काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरेका हुन् । उनले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए । बजारमा प्रतिस्प्रर्धा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा खतिवडाले जोड दिए । अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे । उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए । अन्य मुलुकमा खुल्ला बजार अर्थतन्त्र अनुसार बजारले इन्स्योरेन्सको दर आफै तोक्ने अथवा अधिकतम दर तोकी बजारमा प्रतिस्प्रधाको बाटो खुल्ला राख्ने गरिन्छ तर नेपालमा न्यूनतम दर तोकेर प्रिमियम बढाइएको बताएका हुन् ।
बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । उनले इन्स्योरेन्स प्रिमियम उच्च हुँदा कस्ट अफ डुइङ बिजनेस बढेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया