काठमाडौं । आइतवार धितोपत्र बजारमा शेयर कारोवार साढे दुइ वर्ष यताकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार मात्रै नेप्सेको कारोवार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ पुगेको थियो । ३० हजार ४ सय ५७ कारोवारमा ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर खरिद बिक्रि भएको हो । नेप्सेका अनुसार अनलाईन प्रणालीले शेयर बजारमा तरङ्ग ल्याउने गरि कारोवार हुन थालेको हो । कारोवारलाई नयाँ उचाईमा पुर्याइ बजारमा नयाँ उत्साह थप्ने काममा मलजल गर्न अनलाइन कारोवारले महत्वपूर्ण भूमिका खेलेको नेप्सेको भनाई रहेको छ ।
त्यसो त आइतवार कारोवार भएको मध्ये करिव ४४ प्रतिशत कारोवार अनलाईन मार्फत भएको थियो । अर्थात कुल कारोवारमध्ये ३८ लाख ४० हजार ९ सय २ कित्ता शेयर अनलाइन मार्फत कारोवार भएको छ । जसको बजारमूल्य १ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबर हुन आउछ । नेप्सेले ल्याएको प्रावधान अनुसार कारोवार गर्न युजरनेम तथा पासवर्ड लिने लगानिकर्ताको संख्या २१ हजार ६ सय ७४ जना पुगेका छन् । शेयर कारोवार प्रणालीलाई सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा नेपाल क्लियरिङ लिमिटेड प्रणालीसँग जोडिएको नेप्सेले जनाएको छ । साथै हाल एनसीएचएल मा ७५ भन्दा धेरै बैंक तथा वित्तीय संस्थामार्फत कारोवार रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ ।
बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताए ।
उनले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया