ग्रीसका प्राचीन दार्शनिक एरिस्टोटलको एउटा प्रसिद्ध उक्ति छ, ‘मानिसका सम्पूर्ण विचार विवादास्पद हुन्छन्, तर एउटै विचार निर्विवाद छ, त्यो हो- मानिस सुख चाहन्छ ।’ अथवा मानिस सुख चाहने प्राणी हो भन्ने कुरामा कुनै विवाद छैन । विवाद यसैमा छ- मानिसले खोजेको वास्तविक सुख कसरी प्राप्त हुन्छ । एरिस्टोटलको भनाइमात्र होइन, हाम्रा भगवान गौतम बुद्धले राजसी सुख सयल त्यागेर यही प्रश्नको उत्तरको खोजीमा जीवन चढाए । राजनीति र नेताहरूले यही यथार्थ देखाउँदै आएका छन् कि जनता सुख चाहन्छन् । उनीहरूले जनतालाई सुख–सुविस्ता दिने आ–आफ्नै दाबी सुनाइरहेका छन् । मानवीय सुख–शान्तिको खोजीका क्रममा चुनाबहरू हुन्छन्, कोही सत्तामा पुग्छन् भने सत्तामा भएकाहरू भुईँमा आईपुग्छन् ।
म यहाँ सुखबारे चिकित्सकीय दृष्टिकोणबाट बताउन चाहन्छु । आज धेरैजसो नेपालीहरूमा मानसिक चिन्ता, दुःख र तनाब छाएको छ । पारीवारिक कलह र घरेलु हिंसा बढिरहेको छ । बेरोजगारी, गरीबी र अभाव यस्तो दुःखका प्रमुख कारण देखिन्छन् । यसैले गर्दा रोजगारीको खोजीमा जेट विमान चढेर हजारौँ माइल पर पुगेको परिवारजनको विछोड, नियास्रो र उसले कष्ट पाएकोमा स्वदेशमा बसेका प्रियजनमा छाएको बेचैनी र नियास्रोपन, अनि विदेशिएका परिवारजनमा पनि त्यस्तै मनस्थिति नेपालमा छाएको अशान्तिको टड्कारो रुप हो । पति वा पत्नीमध्ये कोही यसरी विदेशिए पछि उनीहरूको सम्बन्धमा आएको असमझदारी, सम्पत्ती हरण, पारीवारिक विखण्डन, कलह, द्वन्द्व र पारपाचुकेले गर्दा हराएको सुख त्यसको अर्को पाटो हो । कसैको परिवारमा प्रियजनको गैरन्यायिक हत्या भएको दुःख त्यो अर्को हृदयविदारक पक्ष हो । नेपाली समाजका धेरैजसो परिवारमा आज यस्ता ब्यथा र कथाहरू ब्याप्त छन् । यस्तो परिवेशमा बाँचेका हामी नेपालीले सुखी जीवन प्राप्तीको लागि के गर्ने ?
सँधै सम्झौँ कि तनाव र मनको अशान्ति अन्य रोगको ठूलो स्रोत हो । मनमा दुख, तनाब र अशान्ति छ भने भोक र निद्रा लाग्दैन, टाउको तथा छाती दुख्छ, काम गर्ने जाँगर हुँदैन, सृजनशीलता गुम्छ । यसो हुन थालेपछि मानिस बिमारी हुनसक्छ । यसैबाट उच्च रक्तचाप, ग्यास्ट्रिक बढेजस्तो पेटमा गडबडी, अन्य मानसिक रोग, खराब सपना देखेर थप बेचैन हुने, अवसाद (डिप्रेसन), रिसाहा ब्यवहार, स्मरणशक्ति हराउनुदेखि अनेकौँ शारीरिक र मानसिक समस्या उत्पन्न हुन्छन् । मधुमेहको बिमारी छ भने यस्तो अवस्थामा बिमार झन् बढ्न थाल्छ । यस्तो परिस्थितिमा हात हालेका अरु काम पनि बिग्रन सक्छ ।
दुखको बेलामा हुने तनाबले गर्दा शीरका मांसपेशीमा हुने संकुचन, दिमागका रसायन (न्युरोट्रान्समिटर) र केन्द्रीय स्नायु प्रणालीमा उत्पन्न हुने गडबडी आदि धेरै आन्तरिक अदृश्य शारीरिक गतिविधि हुन थाल्छन् । के हेक्का राखौँ भने तनाव वा दबाब सकारात्मक पनि हुनसक्छ, जसले हामीलाई कुनै उद्देश्य वा चुनौतीप्रति चनाखो बनाइरहेको हुन्छ र जोखिम वा खतरा पन्छाउन तैनाथ गराउँछ । तर मानिसले लगातार चुनौतीमात्र महसुस ग¥यो, आसा, राहत, सान्त्वना, चैन, दिलरञ्जनजस्ता मानसिक विश्रान्ति पाउन सकेन भने यसले अन्य बिमार उत्पन्न गराउने जोखिम हुन्छ । हामी डाक्टरहरूका बीच भनाइ नै छ— स्ट्रेसले डिस्ट्रेस (विपत्ती) ल्याउँनसक्छ । यस्तो बेलामा धेरै धूमपान वा मद्यपान ग-यो भने झन् शारीरिक र मानसिक हानी उत्पन्न गराउँछ ।
त्यसो भए उदासिनता, निरासा र दुःखको अवस्थामा कसरी प्रफुल्ल हुने त ? यो आफ्नै अभ्यासले बसालिने बानी र परम्पराबाट पाइने उपचारात्मक कला हो । तर यो नै सम्पूर्ण उपचार भने होइन । सम्झिराखौँ सुख बाहिरबाट हाम्रो शरीरभित्र वा मनमा पस्ने होइन, मनबाट प्रकट हुने मानसिकताजन्य कुरा हो । उपभोक्तावादी वा भौतिकवादी भ्रम के हुनसक्छ भने मानिस धनी र सम्पन्न भएपछि आफैँ सुखी र सन्तोषी हुन्छ । तर यो गलत सोचाइ हो । कोही धन भएर पनि असन्तोषी र दुःखी भइरहेका हुन्छन्, कोही धन नभए पनि मन र रहरका धनी वा दिलदार हुन्छन् । सबभन्दा महत्वपूर्ण कुरा परिवारमा शान्ति, समझ्दारी, स्नेह र आपसी सहयोगको वातावरण छ भने त्यो परिवार बिपन्न भए पनि आफैँमा सुखी मानिन्छ । त्यसैले व्यक्तिको सुखी जीवनको मूख्य आधार उसको पारीवारिक वातावरण नै हो । त्यसका अतिरिक्त उदासिनता र मानसिक दुःखबाट राहत पाउन जीवनशैलीमा अपनाउन सकिने केही व्यवहारिक उपाय यहाँ दिइन्छ, जसमा तपाईँ विवाहित हुनुहुन्छ भने पति वा पत्नीलाई पनि सामेल गराउनुपर्छ -यस्तो बेलामा मनको वह पोख्ने गरेको आफ्नो घनिष्ट साथी, आफन्त वा परिवार बोलाउने, उनीहरूबाट ढाढस वा सान्त्वना पाइन्छ । आपूmले मन पराएको वा रमाइलो खालको सिनेमा हेर्ने जसबाट आनन्द र हाँसो पाइयोस् । हास्नु तनाब र दुख हटाउने राम्रो उपाय हो, औषधि हो । हँसिलो र फरासिलो स्वभाव वा व्यवहारमा तनावको मात्रा कम हुन्छ । मन परेको संगीत सुन्ने । धार्मिक आस्था छ भने घतलाग्दो इश्वर भजन सुन्ने, मन्दीर (धार्मिक आस्थाअनुरुप मस्जीद वा चर्च) जाने । ईश्वरलाई हामी चिकित्सकहरू अस्तित्ववान रुपभन्दा पनि मानवीय आसाको प्रतीक मान्छौँ । मनपरेको संगीत वा भजन वा प्रार्थनाबाट तनाब वा डिप्रेसन हुनबाट बचाउने सहयोग पाइन्छ । उदासिनता र दुखको बेलामा अघिपछिभन्दा बेग्लैखालको, तर मनपरेको हल्का र स्वादिलो खाना बनाएर खाने ।
व्यायाम वा सौखको शारीरिक खेलकुद गर्ने । शरीर चलायमान भएर पसिना निस्कियो भने शरीरमा ‘इन्डोरफिन्स्’ भन्ने रासायनिक तत्वको सञ्चार हुन्छ, जुन तत्वले मनको बेचैनी घटाउनुको साथै तपाईँको मुड परिवर्तन गरिदिन्छ । लामो हिँडाइ गर्ने, यसले निद्रा गहन बनाउँछ र तनाबबाट मुक्ति दिन्छ । लामो र गहिरो स्वास लिने र छोड्ने, जसबाट मन र मुडलाई राहत मिल्छ । फुटबल वा क्रिकेटका सौखिन हुनुहुन्छ भने त्यस्ता खेल हेर्दा एकदमै एकाग्र भएर मन बहालाउँछ । योग, प्राणायम र प्रार्थनाले मानसिक दुख हटाउन र सकारात्मक सोच बनाउने अति उत्तम उपायका रुपमा पश्चिमा वैज्ञानिकहरूले पनि मानेका छन् । गर्मी याम छ भने चिसो पानी तथा ठण्डीको मौसम छ भने न्यानो पानीमा ‘इप्सम साल्ट्’ भनिने एकप्रकारको नून पनि मिलाएर नुहाउने, जसले इन्डोरफिन्स् सञ्चार गराउन मद्दत गर्छ । प्राकृतिक वातावरणमा टहल्न निस्कने । सकिन्छ भने दीन–दुःखी, बेसहारा वा बृद्धाश्रममा बसेका ज्येष्ट नागरिकलाई सहयोग गर्ने । चित्र वा मूर्ति बनाउने सोख छ भने त्यतातिर ध्यान केन्द्रित गर्ने, रंगहरूसँग खेल्ने । रंग भनेको जीवनका प्रतिबिम्ब हुन् भने कलाको अर्थ जीवनलाई उत्सब बनाइदिने कारक हो । पुराना सुखद र रमाइला घटना भए त्यसलाई सम्झिने, आफ्नो बाल्यकालका तस्वीर हेर्ने । एक निद्रा झप्किने, जसले शरीर र मनलाई हल्का र फुर्तिलो बनाउँछ । तर बिहान चाँडै उठ्ने बानी हुनुपर्छ, किनकि ढिलो उठ्नु वा धेरै सुत्नु नै शरीरका साथै मनस्थिति ठीक नहुने एउटा कारण हो ।
सुखी जीवन हुनका लागि आयस्रोत हुनु आवश्यक कुरा हो, तर त्योभन्दा अनिवार्य पक्ष हो पारीवारिक शान्ति, समझदारी, पति–पत्नी प्रेम, सुसम्बन्ध र थोरै छोराछोरी । असीमित आवश्यकतालाई सीमित साधनले प्राथमिकता र किफायतका आधारमा घर चलाउने कला सुखी जीवनको राम्रो उपाय हो । यस्तो प्राथमिकतामा परिवारका सदस्यको सुस्वास्थ्य पहिलो स्थानमा आउँछ । परिवारका अशक्त, बालबालिका, बृद्धबृद्धाहरूको हेरबिचार र त्यसपछि स्वच्छ खानाको ब्यवस्था प्राथमिकता क्रमका आधारभूत कुरा हुन् । दूरदर्शी, ब्यावहारिक, सामाजिक सद्भाव राख्ने र फरासिलो मिजास आदि आधारमा मानिसको जीवन उत्सबमय र सुखी हुनसक्छ ।
डा. महेन्द्रबहादुर विष्ट
पूर्वमहानिर्देशक, स्वास्थ्यसेवा विभाग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया