कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–१ को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकलाई सूचना तथा जानकारी उपलब्ध गराउन सूचना केन्द्र स्थापना गरिएको छ । नेपालको १०० पर्यटकीय गन्तव्यमा समेत परेको सिक्लेस गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचना तथा पर्यटकीय स्थलका बारेमा अवगत गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।
देशमा चलेको तत्कालीन १० वर्षे सशस्त्र सङ्घर्षको शान्तिपूर्ण अवतरणका लागि सिक्लेसबाट शुरु भएको शान्तिवार्ता सफल भएकाले यो ठाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित छ । तत्कालीन विद्रोही पक्षको नेतृत्व गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीबीच पहिलोपटक सिक्लेसमा नै वार्ता भएको थियो ।
गण्डकी प्रदेश सरकारले घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत होमस्टेमा पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको १० लाख अनुदान तथा गाउँपालिकाको एक लाख गरी ११ लाख बजेटबाट सूचना केन्द्रको स्थापना भएको हो । दुई हजार २०० मिटर पदयात्रामार्ग र प्रतीक्षालय निर्माण गरिएको सिक्लेस घरवास पर्यटनका सचिव पदम गुरुङले बताउनुभयो । गत वर्ष यहाँका २० घरमा घरवास शुरुआत गरिएको थियो ।
सिक्लेसस्थित बसपार्कमा एक कोठाको भवनमा सूचना केन्द्र स्थापना गरी गाउँका घरवास पर्यटन, होटल, पर्यटकीय गन्तव्य तथा गाउँका विशेषताका बारेमा जानकारी उपलब्ध गराइने उहाँको भनाइ छ । केन्द्रमा एक जना कर्मचारीसमेत नियुक्त गरिएको छ ।
त्यसैगरी घरवास पर्यटन पूर्वाधारका लागि विनियोजित बजेटबाट चायकोबाट रिसिङ डाँडासम्म दुई हजार ३०० मिटर लामो पदयात्रा मार्ग निर्माण गरिएको समितिका अध्यक्ष ताइमाया गुरुङले बताए । पदमार्गमा पर्यटकलाई सहजताका लागि प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।
यहाँको क्वफुचे हिमताल, हिमपहिरो हेर्न सकिने रिसिङडाँडा, तारा हिलटप, गुुराँसको जङ्गल तथा ‘सिक्लेस इको म्युजियम’ले पर्यटकलाई आकर्षित गरेको छ । सिक्लेसबाट चार घण्टाको पैदलयात्राबाट विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिएको हिमताल पुग्न सकिन्छ ।
त्यसैगरी गत वर्ष मात्र निर्माण गरिएको शान्ति स्मारकले समेत पर्यटक तान्ने गरेको छ । नेपालको शान्ति प्रक्रियाको अध्ययनका लागि समेत स्वदेशी तथा विदेशीसमेत यहाँ आउने गरेको बताइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसमा कार्यरत मधु बरालले वार्षिक सातदेखि आठ हजार आन्तिरक तथा बाह्य पर्यटकले यहाँको भ्रमण गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया