काठमाडौं । बालबालिकाहरु अत्यन्तै जिज्ञासु हुन्छन् । घरपालुवा जनावरसँग खेल्दै गर्दा होस् या टिभीमा कार्टुन हेर्दै गर्दा उनीहरुलाई यो संसार के हो, कसरी चल्छ भन्ने जिज्ञासाले घेरिरहन्छ ।
विशेषज्ञका अनुसार बालबालिकाहरु कुनै सजायबाट बच्न वा पुरस्कार पाउने लालचमा भन्दा पनि आफ्नै भित्री इच्छाका कारण यति जिज्ञासु हुन्छन् । त्यसैले, जिज्ञासा उनीहरुका लागि आन्तरिक प्रेरणा हो र कुनै प्रलोभन देखाएर उक्साउने काम बाह्य प्रेरणा ।
यी दुईमध्ये बालबालिकालाई सिक्न प्रेरित गर्नलाई कुन तरिका उपयुक्त होला ? के उनीहरुलाई कुनै पुरस्कार वा उपहारको लोभ नदेखाइ सिक्नमा प्रेरित गर्न सकिन्छ ?
स्वभाविक जिज्ञासा
‘बच्चाहरु जन्मजातै जिज्ञासु हुने भएकाले शिक्षकहरुले त्यसको पहिचान गरी झन् उत्प्रेरित गर्न आवश्यक छ,’ क्युबेक कि लावल विश्वविद्यालयका प्राध्यापक फ्रेडरिक गुए भन्छन् ।
गुए र उनका सहयोगीहरुले ‘आन्तरिक प्रेरणा र नतिजा’को विषयमा प्राथमिक तहदेखि विश्वविद्यालयसम्मका २ लाख भन्दा बढी विद्यार्थीहरुमा गरिएको ३ सय ४४ भन्दा बढी अनुसन्धानको विश्लेषण गरेका छन् । अनुसन्धान गर्दैगर्दा उनीहरुले विद्यार्थीहरुको मार्कसिट सम्बन्धित स्कुल वा विश्वविद्यालयबाट लिए ।
विद्यार्थीहरुले प्रश्नावलीमा भरेका उत्तर र मार्कसिटको तुलना गर्दा के नतिजा निस्कियो भने विद्यार्थीहरु जेजस्तो गतिविधिमा रुची राख्छन् त्यहीअनुसारको विषयमा उनीहरुले राम्रो अंक पनि ल्याउने रहेछन् ।
अन्य अनुसन्धानले पनि देखाएको छ कि जो विद्यार्थी आन्तरिक रुपमा प्रेरित छ उसले सहजै नयाँ कुरा सिक्न सक्छ ।
जर्मनमा भएको एक अनुसन्धानअनुसार ७ देखि ९ वर्ष उमेर समूहका जो विद्यार्थी कथा सुन्नमा रुची राख्छन् उनीहरु आफ्ना सहपाठी भन्दा सहजै गद्यांश पढ्न र बुझ्न सक्ने रहेछन् ।
आन्तरिक प्रेरणालाई बढाउन सकिन्छ ?
एडिनवर्ग विश्वविद्यालयकी विकासात्मक मनोविज्ञानकी प्राध्यापक सारा मेकजियोनका अनुसार आमाबुबा र शिक्षकले बच्चाहरुमा आन्तरिक प्रेरणा बढाउन सक्छन् ।
उनीहरुमा सानैदेखि पढ्ने बानी विकास गर्नुपर्छ । भलै त्यो पत्रिका पढ्ने होस् या कुनै कमिक बुक ।
मेकजियोन भन्छिन्, ‘आफूलाई कुन शैलीको लेख मनपर्छ, कुन लेखकका लेखहरुले मनलाई छुन्छ भनेर बच्चाहरुले सानैदेखि पहिचान गर्न सक्नुपर्छ र त्यसमा अभिभावकको ठूलो भूमिका हुन्छ ।’
बालबालिकाले पढाइलाई बाध्यता भन्दा पनि रुचीका रुपमा लिन आवश्यक भएको धारणा गुएको छ । यसका लागि उनीहरुलाई हरपल यो महसुस गराउनुपर्छ कि धेरै विकल्प हुँदाहुँदै पनि उनीहरु आफ्नै मर्जीले पढिरहेका छन् ।
‘त्यसैले बच्चालाई पुरस्कारको प्रलोभनमा पारेर पढ्न लगाउने भन्दा पनि उनीहरुसँग सुमधुर सम्बन्ध कायम गर्नमा समय खर्चिनुपर्छ,’ उनी भन्छन्, ‘जसका लागि उनीहरुको कुरा सुनिदिने र नकारात्मक भावनालाई पनि स्वीकार्ने गर्नुपर्दछ ।’
‘नयाँ कुरा सिक्नमा सधैं चासो राख्ने बच्चाले हरेक कुरामा उच्च आन्तरिक प्रेरणा भएको बच्चासरह नै सकारात्मक नतिजा हासिल गर्छ ।’
‘फिडब्याक’ले ग्रेडको स्थान लिन सक्छ ?
एक अङ्ग्रेजी शिक्षक आरोन ब्ल्याकबेल्डरले ३ वर्ष पहिले फेसबुकमा ‘टिचर्स गोइङ ग्रेडलेस’ ग्रुप बनाउनमा मद्दत गरे । ग्रुपमा अहिले त्यस्तै ५ हजार भन्दा बढी सदस्य छन् ।
ग्रुप सन् १९८० को दशकमा भएको अध्ययनबाट प्रेरित छ । जसमा १० देखि १२ वर्षसम्मका बालबालिकालाई ग्रेड, ग्रेड र फिडब्याक वा फिडब्याक मात्र, यी ३ विकल्पमध्ये जुनसुकै छान्न पाउने छुट दिइन्छ ।
अचम्मको कुरा त के छ भने, उर्जाशीलता र प्रदर्शनको हिसाबले ती विद्यार्थी निकै अघि देखिए जसले ‘फिडब्याक’ मात्र लिने निर्णय गरेका थिए ।
ग्रेड र ग्रेडसँगै फिडब्याक लिनेहरुको विस्तारै रुची हराउँदै गएको जसकारण प्रदर्शन स्वतः खस्किएको पाइयो ।
ब्ल्याकबेल्डर ग्रेड वा नम्बरको सट्टा विद्यार्थीहरुलाई कार्यकुशलताको एउटा सूची दिन्छन् जसमा विद्यार्थीहरुले आफूलाई योग्य सावित गर्नुपर्ने हुन्छ । त्यस्तै असाइन्मेन्टका लागि भने उनी विशुद्ध ‘फिडब्याक’ दिन्छन् ।
उनका अनुसार यस्तो पद्दति अपनाउँदा विद्यार्थीहरु बीचसुमधुर सम्बन्ध कायम हुन्छ र उनीहरु एकअर्कालाई सहयोग गर्न तत्पर रहन्छन् किनकी उनीहरुबीच सबैभन्दा बढी ग्रेड ल्याउने होडबाजी हुँदैन ।
यद्यपि, फिडब्याक मोडलका समर्थक ब्ल्याकबेल्डरले पनि अन्ततः ग्रेड नै दिनुपर्ने बाध्यता छ ।
शिक्षा सुधार थिंक टेंक थोमस बी फोर्डम इन्स्टिच्युटका एसोसिएट डायरेक्टर एडम टाइनर ‘ग्रेड प्रणाली’ व्यवहारिक भएको दाबी गर्छन् ।
‘ग्रेड प्रणालीको मुख्य फाइदा भनेकोे यो प्रणाली व्यक्तिको एकल मूल्याङ्कन गर्नलाई प्रभावकारी हुन्छ,’ उनी भन्छन्, ‘विद्यार्थीको प्रगति भइरहेको वा नभएको यसबाट स्पष्ट थाहा पाउन सकिन्छ ।’
त्यस्तै, गुए र मेकजियोन दुवैजना ग्रेडभन्दा पनि विद्यार्थीले गरेको प्रयासमा बढी जोड दिनुपर्ने विचार राख्छन् ।
बाहिरी प्रेरणा पनि लाभदायी हुनसक्छ ?
टाइनरले नेस्नल म्याथ एण्ड साइन्स इनिशिएटिभको ‘कलेज रेडिनेस प्रोग्राम’को उदाहरण दिए जसमा हाइ स्कुलका विद्यार्थीहरुलाई एडभान्स ट्रेनिङ दिइन्छ साथै सफल विद्यार्थी र शिक्षकलाई नगद पुरस्कार पनि प्रदान गरिन्छ ।
नर्थवेस्टर्न विश्वविद्यालयका अर्थशास्त्री किराबो ज्याक्सनले उक्त कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गर्दा पाए कि यसले गर्दा कक्षामा विद्यार्थीहरुको उपस्थिति ४.२ प्रतिशतले बढेको छ ।
यस्तो हुँदा बाहिरी प्रेरणाले कहिलेकाहीँ आन्तरिक प्रेरणालाई समेत पछि पार्ने बताउँछन् टाइनर । भन्छन्, ‘यदि बाहिरी प्रेरणाका कारण विद्यार्थीहरु केही सिक्न उत्साहित छन्, उनीहरुमा राम्रै परिवर्तन आउँदैछ भने यसले उनीहरुलाई फाइदै गर्छ ।’
(एजेन्सीको सहयोगमा)
यसअघि लोकपथका यी समाचार पढ्नुभएको थियो ?
किन विद्यालय जान मान्दैनन् बालबालिका ? मनोविद र शिक्षकको मत भाँजियो
मोबाइल फोनको ‘वेभ’ले बच्चाहरुमा डरलाग्दो प्रभाव, होसियार १ अभिभावकले ध्यान दिनैपर्छ केही कुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया