नेपालको शानदार जित, आयोजक थाईल्याण्ड ९ विकेटले पराजित

काठमाडौं । एशिया ईस्टर्न रीजन टी २० क्रिकेटमा नेपाले पहिलो जित हात पारेको छ । आयोजक थाईल्यान्डले नेपाललाई दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाललाई जित दिलाउनका लागि ओपनर कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै ५ चौका र २ छक्काको मद्दतमा १८ बलमै नटआउट ३६ रन प्रहार गरेका छन् ।

त्यस्तै अर्का ओपनर ब्याट्सम्यानको रुपमा मैदान छिरेका पारस खड्काले ५ बलको सामना गर्दै ९ रन बनाएर आउट भएका थिए ।

त्यस्तै दोश्रो नम्बरमा ब्याटिङ गर्न गएका पवन सर्राफले पनि आक्रमक ब्याटिङ गर्दै २ चौका र ३ छक्काको मद्दतमा नट आउट १० बलमा २७ रन बनाएका हुन् ।

टस जितेर ब्याटिङ रोजेको थाईल्याण्डले निर्धारित २० ओभरमा मात्र ६६ रन बनाउन सक्यो ।

थाइल्याण्डलाई कम स्कोरमा समेट्न नेपालको तर्फबाट तीव्र गतिका बलर करण केसीले तीन विकेट लिए।

अविनाश बोहराले दुई तथा लेग स्पिनर सन्दिप लामिछाने र आजको खेलबाटै डेब्यु गरेका भुवन कार्कीले समान एक/एक विकेट लिन सफल भए। नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ।

सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्ने छन्।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी-२० एशिया कप खेल्ने देश छनोट हुनेछ।

एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।

थाईल्यान्डका लागि हेनो जोर्डनले दोहोरअङ्क जोड्न सके भने अन्य कुनै पनि दोहोरो रनको स्कोर बनाउन सकेनन् । हेनो जोर्डनले १३ रन बनाएका थिए।

प्रतियोगितामा नेपालले मलेशिया र हङ्‍कङसँग खेलेको आफ्नो पहिलो दुई खेल हारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?