प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको समय तय, बुधबार बिहान ९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि सोमवार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार बिहान ९ बजे प्रत्यारोपणको शल्यक्रिया हुने भएको हो ।

मंगलवार उनको प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएकाले बुधवार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुने प्रत्यारोपणको नेतृत्व गरिरहेका अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा डा. प्रेम ज्ञवालीले बताए ।

उनले भने, उहाँको प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षणको काम सकिएको छ । बुधवार बिहान ९ बजे उहाँको मिर्गौला प्रत्यारोपण हुन्छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।

प्रत्यारोपणको शल्यक्रिया ३ देखि ४ घण्टामा सकिने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए। सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५-६ दिनमा घर फर्काउन मिल्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआईपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ । अस्पतालमा भिभिआईपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन् । अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्।

प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौलादान गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?