आज ग्याल्पो ल्होसार धुमधामका साथ मनाईदै

काठमाडौं । तीन प्रकारका ल्होसारहरु मध्ये हिमाली तथा पहाडको माथिल्लो क्षेत्रका समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ ।

तथापि यस ल्होसारमा अन्य समुदायहरुको पनि सक्रिय सहभागिता भएको पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङेली र मनाङेली लगायत अन्य धेरै समूदायको साझा चाड ल्होसार हो ।

हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो ।

शेर्पा समूदायले ल्होसार शुरु हुनु एक महिना अगाडि नै आ-आफ्नो घर रङ्ग्याउने,सफा गर्ने, फोहेरहरु फाल्ने र नयाँ कपडा धारण गर्दछन् ।

सम्बोटा लिपिलाई सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

आजको ल्होसारमा भान्सामा खाप्से प्रयोग गर्दछन् । मैदाको पिठोबाट मिठाई आजको दिन विशेष परिकार हो । हिमाली तथा पहाडी हावापानीमा उम्रिने गरि गहुँको बिज छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ । यसरी उमारिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ बालीका रुपमा प्रयोग गरिन्छ ।

आजको दिन साँझमा खाइने एउटा विशेष परिकार जुन नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ ।

यो परिकार आफन्त,नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुकु पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा,गहुँ, कागज, खुर्सानी, कोइला,घ्यू र नुन राखेर पकाइएको हुन्छ ।

उक्त गुथुकुको डल्लालाई खाने बेलामा कसको गुथुकु भित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रा पर्यो भने उसको मनोकामना पूरा हुने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, कोइला परेमा कपट स्वभावको हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, घ्यू परेमा चिप्लो स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पा समूदायमा रहेको छ ।

घरको छत,आँगन र गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज फेरिन्छ । यि ध्वजा तथा झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन् ।

लामो लठ्ठी वा आडमा राखिएका एकनाशको तलदेखि माथिसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ । तिब्बतीयन भाषामा यसको अर्थ हवाई घोडा हो ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाई भईरहेको थियो । तर लडाईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेनु भगवान इन्दुका माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् ।

त्यहि मन्त्रको प्रभावले असुरहरु पराजित हुन्छन् । यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्ग्ने प्रचलन शुरु भएको मानिन्छ ।

पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ ।

यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा, सिक्किम, भुटान लगायत अन्य देशमाहरुमा पनि मनाइन्छ ।

ज्यो दुुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?