गुगलसँग सम्बन्धित कुनै साइटमा जानुप-यो भने कहिलेकाहीँ आफू ‘मानव’ भएको प्रमाण दिनुपर्ने हुन्छ । हो, बाङ्गाटिङ्गा अक्षरमा अलि धमिलो गरी लेखिएका शब्दलाई आफूले फेरि ‘टाइप’ गरेर बुझाएपछि मात्रै गुगलको नजरमा हामी रोबोट नभएर मान्छे प्रमाणित हुन्छौं ।
यस प्रविधिलाई भनिन्छ, रिक्यापचा । यस प्रविधिलाई विकास गर्ने व्यक्ति हुन् लुइस भन आन । ग्वाटमाला नामक सानो, कम लोकप्रिय र आर्थिक अवस्था खासै बलियो नभएको राष्ट्रमा जन्मिएका उनी कसरी गुगलजस्तो ठूलो कम्पनीसँग सहकार्य गर्न पुगे रु ३० करोड भन्दा बढी प्रयोगकर्ता भएको एप निर्माण गर्न सफल कसरी भए रु उनको संघर्ष र सफलताको यात्रालाई यसरी समेटिएको छ…
***
यदि कसैले आप्रवासको सकारात्मक पक्षमा प्रश्न चिह्न उठाउँछ भने उनीहरुलाई लुइस भन आनको बारेमा बताए हुन्छ ।
मध्य अमेरिकन राष्ट्र ग्वाटमाला मा जन्मिएका ४१ वर्षीय लुइस सन् १९९६ मा १८ वर्षको उमेरमा पहिलो पटक अमेरिका प्रवेश गरे । गणित विषयमा डिग्री हासिल गर्न नर्थ क्यारोलिनाको ड्युक विश्वविद्यालयमा भर्ना भए उनी । त्यसपछि फेरि पिट्सबर्गको कार्नेगी मेलन विश्वविद्यालयमा कम्प्युटर साइन्स अध्ययन गरे ।
मानव आधारित गणनामा विशिष्ट अध्ययन गरेका लुइस कम्प्युटर साइन्स प्रोफेसर बने । मानव आधारित गणना अर्थात् मानव र कम्प्युटर दुवै मिलेर कसरी गाह्रो भन्दा गाह्रो कामहरु पूरा गर्न सक्छन् भन्ने अध्ययन ।
त्यस क्षेत्रमा उल्लेखनीय योगदान पु-याएकाले सराहनास्वरुप उनलाई अमेरिकाकै प्रतिष्ठित ‘म्याकअर्थर फेलोज प्रोग्राम अवार्ड’बाट सम्मानित गरिएको थियो । यस पुरस्कारलाई ‘जिनियस ग्रान्ट’ पनि भनिन्छ किनकी यसलाई पाउने मानिस साँच्चै नै अरुभन्दा छुट्टै प्रतिभाको हुनैपर्छ ।
३० वर्षको उमेरमा अर्बपति भइसकेका उनले गुगललाई आफ्ना २ वटा प्रविधि बेचिसकेका छन् । ती प्रविधिहरु हामी अहिले पनि प्रयोग गर्छौं जसका बारेमा हामी पछि चर्चा गर्नेछौं ।
अहिलेको कुरा गर्दा उनी पिट्सबर्ग अवस्थित डुओलिंगोका संस्थापक र मालिक हुन् । डुओलिंगो अर्थात् विश्वमै चर्चित भाषा सिकाउने एप जसको प्रयोगकर्ता विश्वमा ३० करोड रहेका छन् ।
नम्र स्वभावका लुइस आफ्नो सफलताको कारण सानैदेखि अङ्ग्रेजी भाषा सिक्न पाउनुलाई मान्छन् । स्प्यानिश मूलका उनलाई उनकी डाक्टर आमाले सधैं अङ्ग्रेजी सिक्न प्रोत्साहित गर्थिन् । मध्यम वर्गीय परिवारमा जन्मिएतापनि लुइसलाई ग्वाटमालाको निजी अङ्ग्रेजी स्कुलमा भर्ना गरिएको थियो ।
उनी आफूलाई निक्कै भाग्यमानी मान्छन् किनकी जहाँ उनको जन्म भयो त्यहाँ आधिभन्दा बढी जनसङ्ख्या गरिब छन् । वल्र्ड बैंकका अनुसार त्यहाँका ९ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि पर्छन् । शिक्षासम्म हरकोहीको पहुँच नै छैन ।
त्यसैले उनको सर्वाधिक लोकप्रिय सिर्जना अर्थात् डुओलिंगो एप बनाउनुको कारण पनि यही भाषाबीचको दूरीलाई कम गर्नु थियो । यस एपमार्फत् निःशुल्क भाषा सिकेर सबैले अवसर तान्न सकुन्, आर्थिक फाइदा लिन सकुन् भन्ने उद्देश्य भएको बताउँछन् उनी ।
‘मलाई यस्तो केही गर्न मन थियो जसले सबैलाई शिक्षामा बराबरको पहुँच प्रदान गरोस्,’ लुइस भन्छन्, ‘त्यसैले मैले भाषातर्फ आफ्नो ध्यानाकर्षण गरें किनकी ग्वाटमालामा हुर्कंदै गर्दा मैले थाहा पाइसकेको थिएँ सबैलाई अङ्ग्रेजी सिक्नु छ ।’
‘र, अङ्ग्रेजी भाषा नबोलिने देशमा अङ्ग्रेजीको ज्ञान हुनु भनेको पैसा कमाउने अवसर दोब्बर हुनु हो । साँच्चै नै त्यस्ता देशहरुमा अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएका व्यक्तिले नभएकाहरु भन्दा दोब्बर पैसा कमाउँछन् । डुओलिंगो बनाउने आइडिया मलाई यहीँबाट आएको हो ।’
लुइस र डुओलिंगोका सह संस्थापक सेभरिन ह्याकरले यस एप निर्माणमा काम गर्न सन् २००९ देखि शुरु गरे ।
त्यसताका लुइस कार्नेगी मेलन विश्वविद्यालयमा अध्यापन गर्थे र सेभरिन उनका विद्यार्थी थिए ।
भाषा विज्ञहरुसँगको सहकार्यपश्चात् ‘डुओलिंगो’लाई सन् २०१२ देखि अभ्यासमा ल्याइयो । शुरुवातमा अङ्ग्रेजी, फ्रेन्च र स्प्यानिश भाषा मात्र सिकाइथ्यो ।
‘हामीले यो एप शुरु गर्नासाथ मैले टेड टकमा बोल्ने मौका पाएँ, त्यो भिडियो २० लाख भन्दा धेरैजनाले हेरेका थिए,’ लुइस अगाडि थप्छन्, ‘यसले पनि डुओलिंगोलाई सजिलै धेरै प्रयोगकर्तासम्म पु-याउन मद्दत ग-यो ।’
त्यसपछि भने आफ्नो एपको लोकप्रियता झन्झन् बढ्नुको पछाडि यसको प्रभावकारी सेवा कै भूमिका रहेको बताउँछन् उनी । लुइसका अनुसार एपको प्रचारप्रसार वा विज्ञापन गरिएको छैन ।
आज डुओलिंगोमा २८ भिन्न भाषाहरुका १ सयवटा कोर्स उपलब्ध छन् । अरेबियनदेखि यूक्रानियनसम्मका भाषाहरु सिक्न पाइने यहाँ सबैभन्दा लोकप्रिय चाहिँ अङ्ग्रेजी, स्प्यानिश र फ्रेन्च नै हुन् । अल्पसङ्ख्यक भाषालाई उजाँगर गर्नु डुओलिंगोको अर्को विशेषता हो । वेल्श, नभाजो, हवाइयन, गेलिक जस्ता भाषाहरुको उपलब्धताले पनि यही सङ्केत गरेको छ ।
स्कटल्याण्डस्थित दि ओपन यूनिभर्सिटीकी सिनियर लेक्चरर डा सिल्भिया वार्नेक डुओलिंगोले गत वर्षदेखि गेलिक भाषा विज्ञसँग समन्वय गरेर त्यस भाषाको पनि कोर्स उपलब्ध गराएकोमा निकै खुशी छिन् ।
‘डुओलिंगोमा कुनै पनि भाषामा पोख्त हुनेगरी सिकाइँदैन भनेर थुप्रै पटक आलोचना पनि भएको छ तर, कम्तीमा भाषा सिक्न शुरु गर्नलाई चाहिँ यो एकदमै सही स्थान हो,’ उनी भन्छिन् ।
‘विशेष गरी हप्तैपिच्छे कक्षामा उपस्थित भएर नयाँ भाषा सिक्न नभ्याउनेहरुका लागि यो एप उपयोगी छ ।’
डुओलिंगोको वार्षिक राजस्व ९ करोड डलर्स बराबरको छ । यसको १ करोड ५० लाख बराबरको रकम एपमा आउने विज्ञापनबाट संकलन हुन्छ भने ७ करोड ५० लाख चाहिँ विज्ञापनविना एपको सुवधा लिनेहरुले तिर्ने शुलकबाट संकलन हुन्छ ।
कम्पनीले अहिले २ सय जनालाई रोजगारी दिएको छ ।
अब कुरा गरौं ती २ वटा प्रविधिको जुन लुइसले गुगललाई बेचेका थिए । ती हुन् : इएसपी गेम र रिक्याप्चा ।
इएसपी एउटा अनलाइन खेल हो जुन दुईजनाले खेल्न मिल्छ । उनीहरु एक अर्कासँग कुरा गर्न पाउँदैनन् तर, देखाइएको तस्वीरलाई व्याख्या गर्न उनीहरुले एउटा शब्द चयन गर्नुपर्ने हुन्छ । यदि दुवैजनाले एउटै शब्द प्रयोग गरे भने उनीहरुले केही अंक जोड्छन् र अर्को तस्वीरलाई व्याख्या गर्नतिर लाग्छन् । गुगलले यो प्रविधि सन् २००६ देखि तस्वीर खोज्ने सफ्टवेयरलाई सुदृढ गर्न प्रयोग गरिरहेको छ ।
त्यस्तै, रिक्याप्चा विश्वव्यापी रुपमा प्रयोग गरिने प्रविधि हो जस अन्तर्गत प्रयोगकर्ताहरुले गुगलसँग सम्बन्धित साइटहरुमा प्रवेश गर्नुअघि आफूलाई ‘रोबोट’ नभएको प्रमाणित गर्नुपर्ने हुन्छ । बाङ्गोटिङ्गो अक्षरमा लेखिएको शब्दलाई चिनेर फेरि ‘टाइप’ गरी आफूलाई मानिस भएको प्रमाणित गर्नुपर्ने यस प्रविधिको प्रयोग हरेक दिन करिब २० करोड प्रयोगकर्ताले गर्नुपर्ने हुन्छ । सन् २००९ सम्म लुइसको एकल मातहतमा रहेको यस प्रविधिलाई पछि उनले धेरै मूल्यमा गुगललाई बेचे ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया