एक्वेरियममा रमाउँदै तीन सिए

चितवन । चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गरेका हुन् । ४० लाख लगानीमा उनीहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आएका छन् । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिए । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।

अर्का व्यवसायी आलमले यस वर्ष एक करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उनीहरुले जानकारी दिए । दुई हजार ५०० देखि दुई लाखसम्मका एक्वेरियम मूल्य रहेको बताइएको छ ।

उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ ।

जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ । व्यवसायी आलमले भने, “अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।”

मकवानपुर र नवलपरासीदेखि माछा लिन आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उनीहरुले जानकारी दिए । नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उनीहरुले बताए । व्यवसायी घिमिरेले भने, “आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?