कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।
बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस सङ्क्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका छन् । एजेन्सी

यो पनि पढ्नुहोस् : ९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

यो पनि पढ्नुहोस् :  कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

यो पनि पढ्नुहोस : ९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?