प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते आफ्नो निर्वाचित जिल्ला झापा पुगेर सार्वजनिक रुपमा नै भन्नुभयो, “तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् ।” सरकार नै असुरक्षित छ भने को सुरक्षित हुने ? लोकतन्त्र सबल हुन नसक्दा प्रधानमन्त्रीजस्तो सर्वशक्तिमान व्यक्ति पनि बलियो नहुने उदाहरण यही हो ।
प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भन्नुको अर्थ लगाउँछन्, सत्ताका ग्यालरी र कोठाचोटा चहार्ने सुविधा पाएका नेकपाका कतिपय द्वयम दर्जाका नेताहरू भन्छन्, “यो सरकारले फागुन २ गते २ वर्ष पूरा गरेपछि अध्यक्ष प्रचण्ड कमरेडले नै सर्वप्रथम अब अविश्वास प्रस्ताव राख्नेहरूका लागि पनि बाटो खुल्यो भनिदिनु भएको थियो, त्यसैलाई लिएर जवाफ दिनुभएको हो कि !” संविधानको धारा १०० (४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वासप्रस्ताव पेस गर्न पाइने व्यवस्था छ । ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
यही फागुन १ गते सत्तारुढ नेकपाले ‘जनयुद्ध दिवस’ आफ्नै केन्द्रिय कार्यालयमा आयोजना त ग¥यो, तर त्यसमा प्रधानमन्त्री ओली उपस्थित हुने भनेर पनि अन्तिम समयमा ‘सञ्चो नभएकोले’ उपस्थित हुनुभएन । पार्टीका दुवै बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल पनि उपस्थित हुनुहुन्थेन । उपस्थित पूर्वएमालेका माथिल्लो नेता भनेको पार्टी उपाध्यक्ष वामदेव गौतममात्र हुनुहुन्थ्यो । उहाँले भाषणको क्रममा “माओवादीले जनयुद्धको क्रममा एमालेका दुईसय बढी कार्यकर्ताको हत्या ग-यो” भन्न चुक्नुभएन ।
यो वा त्यो पार्टी मात्र होइन, तिलश्मी ढङ्गले सबै पार्टीहरूमा कलह मच्चिरहेको छ । यो कहिलेकहीँ तुच्छ रुपमा पनि प्रकट हुन्छ । सत्तारुढ नेकपा, प्रतिपक्षी काँग्रेस वा राप्रपा, मधेशी र समाजवादी, विवेकशील साझा पार्टी जुनसुकै होउन्, भित्र सतहमा छताछुल्ल भएका कलहहरू सैद्धान्तिक र नैतिक प्रतिष्पर्धा होइनन्, न त जनतालाई सुविस्ता दिने होडवाजीका क्रममा पैदा भएका हुन् । जङ्गबहादुरको पुनरावृत्तिको होडवाजीमा देखापरेको कोतपर्वको मानसिकताका साथ अन्त्यहिन संघर्ष चलेको अनुभूति हुनेगर्छ । कलहले गैरजिम्मेवारी र पतनशीलता नाप्ने डिग्रीको काम गरेको छ ।
नेकपा र कांग्रेसमा एकैसाथ कचिङ्गल बढिरहेको दृश्यले गतिविधि झनै रहस्यमय भइरहेको छ । यसले अराजकतावादी तथा कानुन हातमा लिन खोज्नेको हौसला निकै बढाएको छ भने स्वस्थ राजनीति खोज्ने निष्ठावान् कार्यकर्तालाई दुःखी र निरास बनाएको पनि देखिन्छ ।
माथि पनि भनियो नेपाली कांग्रेसको झगडा, ‘लोकतान्त्रिक गणतन्त्र’का रित्ता ढ्वाङ्हरूको शक्तिशाली हुने अन्धो आकांक्षाबाट लक्षित छ । तर दुबैतिर मन्थरावृत्ति गर्नेहरूको कमि छैन । एक्काइसौँ शताब्दीका ‘मन्थराहरू’ हावी हुनाले झगडाले उग्ररूप लिँदै गएको हो । शेरबहादुर देउबा, रामचन्द्र पौडेल, शेखर कोइराला वा यस्तै तहका नेताहरू मिल्न नसकुन् भन्ने नियतले पनि आगोमा घिऊ हाल्ने चरित्रले प्रश्रय पाईरहेको छ । पार्टीमा नीतिगत र सैद्धान्तिक बहस हुँदैन, छिर्के लगाउने, पछार्ने, आफू बलियो र सुरक्षित बन्ने दाउ हेर्नेमात्र काम भईरहेको छ । यसमाथि चुनावमा कहिल्यै पनि ‘रूख’मा भोट नदिएर ‘टिन’, ढ्याङ्ग्रो , भ-याङ्, पुतलीजस्ता चुनाब चिन्हमा भोट हाल्दैआएका ‘काँग्रेस’ अनुहारहरू पनि दुवैतिर बसेर झगडा चर्काउने दृश्य–अदृश्य कारक बनिरहेका छन् । रामचन्द्र पौडेल र देउवालाई लडाएर वीचमा त्यसको राजनीतिक लाभ लिने प्रयास नभएको होइन पार्टी सभापति÷अध्यक्ष र बरिष्ठ नेता पद आपसमा द्वन्द्व र गुटवाजी गर्नकै लागि हुन् कि भन्ने पारिसके ‘मन्थराहरू’ ले ।
कोठेशक्ति चलाउँदै र ओठेभक्तिमा रमाउँदै आएका नेताहरूलाई विशाल पार्टी चलाउनु परेको आजको अवस्था नै एउटा समस्या भइदियो । उनीहरू त एउटा उचाइमा पुगेर जुँगाको लडाईँ गरिरहेका छन्, यसमा कार्यकर्ताले किन सामेल हुने ? त्यसैले यी झगडीयाहरू, झगडाले गर्दा नै कमजोर भए । मध्यमार्गी र एकतावादीहरू यतिबेला सबभन्दा प्रभावशाली र बलिया देखिएका छन् ।
निष्ठाको राजनीति गर्नेहरू मूल्य र मान्यताको लागि लड्दछन् । तिनीहरूको लडाईँ आदर्शले प्रेरित हुन्छ । नेपाली समाज रामायाण र महाभारतका आकाश–पातालको अन्तर र मान्यता बुझेको जनसमुदाय हो । रामायणको मान्यता छ, राज्यका निम्ति दाजुभाई आपसमा नलड्ने । तर महाभारतको मान्यता हो राज्यका निम्ति दाजुभाई नलडी नछोड्ने । रामायणमा देवर लक्ष्मण र अन्य भाईहरूले भाउजु सीतालाई आमासरहको सम्मान र सेवा गर्दछन् । महाभारतमा भाउजु द्रौपदीलाई देवर दुर्योधनले आफ्नो राजसभामा घिच्याउँदै ल्याउन दुसासनलाई लगाएर रजश्वला भएकी भाउजुको हुर्मत लिन सारी तान्न लगाउँछन् । आजको शासन चीरहरण गर्ने दुसासन भइरहेको छ । नेपालको वर्तमान सत्ता राजनीतिमा महाभारतका सम्पूर्ण रहस्य र इन्द्रजालहरू लागू भइरहेका छन् । बेलायतका प्रसिद्ध नाटककार बर्नार्ड शाले महात्मा गान्धीको हत्या भएका बेला भनेका थिए, “भलो मान्छे हुन साह्रै गाह्रो रहेछ…..।”
नेकपा आज करिब दुईतिहाई बहुमतको समर्थन पाएर सत्ताको नेतृत्व गरिरहेको भएपनि उसैभित्र असन्तोष सबभन्दा बढी चुलिएर फुटुँफुटुँ जस्तो गरेको देखिन्छ । प्रधानमन्त्रीको उपरोक्त भनाईको अन्तर्यमा त्यही देखिन्छ । त्यसो त फुट्नबाट बचेको कुनै पार्टी छैन । सबभन्दा आश्चर्य त काँग्रेसमै छ अहिले । पार्टीको गत तेह«ौँ महाधिवेशनमा र त्यसपछि प्रशिक्षण तथा जनजागरण अभियान चलाउँदा यस पार्टीप्रति नयाँपुस्ता वा युवा वर्गले देखाएको अत्यधिक समर्थनबाट अन्य पार्टीहरू पनि हच्केका थिए । तर पार्टीका ‘मठाधीश’ हरूले अहिले चलाएको झगडाले त्यो समर्थनलाई मुच्र्छा पर्ने गरी लात हानेको रूप देखा पर्दैछ । जनमत काँग्रेसतिर आकर्षित हुनखोज्छ, यसका नेताहरू अन्त्यहिन झगडा मच्चाएर जनमतलाई लत्याउने गर्दछन् । स्वार्थको, सिद्धान्तहिन झगडाले कांग्रेसलाई थला पार्दैछ ।
कांग्रेसका यी झगडियाले बनाएर बनेको होइन यो पार्टी । राजनीति मर्दले कमाइदिने नामर्दले खाने कुरा भनिन्छ । ‘मर्दहरू’ ले इतिहास निर्माण गरिदिएको पार्टीका आँगनमा आज नामर्दहरूको रत्यौली चलिरहेको छ । पार्टीको एघारौँ महाधिवेशनले ‘राजतन्त्र निरपेक्ष’ बाटो लिएर त्यसै साल माओवादीसँग मितेरी गाँसेको हो बाह्रबुँदे समझ्दारीका रूपमा । कांग्रेसकै पहलमा माओवादीले पुनस्र्थापित प्रतिनिधिसभामा तत्कालीन एमालेसरहको स्थान पायो । तर संविधानसभाको चुनाव भएपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति निर्वाचनमा समर्थन त गरेनगरेन, त्यसपछि माओवादी नेतृत्वमा बनेको सरकारमा उसले काँग्रेसलाई रक्षा मन्त्रालयको जिम्मेवारी समेत दिन नचाहेको सम्झौँ । त्यसपछि रन्थनिएको काँग्रेसमा लोभ–पापका खेलमात्र भइरहेका छन् । वीपी विचारधारालाई उपेक्षा गरेर र संस्थापक राजनेताहरूले दिएको मार्गदर्शनबाट च्युत भएको कांग्रेस अझै पनि इतिहासले दिएको शिक्षा र अनुभवअनुरूप आपूmलाई सच्याउन तयार देखिन्न । पार्टीभित्र मित्रघाती खेल अनियन्त्रित तहमा छ ।
जुन परिवारमा सँधै घर–झगडा भईरहन्छ, त्यो घरका बालबालिकाहरूको मनोविज्ञान बिग्रेर तिनीहरू घर छोडी सडकमा पुग्दछन् । अमेरिकामा एकताका यस्तै समस्या विकराल भएर आयो । पति–पत्नीवीचको विवाद, झगडा र पारपाचुकेको तथ्याङ्क बढे सँगसँगै निरास भएका तिनका छोराछोरीले घर छोडेर हिँड्ने सँख्या पनि अत्यधिक हुनथाल्यो । आखिर राज्यले पति–पत्नी सम्बन्ध र बालअधिकारसम्बन्धी कानुनी ब्यवस्था गर्नैप¥यो । नेपालका पार्टीहरूमा त्यही हालत छ । नेताहरूको स्वार्थी झगडाले पार्टीको प्रतिष्ठा र लोकप्रियता त खस्क्योखस्क्यो, कार्यकर्ताहरूमा वितृष्णा, निरासा र पलायन पनि बढेर आयो ।
यतिसम्म हुँदा पनि पार्टीहरूमा चेत नफिर्नु र मति नसुध्रिनु झन् खेदजनक परिस्थिति हो । झगडिया नेताहरूका जिउमा सिंग–जुरो पलाउला तर बुद्धिबङ्गारो पलाउने भएन । कोतपर्वको मानसिकताले गणतन्त्र चलाउन खोज्नु नै आजको सबभन्दा दुःखद पक्ष भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया