यतिबेला प्रधानमन्त्री के.पी. शर्मा ओली घेराउमा परेका छन् । पार्टीतिर आफू अध्यक्ष र सरकारतिर प्रधानमन्त्री हुँदा पनि पार्टीका नेताहरू उनलाई गलाउने खेल (Game of attrition) मा लागेका छन् । दुईजना अध्यक्ष रहेको पार्टीका एकमात्र उपाध्यक्ष वामदेव गौतमलाई उचालेर ओलीलाई सिध्याउने षड्यन्त्रकारी खेलको संयोजन नेकपाका जुम्ल्याहा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेका छन् । मृगौला प्रत्यारोपणको तयारी र राजकाजबाट लामो विरामी विदामा बस्न लागेका ओलीलाई शरीरको बिमारले र पार्टीका नेताले एकैचोटी चाप्न थालेको समस्याले एकसाथ पेल्दैलगेको छ ।
हुन पनि प्रधानमन्त्री ओलीका पछिल्ला यी दिनहरू विवादको चरमोत्कर्षमा पुगे । आफ्नो ‘छोरा जस्तो लाग्छ’ भनेका सबभन्दा प्रिय मन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस स्थापनाको लगानीबाट ७० करोड रुपैया कमिशन मागेको विवादास्पद अडियो कारण पदबाट हट्न वाध्य भए । भोलीपल्टै प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन आफ्नो पुख्र्यौली घर तेह्रथुमको आठराई गाउँपालिकामा मनाउने भनेर गरेको तामझाम, छ हजार मानिसलाई खुवाएको भोज, ४ सय बृद्धबृद्धालाई न्यानो ज्याकेट र सारी चोलो बाँडेको र रू. ५० हजारको लागतमा नेपालको नक्सा अंकित बर्थ डे केक काटेर खाएको घटनाले व्यापक आलोचना र निन्दाको विषय बन्न पुग्यो । उनले विगतको श्रद्धा र भरोसा पनि गुमाए ।
पछिल्लो विवादको रुपमा अघिल्लो दिन आफैँ अध्यक्ष भएको पार्टी नेकपाको सचिवालय बैठकले गरेको एउटा निर्णय, अर्थमन्त्री डा. युवराज खतिवडालाई पदबाट राजिनामा गराई राष्ट्रियसभाको सदस्य (सांसद) बाट पनि विदा दिएर सो ठाउँमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने विषयलाई भोलीपल्टै ओलीले अस्वीकार गरेपछि उत्पन्न नैतिक संकटले उनलाई नाङ्गो बनाएको छ । अमेरिकाले नेपाललाई पूर्वाधार निर्माणका लागि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एम्सीसी) मार्फत दिन लागेको ५५ अर्ब रुपैयाँको सहायता लिने÷नलिने बारेमा उत्पन्न खैलाबैला पनि ओलीविरुद्धको हतियार बनेको छ । एमसीसीबारे लिनुपर्ने निर्णयका लागि अध्ययन कार्यदलका परराष्ट्रमन्त्री बाहेक दुवैजना ओली विरोधमा खुलेर लागेका छन् । अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले त “एमसीसी बारेको अध्ययन रिपोर्टलाई नमान्ने हो भने पार्टी छोडेर गएहुन्छ” भन्नेसम्मको पल्लैछेउको वचन दिनुले पार्टीभित्र विवाद अन्तिम डिलमा पुगिसकेको प्रष्ट हुन्छ ।
आज अर्का अध्यक्ष प्रचण्ड ओलीकै शब्दको ‘एउटै जेटको दुईजना पाईलट’ होइन बिग्रेको लोग्नेका दुईटी सौता भन्ने हालतलाई चरितार्थ गर्नमा पुगेका छन् । यस्तो लाग्छ मानौँ प्रचण्ड मादल ठोकिरहेका छन्, दुई वरिष्ठ– झलनाथ खनाल र माधवकुमार नेपाल ताली ठोकीरहेका छन्, वामदेव नाचिरहेका छन् । यसको नतिजा राम्रो हुँदैन भन्नेमा दुवै पक्षलाई राम्रोसँग अनुभव छ, तर पनि खेल चालु छ । भोली के होला मतलब छैन, अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लडाउन पाए सबैले आफ्नो बहादुरी र विजय मान्ने मनस्थितिमा एकोहोरो लागेका देखिन्छन् ।
माओवादी अध्यक्षका रुपमा प्रचण्ड यसैगरी घेराउ र अल्पमतमा परेको भुक्तभोगी भईसकेका मनुवा हुन् । ‘धोवीघाट गठबन्धन’ भनेर चर्चित त्यो साँठगाँठमा भट्टराई र मोहन वैद्य ‘किरण’ लगायत रामबहादुर थापा ‘बादल’ आदि सबै एकजूट भएर प्रचण्डलाई एक्ल्याउने रणनीतिमा कम्मर कसेर लागेका थिए । सोमबार १४ असार ०६७ का दिन प्रचण्डले माओवादी कलाकार माईला लामाको क्यासेट विमोचन गर्ने कार्यक्रममा भाषण गर्दै विलौना पोखेका थिए, “जब आफ्नै भन्नेहरूले पनि घेराबन्दी थाल्ने स्थिति आउँछ, आफ्नै समर्थक भन्नेहरूले पनि कुरा नबुझ्ने स्थिति आउँछ, त्योचाहिँ अलिक पीडादायी नै हुन्छ ।…..जब दुश्मनका स्वरहरूसँग आफ्नै भन्नेहरूका पनि कहिँकहीँ स्वर मिलेजस्तो देखिन्छ, त्यो सबैका निम्ति पीडादायी हुन्छ…..।”
माओवादीमा गरिएको र भोगिएको अनैतिक तथा पतनशील चरित्रको ‘धोवीघाट गठबन्धन’को नयाँ संस्करण आज ‘भैँसेपाटी गठबन्धन’ को रुपमा पुनरावृत्त भएको छ । यस गठबन्धनमा प्रचण्ड, माधव, झलनाथ, वामदेव, नारायणकाजी लगायतका नेताहरूको जमघट थियो । त्यो बेला बाबुरामलाई आज वामदेवकै जस्तो, जताबाट भए पनि प्रधानमन्त्री हुने अतिआकांक्षा थियो । उनको त्यो उग्रआकांक्षा प्रचण्डले पूरा गरिदिएर धोवीघाट गठबन्धन तोडेका थिए । धोवीघाट गठबन्धनको परिणामस्वरुप १२ भदौ ०६८ का दिन प्रधानमन्त्री हुनपाए । डा. भट्टराईले प्रधानमन्त्रीमा सपथग्रहण गरेकै दिन भूकम्पको ठूलै धक्का काठमाडौँले भोगेको थियो । तर त्यसै दिन उनी राष्ट्रसंघ महासभामा भाग लिन अमेरिकातिर उडेका थिए ।
पूर्वमाओवादीबिरूद्ध हिजोअस्तीसम्म ‘आतंककारी’, ‘जङ्गली’ र ‘हुल्याहा’जस्ता शब्दका साथ आगो ओकल्दैआएका के.पी. शर्मा ओली तीनैतहको निर्वाचन (०७४को) अघि दशैँताका प्रचण्डलाई कन्याएर माओवादीलाई फकाउन लागिपरे र सफल पनि भए । ओलीलाई ‘छुल्याहा’, ‘महाराज हुन खोजेको’ भनी आरोप लगाउँदैआएका प्रचण्ड पनि जिउका कीर्ना टिपिदिने गोठालाका छेउमा गएर गाईले जिउ तेस्र्याएजस्तो गर्न थाले । एमाले माओवादीको एकीकरण भएरै छाड्यो । नत्र त पार्टीको बुटवल महाधिवेशनमा ओली झलनाथका बिरूद्ध पार्टी अध्यक्ष पदमा उम्मेद्वार भएका बेला ओलीले जित्लान् भन्नेमा तत्कालीन प्रचण्डको माओवादीलाई ठूलै पीर परिरहेको रहेछ । उसले डाक्टरी रिपोर्टका फोटोकपी बाँड्दै ओली अबका छः महिना पनि बाँच्दैनन् भनी प्रचार ग¥यो । ओली चुनाबमा हारे, त्यसले माओवादीलाई ढुक्क बनायो ।
ओलीलाई प्रधानमन्त्री बन्न ताकेता गर्ने तत्व वस्तुगत आवश्यकता र बाह्य यथार्थ होइन, आफ्नै जिउको किड्नी हो । उनले आफ्ना सबै इच्छा, आवश्यकता र रहर पु¥याईसकेका छन् । पार्टीलाई दुईतिहाई समर्थनको हैसियत दिलाएकै हुन् । सिंहदरबारको सबभन्दा ठूलो कुर्सीमा जसरी भए पनि बस्ने र त्यहाँ प्रधानमन्त्रीको फोटोको लहरमा आफ्नो फोटो पनि झुण्ड्याइहाले ।
कम्युनिष्ट गुटहरूबीच हरेक स्वार्थको तथ्यले एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ । उनीहरू रीस उठ्यो भने एकले अर्कालाई गद्दार, सीआईडी, प्रतिक्रियावादीको एजेन्ट जस्ता शब्दावलीले गालीगलौज गर्न पछि पर्दैनन् । स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन् । जनताले पनि वर्तमान नेकपा (पूर्वएमाले) लाई उसको कम्युनिष्ट आकृति हेरेर होइन लोकतन्त्रवादी प्रकृति हेरेर ०७४ को निर्वाचनमा शानदार विजयी भोट दिए ।
२०६८ जेठ १७ गतेको तत्कालीन एमाले बैठकमा यिनै ओलीका बिरूद्ध सुरेन्द्र पाण्डेले ११ वटा गम्भीर आरोप लगाएको इतिहासले बिर्सँदैन । ती आरोपमा गुण्डा संस्कृतिलाई बढावा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारी लगायत अपराधीसँग मिलेर आर्थिक भागबण्डा गरेको, अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितबिरुद्ध दुरुपयोग गरेको, मदन भण्डारी फाउन्डेशन, मदन भण्डारी स्पोर्ट्स् र अन्य विभिन्न नाममा समानान्तर गतिविधि, गुटगत भेलाहरू गरेको, अदृश्य स्थानबाट आर्थिक स्रोत प्राप्त गरी पार्टीबिरू गुटबन्दीका लागि प्रयोग गरेको आदि थिए । यी आरोपका बिरोधमा खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, जगन्नाथ खतिवडा, कर्णबहादुर थापा आदिले चर्को विरोध गरेपछि आरोपकर्ता सुरेन्द्र पाण्डेले सो आरोपपत्र फिर्ता लिनुपरेको थियो ।
२०६२–६३ को जनआन्दोलन र त्यसअघि सातपार्टीका सडक आन्दोलनमा ओलीको खासै सहभागिता रहेको थिएन । सात पार्टीको रत्नपार्क केन्द्रित विरोध कार्यक्रमलाई त उनी ‘घाम ताप्ने र बदाम खाने अनि एक दुईटा नारा लगाइटोपल्ने कामले त नारायणहिटीको मुसा पनि हल्लिँदैन’ भन्नेगर्थे ।
तेह्रथुम आठराई गाउँपालिकाको कालिपा (सल्ले) गाउँको गरीब ओली परिवार २०२२ सालमै झापातिर झरेर स्थानीय सर्णामति गाबिसमा बसोबास गर्न थाल्यो । २००८ सालमा जन्मेका ओली आलोकाँचो केटाकेटी अवस्थामै ‘झापाली आन्दोलन’ मा होमिए । राजनीतिका सबै दुख दर्द भोगे । अण्डरग्राउण्ड अवस्थामै राधिका शाक्यसँग बिहे भयो, तर आजसम्म उनी निःसन्तान छन् । यतिबेला प्रधानमन्त्री ओली शारिरिक रुपले रोगी र राजनीतिक रुपमा पनि कमजोर र प्रतिरक्षात्मक हालतमा छन् । माथिका सबै घात–प्रतिघात, उतार–चढाव र अग्लो–होचोलाई सामना गर्न सके भने उनी शक्तिशाली राजनीतिक खेलाडीका रुपमा स्थापित हुन कसैले रोक्न सक्नेछैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया