुला बेहुलीलाई मण्डपमा नबोलाई विवाह गरिएको हो ।
जोसेफ यु र कांग टिंगले विवाहको नयाँ तरिका अपनाएका छन् । उनीहरुले विवाह समारोह भन्दा टाढै रहेर लाइभ स्ट्रिमिङ मार्फत होटलमा भएका निम्तालुहरुलाई सम्बोधन गरेका थिए ।
होटलमा भेला भएका आफन्त र निम्तालुहरुले उनीहरुलाई भिडियो कन्फ्रेन्सबाटै बधाई समेत दिएका छन् ।
बेहुली कांग टिंगको घर चीनको हुनान प्रान्तमा रहेको छ । नयाँ वर्ष मनाउन जोसेफ र कांग २४ जनवरीमा चीन आएका थिए ।
उनीहरुको ३० जनवरीको लागि विवाहको तय गरी सिंगापुरमा एम होटलसमेत बुकिङ गरिएको थियो । पारम्परिक रुपमा भने गएको वर्ष उनीहरुले चीनमा विवाह गरेका थिए ।
तर आफन्त र साथीहरु उपस्थित हुन नपाएको भन्दै उनीहरुले सिंगापुरमा फेरी विवाह गर्न लागेका थिए ।
पहिले नै निर्धारण गरिएको कारण होटल बुकिङ रद्द गर्न नमिलेको र सबै व्यवस्थापन गरिएको हुँदा विवाह समारोह रोक्न नसकेको दुलहा जोसेफले बताएका छन्।
भाइरसको कारण प्रतिबन्ध लागेपछि कांगका आमाबुबा भने विवाह समारोहमा सहभागी हुन सकेनन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया