‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ हुने

काठमाडौं । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक बिकास गर्ने उद्देश्यले नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०” हुन लागेको छ ।

नेपालमै अत्याधुनिक एवं प्रविधियूक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्ग, भरतपुर, चितवनमा आउँदो फाल्गुण १६, १७ र १८ गते उक्त प्रदर्शनी हुने भएको हो । नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रा.ली. तथा फ्युचरेक्स ट्रेड एण्ड ईभेण्ट प्रा. लि. को सहकार्यमा प्रदर्शनी हुन लागेको हो ।

विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिई अन्तराष्ट्रिय स्तरमा चिनाउने प्रदर्शनी गर्न लागिएको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले जनाकारी दिए ।

अन्य विकसित देशमा भैरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागेकोे उनको भनाई छ ।

नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतका प्रत्यक्ष संलग्नतामा रहने उक्त प्रदर्शनीमा २ सय भन्दा वढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने मिश्रले जनाकारी दिए ।

पोल्ट्री महासंघ अन्तरगतका विभिन्न संघसंस्थाहरुका प्रत्यक्ष सहभागितामा पोल्ट्री सम्बन्धि गोष्ठी, बैठक, अन्तरक्रिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने उनले जानकारी दिए ।

प्रदर्शनीले देशको अर्थतन्त्रमा खर्बौ लगानी र लाखौंको रोजगारीबाट महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको अझै विकास र विस्तारका साथै नेपाल भ्रमणवर्ष २०२० मा समेत उल्लेखनीय योगदान दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?